हाल जापानीज इन्सेफलाइटिस काठमाडौं उपत्यका बाहिर मात्र फैलिरहेको अवस्था छ । सायद यही कारणले पनि होला, यस रोग विरुद्ध जानकारी प्रचारप्रसारमा आउने बाहेक भाइरसको तीव्रतालाई ब्रेक लगाउन भने सकिएको छैन ।
कुनै समयमा स्वयं लेखक स्वास्थ्य क्षेत्रमा प्रवेश गरी सेवा दिन थाल्दा नेपालमा यो भाइरसको जगजगी थियो । कतिसम्म थियो भने जापानीज इन्सेफलाइटिसको प्रकोप हुँदा २४ घण्टे ड्युटीमा रहँदा औसतमा चारदेखि पाँचजना बिरामीको मृत्यु हुने गरेको थियो । ती बिरामीहरु अस्पताल आइपुग्न ढिलाइ हुने र अधिकांश तराईबाट आएकाहरु हुन्थे । अर्थात् तराईमा यसको प्रकोप नियमित जस्तो हुने गर्थ्यो ।
यो दुई दशकअघिको अवस्था हो, जुन अहिले कथा झैं लाग्छ । तर हाल अस्वाभाविक तर घातक रुपमा भाइरसले कम्ब्याक गर्दैगर्दा काठमाडौंमा फैलिए यसबाट बच्न योजना के कति छ ? कुनै समय लेखकले देखेको तराईमा मात्र सीमित यो भाइरस काठमाडौंमा फैलिने क्षमता राख्छ कि राख्दैन ? यसको खोप बालखोप कार्यक्रममा समावेश भएपनि यसमा नसमेटिएका (नलगाएकाहरु) वा लगाएको वर्षौं भइसकेकाहरु जोखिममुक्त छन् कि छैन ? जस्ता प्रश्न खडा भएका छन् ।
जापानीज इन्सेफलाइटिस डेंगु भाइरस समावेश भएको ‘फ्लेभी भाइरस’ समूह अन्तर्गत पर्छ । यो क्युलेक्स जातको लामखुट्टेले फैलाउने गर्छ । विश्व स्वास्थ्य संगठनले उल्लेख गरेअनुसार लक्षणसहितका संक्रमितहरु एसियामा झण्डै एक लाखको हाराहारीमा वर्षेनी देखिने गर्छ । यसको मृत्युदर अधिकतम ३० प्रतिशत छ । त्यसैले यसलाई उच्च घातक संक्रमण मान्न सकिन्छ । उपचारपछि पनि करिब ५० प्रतिशतसम्मलाई स्नायु प्रणालीमा दीर्घकालीन असर देखिने गर्छ ।
विशेषगरी यो भाइरसबाट १५ वर्षमुनिका बालबालिकाहरु बढी प्रभावित हुने गर्छ । अधिकांशमा संक्रमितमा लक्षण सामान्य वा देखिंदै देखिंदैन । तर २५० संक्रमितमध्ये एक जनामा भने लक्षणले कडा रुप (स्नायु प्रणालीमा जटिल समस्या आउने) लिने गर्छ । हाल यो लेख लेख्दै गर्दा ६१ मध्ये १४ को मृत्युको भएको जानकारी आएको छ । यसको अर्थ नेपालमा यसको मृत्युदर हालको अवस्थामा झण्डै २३ प्रतिशत पुगिसकेको देखिन्छ ।
यसबाट सामान्य वा लक्षण नदेखिएका संक्रमितको संख्या हजारौं रहेको हुनसक्ने सहजै अनुमान गर्न सकिन्छ । किनभने जुनसुकै रोगले कडा रुप नलिएसम्म परीक्षण वा उपचारका लागि अस्पताल आउने प्रचलन नेपालमा छैन । यसकारण पनि जापानीज इन्सेफलाइटिसको तीव्रता कतातिर मोडिंदैछ भनेर थाहा पाउने सम्भावना बिरामी सिकिस्त वा मृत्यु हुनेको लहर नदेखिंदासम्म निकै न्यून देखिन्छ । यो नियमित प्रयोगशाला जाँच अन्तर्गत नगरिने हुँदा पनि वास्तविक संख्या र भौगोलिक ट्रेन्ड थाहा हुने सम्भावना कमै देखिन्छ ।
संक्रमण भएको चारदेखि १४ दिनसम्ममा यसको लक्षण देखिन सुरु हुन्छ । उच्च ज्वरो आउनु, टाउको दुख्नु, घाँटी कडा (अररो) हुनु, अन्योलमा देखिनु, मांसपेशी कडा हुनु, अचेत हुनु र उपचारमा विलम्ब भए मृत्यु समेत हुने गर्छ । यसको विशेषगरी औषधि वा एन्टिभाइरल औषधि भने हुँदैन । उपचार लक्षण वा जटिलतामा आधारित हुने गर्छ । तर यो भाइरस विरुद्धको खोप भने उपलब्ध छ ।
लेखकले कुनै समय व्यापक देख्ने गरेको जापानीज इन्सेफलाइटिसको तीव्रतामा ब्रेक लाग्नु, लगाउनुमा खोपले नै विशेष भूमिका खेलेको देखिन्छ । हाल जापानीज इन्सेफलाइटिसको अचानक र अस्वाभाविक कम्ब्याक देखिनुको कारण जतिसक्दो चाँडो पत्ता लगाएर सोही अनुरुप जोखिम क्षेत्रमा विशेष खोप अभियान नै सञ्चालन गर्नुपर्ने देखिन्छ । सामान्यतया हामी बिरामीको संख्या गन्दै अनि मौसम सकिने (मौसमी/मनसुनमा बढी देखिने रोग भएकाले) दिनगन्तीमा नै बढी केन्द्रित हुने आइरहेका छौं । डेंगुमा पनि हरेक वर्ष यस्तै अवस्था देखिंदै आइरहेको छ ।
महत्वपूर्ण प्रश्न भनेको ‘तराईमा देखिए जस्तो प्रकोपको सम्भावना काठमाडौंमा कति ?’ भन्ने हो । हाल जलवायु परिवर्तनका कारणले गर्दा तराईमा मात्रै सीमित वा देखिंदै आइरहेका विभिन्न संक्रमण, कीटजन्य रोग पहाड तथा हिमाली भेगतिर चढ्दै गइरहेका तथ्यांक देखाउँछ । डेंगु यसको ज्वलन्त उदाहरण मान्न सकिन्छ । अझ सन् २००७ मा ‘द अमेरिकन जर्नल अफ ट्रपिकल मेडिसिन एण्ड हाइजिन’ जर्नलमा प्रकाशित अनुसन्धान लेखले ७५ प्रतिशत संक्रमितमा काठमाडौं बाहिर गएको इतिहास नभएका अर्थात् स्थानीय लामखुट्टेको टोकाइबाट जापानीज इन्सेफलाइटिसको संक्रमण पुष्टि भएको देखाएको थियो । यो नतिजाले काठमाडौंमा जापानीज इन्सेफलाइटिसको अवस्था अकल्पनीय तर गम्भीर रहेको संकेत गर्छ ।
सहज यातायातको पहुँच, जलवायु परिवर्तन, तीव्र सहरीकरणको वृद्धि, लामखुट्टेको तीव्र फैलावट वा फैलिने वातावरणको सिर्जना हुनु आदि कारणले यो भाइरसको घातक स्वरुपको ‘सरप्राइज प्रकोप’ कुनै पनि बेला काठमाडौं नदेखिएला भन्न सकिंदैन ।
स्मरण रहोस्, कुनैबेला जापानीज इन्सेफलाइटिस जस्तै डेंगु पनि तराईमा लामो समय सीमित थियो । तर १८ वर्षपछि सन् २०२२ मा काठमाडौंले घातक महामारीको सामना गर्नु परेको थियो भने सो महामारीमा नेपालकै इतिहासमा पहिलो पटक ठूलो मानवीय क्षति समेत बेहोर्नु परेको थियो ।
प्रतिक्रिया 4