पछिल्लो समय नेपालमा मुटुसँग सम्बन्धित समस्या बढ्दो छ । कतिपय कलिलो उमेरमै मुटुरोगबाट पीडित छन् भने कति हृदयघातको सिकार भएका छन् । मुटुको समस्या र हृदयघातको घटना दिनहुँ बढ्दो छ । युवा उमेरमै हृदयघात हुने जोखिम उत्तिकै छ । यस्ता सम्भावित जोखिमबाट बच्ने राम्रो काइदा हो, जीवनशैलीमा परिवर्तन ।
मुटुरोग लाग्ने अनेक कारण छन् । त्यसमध्ये अस्वस्थकर जीवनशैली र तनाव पनि एक हो । पछिल्लो समय मुटुरोगी बढ्नुमा यही कारण मुख्य मानिएको छ । तनाव कम गर्ने बहानामा मद्यपान, धुम्रपान, निद्रा लाग्ने औषधि सेवन गर्ने गरिएको छ । यसले मुटुलाई सोझै असर गर्छ ।
मुटुरोगका लक्षण
हृदयघात भएमा वा मुटुको धमनीमा अवरोध खडा भएमा छाती दुख्नुका साथै छातीमा दबाब महसुस हुने गर्छ । मुटुसम्बन्धी कुनै रोग लागेमा सुरुवाती चरणमा व्यक्तिलाई वाकवाकी लाग्ने, छाती दुख्ने तथा पोल्ने, पेट पोल्ने तथा पाचन प्रक्रिया सम्बन्धी समस्या हुने गर्छ ।
मुटुमा कुनै समस्या भएमा मुटुरोगीलाई छाती तथा काँधमा पीडा हुन्छ । यो दुखाइ क्रमशः हाततिर सर्दै जान्छ । सास लिनमा कठिनाइ महसुस हुनु वा कम सास फेर्नु पनि हृदयघातको प्रमुख लक्षण हो ।
खुट्टा तथा पैताला सुन्निनु भनेकै मुटुमा रगतको सञ्चार सही तरीकाले नहुनु हो । मुटुमा रक्तसञ्चार सही तरीकाले नहुनु भनेकै मुटुरोगको संकेत हो । धेरै पटक चक्कर आउनु, बेहोस हुनु, थकान महसुस हुनु पनि मुटुरोगको संकेत हुनसक्छ ।
मुटुलाई सुरक्षित राख्ने १० उपाय
स्वस्थ खानपान : चिल्लो कम, नुन ठिक्क मात्रामा, हरियो सागसब्जी, सलाद, गेडागुडी, कम मात्रामा रातो मासु खाने, माछा हप्तामा कम्तीमा दुई छाक खाने ।
दैनिक व्यायाम : दिनमा कम्तीमा ३० मिनेट फटाफट हिंड्ने । नियमित व्यायाम तथा चिकित्सकको सल्लाहमा मुटु सम्बन्धी एक्सरसाइज गरेर पनि मुटु सम्बन्धी रोग लाग्नबाट बच्न सकिन्छ ।
तौल नियन्त्रण : तौल नियन्त्रणमा राख्ने, बीएमआई १८–२२ मा राख्ने ।
धुम्रपान नगर्ने : धुम्रपानको सेवनले मुटुरोगको जोखिम बढाउने भएकाले यसबाट टाढा रहने ।
दीर्घरोग नियन्त्रणमा राख्ने : कोलेस्टेरोल, मधुमेह र रक्तचापलाई नियन्त्रणमा राख्ने ।
रक्सी सेवन नगर्ने : रक्सीले रक्तचाप र शरीरमा कोलेस्टेरोलको मात्रा बढाइदिन्छ र अप्रत्यक्ष रुपमा कोरोनरी हृदयरोगको सम्भावना उच्च हुने गर्छ ।
तनाव व्यवस्थापन गर्ने : मुटुरोग लाग्नुको एउटा कारण तनाव पनि हो । त्यसैले तनाव र चिन्ताबाट टाढा रहन योगा, ध्यान गर्ने ।
पर्याप्त निद्रा : दैनिक कम्तीमा सातदेखि आठ घण्टा सुत्ने बानी गर्ने ।
नियमित स्वास्थ्य जाँच : यदि परिवारमा आफूभन्दा ठूलो कसैलाई हृदयरोग छ भने नियमित स्वास्थ्य जाँच गराउनुपर्छ । त्यसो भएमा बेलैमा पहिचान गरेर जोखिम कम गर्न सकिन्छ ।
नट र डार्क चकलेट सेवन : विभिन्न प्रकारका नट जस्तै बदाम, ओखर, फर्सीको बियाँ र डार्क चकलेट खाने बानी गर्ने ।
प्रतिक्रिया 4