१२ कात्तिक, पोखरा । पर्वतको फलेवास नगरपालिका १ मा खुलेको नागढुंगा बचत तथा ऋण सहकारी संस्थामा गाउँलेको ५ करोड रुपैयाँ हिनामिना भएको छ ।
फलेवासको कार्कीनेटामा खुलेको नागढुंगा सहकारीमा गाउँलेले श्रमपसिना गरेर, बाख्रापाठा, अन्नपात बेचेर र विदेशमा कमाएर राखेको पैसा व्यवस्थापक र सञ्चालकको मिलेमतोमा हिनामिना भएको हो ।
सहकारी रजिस्ट्रारको कार्यालयले वित्तीय विश्लेषण गरी हिनामिना भएको रकम १ वर्षभित्र मिलाउन समय दिएको थियो । तर, सञ्चालक समिति र व्यवस्थापक मिलेर अपचलन भएको रकम बचतकर्ताले फिर्ता पाउन नसक्दा अहिले धेरैको विचल्ली भएको छ ।
सहकारीको रकम फिर्ता गर्ने वाचा गरेर व्यवस्थापक अनिलबहादुर केसी २ महिना अगाडि नै फरार भएको छन् भने केही दिनअगाडिमात्रै अध्यक्ष गिरीनारायण श्रेष्ठ पनि फरार भएका छन् ।
कृत्रिम खातामार्फत कारोबार गर्ने, बचत र सेयर रकमको सफ्टवेटरमा हिसाबै नदेखाउने र व्यक्तिगत रुपमा खर्च गरेर गाउँलेको रकम हिनामिना गर्ने फरार हुन थालेपछि प्रहरीले ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
अध्यक्ष गिरीनारायण, व्यवस्थापक अनिलबहादुर र कोषाध्यक्ष दीर्घनारायण शर्माविरुद्ध पक्राउ पुर्जी जारी भएको पर्वत प्रहरी प्रमुख डिएसपी रविन विष्टले जानकारी दिए । विष्टका अनुसार कोषाध्यक्ष दुर्गानारायण पक्राउ परेका छन् भने २ जना फरार छन् । अरु सञ्चालकमाथि पनि पक्राउ पुर्जी जारी गर्ने तयारी भइरहेको उनले बताए ।
नागरिकको बचत रकम हिनामिना भएको उजुरीपछि प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीमार्फत निर्मल गौतमले वित्तीय विश्लेषण प्रतिवेदन बुझाएका थिए । प्रतिवेदन तयार भएको १ वर्षभित्र बचतकर्ताको रकम फिर्ता नगरी भाग्न थालेपछि रजिस्ट्रारको कार्यालयको पत्रअनुसार प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको पर्वत प्रहरी प्रमुख विष्टले बताए ।
२०६९ माघ ३ गते डिभिजन सहकारी कार्यालय, बागलुङमा दर्ता भइ सञ्चालमा आएको सहकारी डुबेपछि करिब साढे ७ सय बचतकर्ता विक्षिप्त बनेका छन् । सहरका सहकारी डुबेको समाचार सुनेका गाउँलेले चिनेजानेकै गाउँकै मान्छेले खोलेको सहकारी डुब्ला भन्ने अनुमानसमेत नगरेको तर विचल्लीमा परेको बचतकर्ता विष्णुकुमारी क्षेत्रीले दुखेसो पोखिन् ।
‘सहरका सहकारी डुब्लान् तर गाउँकै मान्छेले चलाएको सहकारी त डुब्दैन, भागेर पनि नजालान् भने श्रीमानले विदेशमा श्रम पसिना गरेर पठाएको ६ लाख रुपैयाँ सहकारीकै कर्मचारी रोशनी क्षेत्रीमार्फत जम्मा गरें, ५ वर्षे मुद्धतिमा राख्नुस् भने,’ उनले भनिन्, ‘५ वर्ष हुन लाग्यो, अहिलेसम्म ३० हजार रुपैयाँमात्रै पाएँ । १ लाख रुपैयाँ शेयर राखेको, अहिले कम्युटरमा १ हजार रुपैयाँमात्रै देखिन्छ ।’
यो सहकारीले पर्वतको कार्किनेटा, थापाठाना, शंकरपोखरी खौला र ठूलीपोखरीलाई कार्यक्षेत्र बनाएको थियो । कार्कीनेटाकै तारा कार्कीले सानो चिया पसल चलाएर ८ लाख रुपैयाँ जम्मा गरेकी थिइन् । पारिवारिक हण्डर, ठक्कर खाँदै चिया पसलबाट गुजारा चलाउँदै भविष्यको सहारा हुन्छ भनेर जम्मा गरेको रकम नै हिनामिना भएपछि तारालाई दिनको भोक न रातको निन्द्रा भएको छ ।
सोही ठाउँकी पुष्पाले बाख्रा, पाठा र घरका उब्जनी बेचेर ३/४ लाख रुपैयाँ जम्मा गरेकी थिइन् । ओखतीमुलो गर्ने पैसासमेत नभएर जाँदा १/२ महिना हुँदै २ वर्ष नै पुग्न आँटिसकेकाले उनलाई बेचैनी थपिएको छ ।
अमृता नाम गरेकी अर्की महिलाले शान्ति सेनामा गएका श्रीमानले पठाएको १० लाख रुपैयाँभन्दा धेरै जम्मा गरेकी थिइन् । सहकारीमा त्यो पैसा पनि अपचलन भएपछि उनलाई ठूलो विस्मात छ । चौरासी पूजा गर्न भनेर वृद्धाभत्ताबाट थोरै थोरै गर्दै सहकारीमा रकम जम्मा गरेकी देउकुमारी सुक्सुकाइरहिन्छिन् ।
फलेवास नगरपालिकाका १ का वडाध्यक्ष चोलाकान्त पाध्याले संस्थामा केटाकेटीले टीकाटालो गरेर पाएको पैसादेखि खेती किसानी गरेर कमाएको, विदेशबाट पठाएको पैसासम्म सहकारीमा राखेको जानकारी पाएको बताए । सहकारीमा पैसा डुब्यो भनेर आएपछि सञ्चालकलाई राखेर सहजीकरण आफूले पनि गरेको र उनीहरुले पनि मिलाउने हो भनेको पाध्याले सुनाए ।
‘गाउँलेका २/४ लाख, २/४ लाख गरेर राखेको रकम अपचलन भएको जानकारी पाएका छौं । सहकारीको कहाँ कसरी लगानी छ, कसरी हिनामिना भयो भन्ने बुझ्न सकिएन,’ वडाध्यक्ष पाध्याले भने ।
पछिल्लो समय अर्ब/अर्ब रुपैयाँ सहकारीबाट अपचलन भएको खबर बाहिरिइरहेको हुँदा करोड हिनामिना सामान्य बन्न पुगेको र नियमनकारी निकायको पनि कम चासोमा परेको स्थानीयको गुनासो छ । ऋणीबाट जग्गामार्फत जग्गा लिएर सञ्चालकको नाममा ल्याएइएको तर बचतकर्ताको रकम फिर्ता नगरिएको बचतकर्ताको भनाइ छ ।
गण्डकी प्रदेश सहकारी रजिस्ट्रार भेषराज रिजालले नागढुंगा सहकारीबाट ४ करोड ८० लाख रुपैयाँ हिनामिना भएको बताए । ‘अर्बको हिनामिना भइरहेकाले करोड सानोजस्तो देखिए पनि त्यो ठूलै रकम हो । त्यो रकम मिलाइहाल्लान् भनेर समय पनि दिइएको हो । बचतकर्ताले पनि धेरै ताकेता गरेपछि विश्लेषण गरेर सञ्चालकलाई बोलाएर २ करोडजति मिलाउनुभयो भने पनि बचतकर्ताको रकम फिर्ता हुन सक्छ भन्ने थियो,’ रिजालले भने, ‘पोहोर जेठअसारमै अनुसन्धान भएको हो । अब कानुनी प्रक्रियामा गएको छ ।’
प्रतिक्रिया 4