+

साम्बाको ‘आइकोनिक सेलेब्रेसन’

२०८१ कात्तिक  १२ गते १३:१७ २०८१ कात्तिक १२ गते १३:१७
साम्बाको ‘आइकोनिक सेलेब्रेसन’

१२ कात्तिक, काठमाडौं । घरेलु टोली नेपाल र कीर्तिमानी पाँच पल्टको विजेता भारतबीच भएको साफ वुमन्स च्याम्पियनसिप २०२४ को दोस्रो सेमिफाइनलमा तनावपूर्ण नाटकीय र रोमाञ्चले भरिपूर्ण रह्यो ।

रेड कार्ड, उत्कृष्ट गोल, रेफ्रीको विवादित निर्णय, दर्शकको नाराबाजी, पेनाल्टी सुटआउट, अन्जनाले पेनाल्टी रोक्नु अनि १० खेलाडीमा सीमित नेपालले पुनरागमनसहित जित निकाल्नु ।

फुटबल प्रेमीका लागि यो यस्तो ऐतिहासिक खेल बन्यो, जसको वर्णन गर्न शब्द पनि  अपर्याप्त छन् ।

यी सबैलाई छाड्ने हो भने उक्त खेलमा एउटा अर्को पनि महत्वपूर्ण मोमेन्ट थियो । गोल मेसिनको रुपमा परिचित सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरेपछिको सेलेब्रेसन ।

यो सामान्य सेलेब्रेसन थिएन । आइकोनिक सेलेब्रेसन थियो । नेपाली फुटबलमा यस्तो खालको सेलेब्रेसन अहिलेसम्म भएकै थिएन ।

एउटा त महिला खेलाडीले जर्सी खोलेर सेलेब्रेसन गर्नु नेपाली फुटबलमै यो पहिलो पटक हो । विश्व फुटबलमा पनि अहिले महिला खेलाडीहरुले गोल गरेपछि जर्सी खोलेर सेलेब्रेसन गर्ने गरेका छन् । यसको अर्कै कथा हुन सक्छ । युरो कप देखि क्लब प्रतियोगिता र महिला विश्वकपमा समेत महिला खेलाडीले जर्सी खोलेर खुशी मनाउने गरेका छन् ।

सन् १९९९ को महिला विश्वकप फाइनलमा अमेरिकाकी ब्रान्डी कास्टेइनले चीन विरुद्ध फाइनलमा विजयी पेनाल्टी गोल गरेपछिजर्सी खोलेर सेलेब्रेसन गरेकी थिइन् । यस्तै २०२२ को महिला युरो कप फाइनलमा इंग्ल्याण्डकी कोलए केलीले पनि जर्सी खोलेर खुशी मनाएकी थिइन् । गत वर्ष अष्ट्रेलिया र न्युजिल्याण्डमा भएको महिला विश्वकपमा पनि नाइजेरियाकी असिसात ओसोएलाले अष्ट्रेलिया विरुद्ध विजयी गोल गर्दा जर्सी खोलेर सेलेब्रेसन गरेकी थिइन् ।

तर यहाँ चर्चा गर्न खोजिएको विषय भनेको साम्बाले जुन परिस्थितमा नेपालका लागि गोल गरिन् । नेपाललाई खेलमा फर्काइन् र दर्शकको लागि जितको आशा देखाइन् । त्यो हेर्दा उनको सेलेब्रेसन सही नै थियो ।

एक खेलाडी कम, एक गोलले पछाडि । एक घण्टा भन्दा बढी समय रोकिएर फेरि सुरु भएको खेल । यस्तोमा जब साम्बाले ६६औं मिनेटमा भारत विरुद्ध गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याइन् ।

त्यसपछि उनले आफूलाई थाम्न सकिनन् । जर्सी नै फुकालेर आइकोनिक सेलेब्रेसन गरिन् । जर्सी खोलेर परसम्म फालिन् । एग्रेसन देखाइन् । यो चानचुने गोल पनि थिए । एक खेलाडी कम भएको अवस्थामा जसरी साम्बाले गोल गरिन् त्यसको महत्व निकै ठूलो थियो । उनले मैदानको बाहिर राखिएको बोर्ड नै नाघेर समेत बाहिर गएर सेलेब्रेसन गरिन् ।

‘म क्लब लेभलदेखि राष्ट्रिय टिमको खेल हुँदा क्रिस्टियानो रोनाल्डोको खेल हेर्छु । आज गाडीमा आउँदा पनि यही गोल र यही सेलेब्रेसन हेरेर आएको थिएँ । एक्ज्याक्टली मैले त्यो क्याच गरेको होइन,’ खेलपछि साम्बाले भनिन्, ‘पछि त्यो जर्सीको मोमेन्ट (जर्सी देखाउने) लाई भने मैले क्याच गरेँ ।’

गोल मेसिनका रुपमा परिचित साम्बाले अगाडि भनिन्, ‘त्यतिबेला अटोमेटिकल्ली मैले के गरें मलाई नै थाहा छैन । म बाहिर गएँ मलाई चोट लागेको रहेछ मलाई थाहा पनि थिएन । पछि जर्सी देखाउने बेला मैले मेरो आइडल रोनाल्डोलाई सम्झिएँ र त्यही फलो गरेँ ।’

गोलपछिको माहोल यस्तो बन्यो कि साम्बादेखि सबै नेपाली खेलाडीहरु कोचिङ स्टाफहरु खुसी मनाइरहेका थियो । त्यस्तो बेला के के सबै कुरा अटोमेटिक हुने साम्बाले बताइन् ।

भारतविरुद्धको खेलको केन्द्रिविन्दुमै साम्बा रहिन् । पहिलो हाफमा भारतीय डिफेन्डरलाई उनले तोड्न सकिनन् । उनी आफैंलाई पनि आफ्नो खेल राम्रो लागेको थिएन ।

तर दोस्रो हाफमा खेलको जुन परिस्थित सिर्जना भयो त्यसमा साम्बा निर्णायक रहिन् । चाहे भारतविरुद्ध बराबरी गोल गर्दा होस् वा सेलेब्रेसन गर्दा अनि पेनाल्टी सुटआउटमा पनि उनै साम्बाले नेपालको पहिलो पहिलो पेनाल्टी प्रहार गर्दै गोल गरिन् ।

एक खेलाडी कम भएको अवस्था नेपालले जसरी पनि बराबरी गोल फर्काउने रणनीति बनाएको थियो । त्यसका लागि साम्बाले एक्लै अगाडि खेल्ने र बाँकी गोलरक्षक सहित ९ खेलाडीले कम्प्याक्ट डिफेन्स बनाएर खेल्ने योजना थियो ।

त्यही अनुसार नै गोल निस्केको प्रशिक्षक र साम्बाको भनाइ थियो । ‘मेरो अगाडि खेल्ने ड्युटी थियो । त्यसलाई मैले पूरा गरेको हो । यो व्यक्तिगत भन्दा पनि टिम गोल हो’, उनले भनिन् ।

युरोपमा लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेर कीर्तिमान बनाएकी साम्बाले नेपालका लागि ४८ खेलमा कीर्तिमानी ५५ गोल समेत गरेकी छन् । सन् २०१४ मा पाकिस्तानमा भएको साफमा भुटानविरुद्ध डेब्यु गरेकी उनले डेब्यु खेलमै गोल गरेकी थिइन् ।

उनले साफ वुमन्स च्याम्पियनसिपमा पनि नेपालका लागि २१ गोल गर्ने अनु लामाको कीर्तिमान बराबरी गरेकी छन् । पोष्ट म्याच कन्फ्रेन्समा यसबारे सोध्दा सावित्राले टिमका कारण गोल सम्भव भएको र आफूले कहिल्यै कीर्तिमानको पछि नदौडने बताइन् ।

‘मेरो फुटबल करियरमा मैले कहिले पनि रेकर्डलाई पछ्याइनँ । मैले फुटबल खेल्दै जाँदाखेरि रेकर्ड बनिरहेको हो’, साम्बाले भनिन्, ‘इमानदार भएर भन्दा फुटबल करियरमा जति पनि काम गरिरहेको छु यो टिमले गर्दा यो सम्भव भएको हो जस्तो लाग्छ । टिममेटको योगदानले गर्दा रेकर्डहरु दिन प्रतिदिन जोडिँदैछ । खुशी छु चाहे रेकर्ड ब्रेक होस् या नहोस् ।’

साम्बा आफ्नो आइडल रोनाल्डोकै शेलीमा बोलिन् । यस्तै साम्बाले भारतविरुद्ध गोल गरेको यो तेस्रो पटक हो । पहिलो गोल उनले सन् २०१९ को साफ च्याम्पियनसिप फाइनलमा गरेकी थिइन् । विराटनगरमा भएको उक्त साफमा नेपाल फाइनलमा भारतसँग ३-१ ले पराजित भएको थियो ।

त्यसपछि उनले सन् २०२२ मा चेन्नाईमा भएको मैत्रिपूर्ण खेलमा भारत विरुद्ध २-२ को बराबरीमा दुवै गोल गरिन् । उक्त खेलमा नेपाल अन्तिमसम्म पनि २ गोलले पछि थियो र साम्बाले अन्तिम समयमा दुवै गोल गरिन् जसमा एक गोल पेनाल्टीबाट थियो । तेस्रो अहिले भइरहेको साफमा भारतविरुद्ध गोल गरिन् ।

साम्बाकै गोलमा नेपालले भारतविरुद्ध अपराजित यात्रालाई चार खेलसम्म पुर्‍याएको छ । सन् २०१९ मा नेपालमै भएको १३औं सागको फाइनलमा भारतसँग २-० ले पराजित भएयता नेपाल भारतसँग अपराजित छ । २०२२ मा चेन्नाईमा भएको नेपाल र भारतबीचको दुवै मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो ।

यस्तै सन् २०२२ मा काठमाडौंमै भएको छैटौं साफ वुमन्स च्याम्पियनसिपमा पनि नेपालले भारतलाई हराएको थियो । त्यसबेला रश्मि कुमारी घिसिङको एक मात्र गोलमा नेपालले जित निकालेको थियो ।

साफ वुमन्स च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको त्यो पहिलो पटक थियो ।

फेरि एक पटक नेपालले साफमै भारतलाई हराएको छ र फाइनल पुगेको छ । भारत भने साफमा पराजित भएको यो चौंथो पटक हो । सन् २०२२ मा समूह चरणमा बंगलादेशसँग र सेमिफाइनलमा पराजित भएको भारत यस पटक पनि उही नतिजा दोहोर्‍याउन बाध्य भयो । यस पटक पनि समूह चरणमा बंगलादेश र सेमिफाइनलमा नेपालसँग नै पराजित हुँदै भारत बाहिरिएको छ ।

साफ वुमन्स च्याम्पियनसिप साम्बा सावित्रा भण्डारी
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय