१२ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पिनसिप अन्तर्गत आइतबार बेलुका नेपाल र भारतबीच भएको सेमिफाइनल खेल हेर्न दशरथ रंगशालाको फुटबल मैदानमा १८ हजारभन्दा बढी उपस्थित भएको पाइएको छ ।
आयोजकको रिपोर्ट अनुसार १८ हजार ९ जना उपस्थित थिए । दशरथ रंगशालाको क्षमता भने १५ हजार हो । यसअनुसार नेपाल र भारतबीचको खेल हेर्नेहरु रंगशालाको क्षमताभन्दा बढी थिए । रंगशालाको भीआईपी तथा साधारण सबैतिरका प्याराफिट भरिभराउ थियो ।
सिटमा नअटेर मान्छे हिँड्ने ठाउँमा पनि दर्शक थिए भने बस्ने ठाउँ नपाएर उभिएका थिए । मिडियाका लागि छुट्याइएको ठाउँमा समेत दर्शकहरू खचाखच थिए ।
सो खेलमा नेपालले भारतलाई ट्राइबेकरमा ४-२ ले हराएर फाइनलमा पुग्न सफल भएको थियो । नेपालले अब उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
आइतबार नै बंगलादेशले भुटानलाई ७-१ ले हराउँदै फाइनल प्रवेश गरेको थियो । फाइनल खेल बुधबार हुनेछ ।
२०४४ साल फागुन २९ गते दशरथ रंगशालामा जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तियोद्धा बीच त्रिभुवन च्यालेन्ज सिल्डको फाइनल फुटबल खेल हेर्न करिब ३० हजार दर्शक थिए । त्यसबेला हावाहुरीसहित असिना-पानी पर्दा भागदौड मच्चिँदा ९३ जनाको मृत्यु भएको थियो ।
तस्वीर : चन्द्रबहादुर आले
प्रतिक्रिया 4