११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप-२०२४ अन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनल तनावपूर्ण, विवादित र रोमाञ्चकताले भरिपूर्ण रह्यो ।
तनाव, रेफ्रीको विवादित निर्णय, दर्शकको नारबाजी, साम्बाको उत्कृष्ट गोल अनि पेनाल्टीमा नेपालको जित ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एक घण्टाभन्दा बढी समय अवरुद्ध भएको खेलको मुख्य विशेषता यिनै रहे ।
अन्तत: साबित्रा भण्डारी साम्बाको एग्रेसन र गोल अनि पेनाल्टी सुटआउटमा अन्जनको बचाउमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर लगातार दोस्रोपटक साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा स्थान बनायो ।
त्यसअघि निर्धारित समयमा रेखा पौडेलले रातो कार्ड पाएपछि नेपाल एक खेलाडी कममा खेलेको थियो । त्यसको फाइदा उठाउँदै संगीता बासफोरेले भारतलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि खेल रोकियो र तनावग्रस्त बन्यो अनि खेल फेरि सुरु भएपछि उनै साम्बाले नेपालका लागि बराबरी गोल गर्दै खेलमा फर्काएकी थिइन् ।
निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट भएको थियो ।
नेपालले साफमा भारतलाई लगातार दोस्रोपटक हराएको हो भने समग्रमा छैटौंपटक साफको फाइनलमा पुगेको हो । नेपालले अब उपाधिका लागि बुधबार बंगलादेशसँग खेल्नेछ ।
खेलको नतिजा बाहेक पनि यस खेलमा धेरै इमोसन र एग्रेसन अनि ड्रामा मिसिएको थियो । त्यसमा मुख्य रेफ्रीको गलत निर्णयले पनि भूमिका खेल्यो ।
किन रोकियो खेल ?
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ भने विवादित बन्यो । ५१औं मिनेटमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाउँदै मैदान बाहिरिइन् । उनले दोहोरो पहेंलो कार्ड पाएपछि रातो कार्ड पाएकी थिइन् । तर, उनको गल्ती देखिएको थिएन । त्यसपछि खेल केही बेर रोकिएको थियो ।
खेलको असली विवाद तब भयो जब नेपालले गरेको बराबरी गोलले मान्यता पाएन । त्यसपछि दर्शककले रेफ्रीलाई लक्षित गर्दै मैदानमा बोतल फाल्न थाले ।
७१औं मिनेटमा संगीता बासफोरेले गोल गर्दै भारतलाई अग्रता दिलाइन् । त्यसमा भारतले ठूलै खुशीयाली मनाएको थियो । मैदानका खेलाडी बेन्चका खेलाडी र कोचिङ स्टाफहरू सबैले मैदानको साइडमा खुशी मनाइरहेका थिए ।
भारतले खुसी मनाइरहेका बेला नेपालले सेन्टरबाट बल चलायो । सावित्रा भण्डारीले चलाउँदै दिएको पासमा प्रीति राईले ७२औं मिनेटमा नेपालका लागि बराबरी गोल फर्काइन् । भारतका केही खेलाडी बल बचाउन गर्न पनि गएका थिए तर धेरै जसो भने खुशीमै रमाइरहेका थिए ।
रेफ्रीले बल चलाउन दिइसकेकोले यतिबेलासम्म नेपालको गोलले मान्यता पनि पाएको थियो । नेपाली खेलाडी र बेन्च भने गोलको खुशी मनाउन थालिसकेका थिए । तर, स्कोर बोर्डमा नेपालको गोल देखाइएन । नेपालले गरेको गोलले मान्यता नपाएपछि नेपाली खेलाडी कोचिङ स्टाफ सबै जना त्यसको प्रतिवादम उत्रन थाले ।
नेपालको गोलले मान्यता नपाएपछि नेपाली खेलाडीले फेरि सेन्टरबाट बल चलाए । ७३ मिनेट र केही सेकेण्डको खेल चलिरहेको बेला दर्शकले बोतल हान्न थाले ।
रेफ्री आफैंले सुरुमा गोल मान्यता दिएर पछि मान्यता नदिएपछि खेल तनावग्रस्त बन्यो र एक घण्टाभन्दा बढी समयसम्म खेल रोकियो । यसबीचमा नेपाली खेलाडी, कोचिङ स्टाफ, व्यवस्थापक, म्याच कमिसनर, रेफ्री एसेसर, रेफ्री, असिस्ट्यान्ट रेफ्रीहरुबीच लामो छलफल भइरहेको थियो ।
खेलपछि नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दुई कारण देखाउँदै नेपालको गोललाई मान्यता नदिएको बताए । रेफ्रीले नै गोल मान्यता दिएर पछि मान्यता नदिएकोले यो अवस्था आएको तामाङले बताए ।
‘रेखा पौडेलको फल भएपछि रेड कार्ड भयो । हामी १० जनामा समिति भयौं । त्यसपछि प्रेसर भयो । त्यसैले अर्गनाइज नहुँदै गोल खानपुग्यो । लगत्तै हामीले गोल गर्यौं । तर, रेफ्रीले मान्यता दिनुभएन । त्यसपछि हामीले तपाईं आफैंले खेल्न अलाउ गर्नुभयो खेल भनेर । हामीले गोल गरेपछि गोल इशारा पनि दिनुभयो,’ तामाङले पोष्ट म्याच कन्फ्रेन्समा भने ।
तर, गोलको मान्यता नपाएपछि रेफ्रीले दुई कारण दिएको तामाङले बताए । ‘किन त भनेर भन्दा उताको कोच लाइन भित्र छिरिकोले तपाईंको गोलले मान्यता पाएन भन्नुभयो । यो त कसरी हुन्छ र तपाईंले मान्यता दिइसक्नुभएको गोल निश्चित गोल भइसक्यो । छलफल हुँदाहँदै किपर गोलपोष्ट छाडेर यता आएको भनेर गोलको मान्यता भएन भन्नुभयो,’ तामाङले भने ।
यो निर्णयपछि खेलाडीहरू निराश बनेको र त्यसैले गर्दा लामो समय खेल रोकिएको तामाङले बताए । ‘त्यो दुई कारण दिनुभयो । यसबाट खेलाडीहरु त निश्चित रुपमै निराश हुने भयो । मैले त रोक भन्ने इशारा गरेको उनीहरुले चलाइदियो भन्नुभयो रेफ्रीले । त्यहाँ कुरा बाजियो । त्यसमै हामी डिबेट गरेर बस्दा अलि लामो समय लाग्यो ।’
नेपाली फुटबलमा अहिलेसम्म नदेखिएको अवस्था यस खेलमा देखियो । खेल नै सकिने बेलासम्म पनि खेल फेरि सुरु नहुँदा दर्शक अन्योलमा थिए । अब के हुन्छ ? के नतिजा आउँछ भनेर ?
खेलाडीहरु त खेल्न मानिरहेका थिए । उनीहरु गोलले मान्यता पाउनुपर्छ भनेर माग गरिरहेका थिए । तर त्यसपछि खेल रद्द गर्ने, कारबाही गर्ने जस्ता कुराहरु उठेपछि नेपाली टोली अन्तिममा खेल्न तयार भएको प्रशिक्षक तामाङले बताए । ‘अन्तिममा खेल नै अबान्डन्ड गर्ने, कारबाही गर्ने, फाइन तिराउनेलगायत कुरा भयो । त्यस्तो टाइपको कुरा आयो अब फाइन तिरानउपर्छ, सस्पेन्स गराउनुपर्छ भन्ने भयो । अन्तिममा खेलाउने भन्ने कुरा भयो । खेलाडीहरु गोल मान्यता नपाए कसरी खेल्ने भनिराथे,’ प्रशिक्षक तामाङले भने, ‘पछि हामीलाई समर्थन गर्न यति धेरै दर्शक आउनुभएको छ । दर्शकको लागि खेल्नुपर्छ । एफएको इज्जतको लागि, खेलाडीका लागि भए पनि खेल्नुपर्छ र आगामी दिनमा पनि फेरि खेल्नुपर्छ भनेर हामीले रिस्टार्ट गर्यौ| ।’
‘साम्बालाई अगाडि मात्र खेल्न दियौं’
लामो बहसपछि खेल फेरि सुरु भयो । खेल फेरि सुरु हुँदा ६४औं मिनेट देखि सुरु भएको थियो । खेल सुरु भएलगत्तै नेपाली गोल मेसिस साम्बाले बराबरी गोल फर्काइन् । प्रीति राईले उपलब्ध गराएको पासमा साम्बाले सानदार गोल गरिन् । लगत्तै उनले जर्सी नै फुकालेर सानदार सेलेब्रेसन पनि गरिन् ।
खेल रोकिएर फेरि सुरु भएपछि नेपालले डिफेन्सलाई बलियो बनाउने र काउन्टर अट्याकमा साम्बालाई बल दिएर गोल गर्ने रणनीति बनाएको थियो । त्यसमा नेपाल सफल भयो ।
‘खेल सुरु भएपछि हामी १० जना थियौं । हामीले साम्बालाई पछाडि आउनुपर्दैन भनेर अगाडि खेलायौं । ८ जना र किपरलाई कमब्याक बनाएर साम्बालाई बल दिनुपर्छ भनेका थियौं । साम्बालाई बल दिए गोल निस्कन्छ भन्ने थियो । गोल पनि भयो,’ प्रशिक्षक तामाङले भने ।
त्यसपछि नेपाललाई फाइदा र भारतलाई घाटा हुँदा भारत दबाबमा परेको उनले बताए । नेपालको डिफेन्सले अनुशासित भएर खेलको भन्दै तामाङले प्रशंसा गरे । निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टीलाई मध्यनजर गर्दै नेपालले खेलको अन्त्यतिर कप्तान तथा नियमित किपर एन्जला तुम्बापो सुब्बाको स्थान अन्जना राना मगरलाई मैदान पठाएको थियो ।
प्रशिक्षक तामाङले अन्जनालाई पेनाल्टीमा प्रयोग गर्ने योजना रहेको र त्यही अनुसार गरेको बताए । ‘अन्जनालाई अन्तिममा ट्राई गर्ने योजना थियौं । त्यही गर्यौं । पेनाल्टी रोक्यो राम्रो भयो ,’ उनले भने ।
नेपालाई जिताउन महत्वपूर्ण भूमिका खेलेकी साम्बा नै खेलको प्लेअर अफ दि म्याच घोषित भइन् । उनले आफूले अवसर पाए गोल गर्छु भन्ने आत्मविश्वास रहेकोले त्यही अनुसार खेलेको बताइन् ।
गोलपछि जर्सी खोल्नेबारे सोध्दा उनले त्यो समयमा आफैं त्यो भएको बताइन् । यस्तै साम्बाले आफ्नो आइडल क्रिस्टियानो रोनाल्डोले शैलीमा जर्सील देखाएर सेलेब्रेसनसमेत गरेकी थिइन् । साम्बाको गोल सेलेब्रेसन खुबै चर्चित बनेको थियो र उनको फोटो पनि भाइरल बनेको छ ।
प्रतिक्रिया 4