१२ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले घरेलु टोली अमेरिकालाई २८७ रनको लक्ष्य दिएको छ । कप्तान रोहित कुमार पौडेलको ९६ रन अनी ओपनरद्वय अनिल शाह र आसिफ शेखको अर्धशतकमा नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८६ रन बनाएको हो ।
कप्तान रोहित इनिङको अन्तिम बलमा आउट भएका थिए । उनी ओडिआईमा करियरको दोस्रो शतक बनाउनबाट चार रनले मात्र चुके । रोहितले ७५ बल खेल्दै ८ चौका र ३ छक्का मदतमा सर्वािधक ९६ रन बनाए ।
डालास्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि त्यसअघि ओपनरद्वय अनिल र आसिफले ९८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । अनिलले ६२ बल खेल्दै ५ चौका मदतमा ५६ रन बनाए । आसिफले ५३ बल खेल्दा ७ चौका र १ छक्का प्रहनर गर्दै ५२ रन जोडे । यस्तै आरिफ शेखले ३७ रन बनाए । चौथो विकेटका लागि कप्तान रोहित र आरिफले ५६ रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरमा ब्याटिङ गरेका कुश भुर्तेल ११ र दीपेन्द्र सिंह ऐरी १३ रन बनाएर आउट भए ।
टप अर्डरले राम्रो ब्याटिङ गर्दा नेपालले पूरै ५० ओभर ब्याटिङ गर्दै राम्रो स्कोर बनाउन सफल भयो । लोअर अर्डले भने रन जोड्न सकेनन् । गुल्सन झा १, सोमपाल कामी २, सन्दीप लामिछाने ५ र करण केसी ३ रनमा आउट भए । ललित राजवंशी १ रनमा अविजित रहे ।
अमेरिकाको लागि नोसथुस केन्जिगेले ४ तथा सौरभ नेत्रभाल्करले २ विकेट लिए । अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
२०२४-२७ को ओडिआई साइकलमा लिग टु मा नेपालले उत्कृष्ट ब्याटिङ गरेको खेल यही हो । यसअघि घरेलु मैदानमा भएको पहिलो लिग टु सिरिजमा नेपालले चार मध्ये एक खेल जितेको थियो । गत महिना क्यानडा भएको लिग टु सिरिजमा नेपाल जितविहिन बनेको थियो । त्यसैले नेपालका लागि अमेरिकामा भइरहेको लिग टु सिरिज लयमा फर्कन महत्वपूर्ण छ । लिग टु अघि अमेरिका विरुद्ध तीन खेलको टी२०आई सिरिज क्लिन स्वीप गरेको नेपाल लयमा देखिएको छ र टी२० को लयलाई ओडिआईमा कायम राख्नुपर्ने चुनौती छ ।
तस्बीर : क्यान
प्रतिक्रिया 4