६ कात्तिक, काठमाडौं । मोटरबाइक राइडर श्रीहरी पौडेल चीनको ताइपेईमा आयोजना भएको एफआईएम एसिया कप अफ सर्किट रेस च्यालेन्जको जीपी-८ प्रतियोगितामा एसियाका उत्कृष्ट राइडरहरुलाई समेत पछि पार्दै उपाधि जित्न सफल भए ।
८ आकारको ट्रयाकमा हुने यस प्रतिस्पर्धामा पाँच ल्याप बाइक कुदाउनुपर्थ्यो । जसमा श्रीहरीले ३३.३१० सेकेण्डमा रेस पूरा गर्दै च्याम्पियन बने । जापानिज राइडर मिजुकी तागुचीले ३३.३८० सेकेण्डमा पूरा गरी दोस्रो भए भने घरेलु चाइनिज ताइपेईका पिन हुङ हुयाङले ३३.९७० सेकेण्डमा पूरा गरी तेस्रो भए ।
उक्त प्रतिस्पर्धामा नेपाल, जापान, चाइनिज ताइपेईसँगै फिलिपिन्स, भारत, श्रीलंका, इरान, सिंगापुर थाइल्याण्ड गरी ९ देशका राइडर सहभागी थिए । श्रीहरीले ८ देशका १० राइडरलाई पछि पारेर पहिलो भएका हुन् ।
फुटबल, क्रिकेट, भलिबलजस्तो नेपालमा मोटरस्पोर्ट खेल त्यति चर्चित खेलको रुपमा छैन । तर विश्व खेलकुदमा भने टु ह्विलर र फोर ह्विलरको मोटोस्पोर्ट्को ठूलो चर्चा छ । यसमा ठूला कम्पनीहरु समेत जोडिएका छन् ।
नेपालमा भने यो विस्तारै अघि बढ्दैछ । श्रीहरीको जितपछि अहिले उनको चर्चा नेपालमा बढ्न थालेको छ । विदेशमा पनि नेपाली राइडरले पहिलो स्थान हात पार्दा यो अप्रत्याशित खबर बन्यो ।
‘मैले पहिलो पटक जितेकोले बल्ल यसको चर्चा हुँदैछ । पहिला कसैले जितेको थिएन । त्यसैले चर्चा भएन । अब मैले जितेँ । म नै चर्चामा हुन्छु’, अनलाइनखबरसँगको भेटमा श्रीहरीले भने, ‘८ देशका राइडरहरुलाई पछि पार्दै पहिलो हुन सफल भएँ । यो हाम्रो लागि ठूलो उपलब्धी हो ।’
२७ वर्षीय श्रीहरीले चाइनिज ताइपेई जाँदा जित्ने आशा राखेका थिए नै तर नेपाल र बाहिरको ट्रयाक फरक हुँदा चुनौती भने थियो । ‘जित्छु भनेरै गाको हो । तर यहाँको ट्रयाकमा चलाएको र उता फरक थियो,’ श्रीहरीले भने, ‘सबै प्रतिस्पर्धी कठिन थिए । पहिलो राउण्डमा जापानको राइडरले राम्रो गर्यो । त्यसपछि मैले राम्रो गरेँ । अन्तिममा मेरो टाइमिङ बेस्ट भयो । टप थ्रीबीच खासै अन्तर छैन ।’
एफआईएम एसियाको इन्टरनेसनल क्यालेन्डरमा पहिलो पटक यो इभेन्ट समावेश गरिएको हो । पहिलो इभेन्टमै नेपाल राइडर विजेता बने । ‘मैले जितेपछि नेपालको लागि केही गरेछु जस्तो अनुभव भयो । इतिहासमै पहिलो पटक नेपाली राइडर विजेता बन्यो,’ उनले भने, ‘त्यो समय मैले नेपालको नाम एकदम सम्झिरहेको थिएँ ।’
उनले धेरै मिहिनेतपछि यो उपलब्धी हासिल गरेका छन् । जित्नुअघि उनी कैयौँ पटक लडे । ‘सय पटक भन्दा बढी लडिसकेँ होला । तर हिम्मत हारिनँ । त्यसैको फल होला अहिलेको यो उपलब्धी । लड्दा लड्दा बल्ल जित्न थालेको हो’, उनी भन्छन् ।
चाइनिज ताइपेईको ट्रयाक पनि धेरै टेक्निकल रहेको श्रीहरीले बताए । ‘मैले चलाएको ट्रयाक धेरै प्राविधिक थियो । बाइक ढल्काउने, ब्रेक लगाउने । सबै त्यही अनुसार गर्नुपर्छ’, भन्छन्, ‘सेकेण्डमै धेरै कुरा सोच्नुपर्छ । ट्रयाकहरु बाइक फेमिलियर भयो भने सजिलो हुन्छ ।’
अब जीपी-८ विधामै श्रीहरीले नोभेम्बरमा फिलिपिन्समा हुने अर्को इभेन्टमा प्रतिस्पर्धा गर्दैछन् । चाइनिज ताइपेईमा गरेको प्रदर्शनले पनि उनलाई त्यहाँ भाग लिनका लागि सहयोग गर्यो । त्यस इभेन्टमा पनि राम्रो प्रदर्शन गर्ने उनको लक्ष्य छ ।
बहुराष्ट्रिय कम्पनीमा जागिरे, बाइकमा सोख
ललितपुर थापाखेलका स्थानीय श्रीहरी एक बहुराष्ट्रिय कम्पनीका जागिरे हुन् । उनको तलब पनि राम्रै छ । तर उनको सोख भने मोटरबाइकमा छ । जसले उनलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्यायो । त्यसमा जिते अनी नेपालको नाम पनि चर्चित बनाए ।
श्रीहरीको एडभान्स राइडिङ एकेडेमी नामको आफ्नै एकेडेमी पनि सञ्चालन गर्छन् । जहाँ उनले १० जना राइडरलाई ट्रेनिङ दिइसके भने अरु ८० भन्दा बढी सामान्य मान्छेलाई पनि ट्रेनिङ दिन्छन् । जागिर पनि गरिरहेका उनी आफू बाइक चलाउँछन् अरुलाई ट्रेनिङ दिन्छन् ।
उनले सन् २०१९ देखि बाइक रेसमा सहभागिता जनाउन थालेका हुन् । ‘सन् २०१९ मा भएको नेपाल रेसर्स कपमा पहिलो पटक सहभागी भएको थिएँ । त्यसपछि धेरै रेसहरु गरिसकेको छु’, उनले भने ।
श्रीहरीलाई सानैदेखि बाइकमा अति रुची थियो । त्यसले नै उनलाई अहिले यो स्थानमा ल्याइपुर्यायो । ‘मलाई सानैदेखि बाइकमा रुचि थियो । बाइक कुदेको हेर्दा रमाइलो लाग्थ्यो । आफूले पनि कुदाउन पाए भन्ने लाग्थ्यो,’ उनले पारनो दिन सम्झिए, ‘आफैं बाइक किनेर राइड गर्न थालेपछि रमाइलो लाग्थ्यो । हेलमेट लगाएर बाइक कुदाएपछि अर्कै किसिमको आनन्द लाग्छ । बाइक चलाउँदा सबै दु:ख भुलेर रमाउँछु ।’
हाल उनी यामाको एफजेड १५० सिसिको मोटरबाइक चलाउँछन् । उनले अहिलेसम्म करिब १५० किलोमिटर प्रतिघण्टाको स्पिडमा बाइक कुदाएको अनुभव रहेको बताए ।
श्रीहरीले राष्ट्रिय स्तरमा धेरै प्रतिस्पर्धाहरुमा भाग लिइसकेका छन् । अन्तर्राष्ट्रिय स्तरमा भने उनको यो तेस्रो सहभागिता हो । यसअघि उनले दुई पटक भारतमा गएर अन्तर्राष्ट्रिय ट्रयाकको अनुभव लिएका थिए ।
ट्रयाक र स्पोनरसरको समस्या छ
नेपाली राइडरहरुले बेला बेला अन्तर्राष्ट्रिय इभेन्टमहरुमा सहभागिता जनाउँदै राम्रो प्रदर्शन पनि गरेका छन् । तर विदेशी राइडरको जस्तो सेवा सुविधा नहुँदा नेपाली राइडरले अपेक्षा अनुसार प्रदर्शन देखाउन पाएका छन् ।
राम्रो सेवा सुविधा र स्पोन्सर हुने हो भने नेपाली राइडरले पनि धेरै राम्रो गर्न सक्ने श्रीहरी बताउँछन् ।
‘हामीसँग राम्रो ट्रयाक छैन । सानो ट्रयाकमा ट्रेनिङ गरेर ठूलो ट्रयाकमा गएर खेल्नुपर्छ । ट्रयाक राम्रो भयो भने एक वर्षमा नेपालले अन्य ठूला रेस जित्न सक्छ,’ उनले भने । ‘स्पोन्सरहरु पनि छैन । यो महंगो खेल हो । राम्रो ट्रयाक र स्पोनसर भयो भयो भने हामी पनि राम्रो गर्न सक्छौँ’, उनले भने ।
बाहिर देशमा राइडरहरुलाई विभिन्न कम्पनीले प्रायोजन गर्ने टिकट प्रदान गर्नेदेखि धेरै सहयोग गर्छ । रेसमा राइडरले लगाउने लुडा देखि हेलमेट पनि महँगो पर्ने उनले बताए । ‘राइडरले रेसमा लगाउने सुट (ड्रेस) को २-३ लाख सम्म पर्छ । एउटा हेलमेटको ८० हजार पर्छ’, भन्छन्, ‘सुरुमै ४-५ लाख खर्च हुन्छ । यस बाहेक टिकटहरुमा खर्च हुन्छ । सामान्य राइडरलाई खर्च धान्न गाह्रो छ ।’
यो आधारभूत खर्च रहेको र यस बाहेक पनि बाइक भाडानमा लिनुपर्ने ट्रेनिङ लगायतमा खर्च हुने श्रीहरीले बताए । उनले अहिलेसम्म आफूले झण्डै २० लाख रुपैयाँ यसैमा खर्चेका छन् । ‘विदेशी राइडरलाई विभिन्न कम्पनीहरुको सपोर्ट हुन्छ । हाम्रोमा त्यो छैन’, उनी भन्छन् ।
प्रतिक्रिया 4