+
+

जीबी राई फिर्ता प्रयाससँग जोडिएकी यी मलेसियाली महिला

जीबीले मलेसियामा माई सेकेन्ड होम भिसा लिई बसेको, त्यससँगै मलेसियामा लगानी गरेकोबारे यसअघि अनलाइनखबरले पनि लेखिसकेको छ । तेस्रो कारणका रुपमा अघि सारिएका ती मलेसियाली महिला को हुन् जसको अन्तर्य जीबी राई फिर्तासँग जोडिन्छ ?

नारायण अधिकारी नारायण अधिकारी
२०८१ कात्तिक १३ गते १९:०९

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको प्रमुख सचेतक रहुन्जेलसम्म रमेश लेखकले सहकारी ठगी प्रकरणविरुद्ध संसदमा निरन्तर आवाज उठाए ।

अझ लेखककै अगुवाइमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध छानबिन हुनुपर्ने भन्दै संसद समेत अवरुद्ध भयो ।

अन्ततः व्यक्ति किटान नगरी छानबिन गर्नेगरी सहमति भयो । नेकपा एमालेका सांसद सूर्य थापा नेतृत्वको छानबिन समितिले ३१ भदौमा बुझाएको प्रतिवेदनमा गोर्खा मिडियामा आएको रकम अपचलनमा चार जनालाई दोषी भन्दै कारबाहीको सिफारिस गर्‍यो ।

जसमा लामिछानेसहित गोर्खा मिडिया सञ्चालक गीतेन्द्रबाबु (जीबी) राई, छविलाल जोशी र कुमार रम्तेल थिए ।

जसमध्ये दुई जना (लामिछाने र जोशी) पक्राउ परेर अहिले कास्की प्रहरीको हिरासतमा छन् । रम्तेल भने यसअघिकै मुद्दामा पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । तर सहकारी ठगीका मुख्य पात्र भनिएका जीबी भने अहिलेसम्म फरार छन् ।

जीबी कालीमाटीको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा र वीरगञ्जको सानो पाइला गरी पाँच सहकारीको रकम अपचलनमा जोडिएका छन् । पोखरा र बुटवलमा उनीविरुद्ध मुद्दा दर्ता भइसकेको छ । बाँकी तीनवटा सहकारीमाथि भने अनुसन्धान भइरहेको छ ।

यसअघिसम्म यी पाँचवटा सहकारी ठगीका मुख्य अभियुक्त जीबीलाई पक्राउ नगरेको भन्ने आरोप लगाउँदै आएको कांग्रेस नै अहिले सरकारमा छ । सोही पार्टीका नेता लेखक अहिले गृहमन्त्री छन् । तर अहिलेसम्म सहकारी ठगीको केन्द्रमा रहेका व्यक्ति जीबी भने पक्राउ पर्न सकेका छैनन् ।

यसबारे नेपाली कांग्रेसका एक नेता भन्छन्, ‘जीबी पक्राउको प्रतिष्ठा लेखकसँग जोडिएको छ । यो कुरा उहाँले पनि बुझ्नुभएको छ । हरप्रयास गरेर जीबीलाई नेपाल फिर्ता ल्याउने गरी उहाँले काम गरिरहनु भएको सूचना हामीले पाएका छौं ।’

लेखकको सचिवालयका अनुसारका उनी गृहमन्त्री भएपछि फेरि मलेसियन सरकारसँग समन्वय गरेर जीबी फिर्ताको कुरा उठाइएको थियो भने परराष्ट्रमार्फत कुटनीतिक नोट समेत पठाइएको थियो । अर्कोतर्फ दुई प्रहरी कर्मचारीलाई मलेसिया नै पठाएर समेत काम गरिएको थियो । तर यति गर्दा पनि जीबी अनुसन्धानको दायरा बाहिरै छन् ।

मुख्यगरी तीनवटा कारणले गर्दा मलेसियन सरकारले जीबीलाई फिर्ता गर्न नमानेको निष्कर्ष नेपाल प्रहरीले निकालेको छ । जसमा जीबीले मलेसियाको सेकेन्ड होम भिसा लिएर बसेको, मलेसियामा ठूलो लगानी गरेको, एक मलेसियाली महिलाले नेपालमा चरम यातना पाएको जस्ता विषयहरु जोडिएका छन् । ती मलेसियाली महिला को हुन् जसको अन्तर्य जीबी राई फिर्तासँग जोडिन्छ ? एकैछिन यसको विश्लेषण गरौं ।

जब मलेसियन प्रहरीले उठायो माला भेल्लोको केस

गत भदौको पहिलो साता प्रहरी उपरीक्षक नरहरि रेग्मीसहित दुई प्रहरी जीबीको खोजी गर्न भन्दै मलेसिया पुगेका थिए । प्रहरी प्रधान कार्यालयको पत्रपछि गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयले समन्वय गरेपछि रेग्मीको टोली मलेसिया पुगेको थियो ।

जीबी मलेसियामै रहेको भन्ने पूर्ण जानकारी पाएर मलेसिया गएको रेग्मीको टोलीलाई भने जीबीसँग भेट समेत नगराई मलेसियन टोलीले फिर्ता पठाइदिएको थियो ।

सो क्रममा मलेसियन प्रहरीले एक मलेसियन महिलाको केश समेत उठाएको प्रहरी स्रोत बताउँछ । नेपाली युवासँग प्रेम सम्बन्धमा रहेपछि क्वालालाम्पुरकी ५७ वर्षीया माला भेल्लो नाम गरेकी महिला १२ वर्षअघि २४ मार्च २०१२ मा नेपाल आएकी थिइन् ।

भिजिट भिसामा नेपाल आएकी भेल्लो र ती युवक २ वर्षसम्म काठमाडौंमा सँगै बसेका थिए । त्यसपछि ती युवाले भेल्लोसँग विवाह नगरी उनलाई छाडेर दुबई गए ।

यता काठमाडौंमै रहेकी भेल्लोमाथि सामुहिक बलात्कार र यातना यातना दिने समेत काम भएको विषय मलेसियन प्रहरीले उठाएको गृहस्रोत बताउँछ ।

ओभर स्टेमै रहेर विभिन्न काम गर्दै आएकी भेल्लो त्यसपछि मलेसिया फर्कने तयारीमा थिइन् । उनी ९ मार्च सन् २०२२ मा अध्यागमन कार्यालय कालिकास्थान समेत पुगिन् ।

तर अध्यागमनले भेल्लोलाई ३ हजार ६३७ दिन ओभर स्टेमा रहेको भन्दै २६ लाख ३८ हजार ५१७ रुपैयाँ जरिवाना सुनायो । उक्त रकम भेल्लोले बुझाउन नसक्ने बताएपछि मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १६४ को उपदफा ५ बमोजिम जरिवाना वापत हुने कैद सजाय ७ वर्षसम्म कैद बस्नुपर्ने ठहर गर्‍यो ।

जसअनुसार उनी २५ फागुन २०७८ देखि २४ फागुन २०८५ सम्म कैद बस्नुपर्ने भयो । अध्यागनको उक्त निर्णयपछि उनी केन्द्रीय कारागार सुन्धारा चलान भइन् ।

आफ्नो पीडा सुनाउँदा समेत अध्यागमनले नसुनेपछि उनी कारागार चलान भइन् । भेल्लोले आफू मानव बेचबिखन तथा ओसारपसारको शिकार भएको बताउँदै कानूनी लडाईँ लडिन् ।

घटनाबारे उनले मलेसियामा रहेकी आफ्नी छोरीलाई समेत जानकारी गराइन् । छोरीले पनि आमालाई मलेसिया फिर्ताका लागि पहल गरिन् ।

यस विषयमा मलेसियन सरकार र त्यहाँको प्रहरी पनि पूर्ण जानकार थियो । सन् २०२२ मै मलेसियन सरकारले २ पटकसम्म कुटनीतिक नोट लेख्दै घटनाको अनुसन्धान गर्न र भेल्लोलाई मलेसिया पठाउन आग्रह समेत गर्‍यो ।

‘भेल्लोले कानूनी झमेला ब्यहोरेको, अनाहकमा दुःख पाएको र २ पटकसम्म कुटनीतिक नोट लेख्दासमेत नेपालले बेवास्ता गरेको विषय मलेसियन प्रहरीले नेपाल प्रहरीसँग उठाएछ’, गृह स्रोतले भन्यो, ‘जीबीलाई नेपाल फिर्ता ल्याउन नसक्नुमा यो पनि एउटा कारण देखियो ।’

मलेसियन सरकारले ७ मलेसियन महिलालाई बेचबिखन गरी नेपाल ल्याएको आरोप समेत लगायो । भेल्लोले कानुनी उपचार खोज्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट समेत हालेकी थिइन् ।

२ भदौ २०८१ मा उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले भेल्लोलाई रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनी बल्ल मलेसिया फिर्ता हुन पाएकी थिइन् । सर्वोच्चको आदेशपछि १४ भदौमा नेपाल सरकारले भेल्लोलाई मलेसिया फिर्ता गरेको थियो ।

पहल भइरहेको छ : गृह मन्त्रालय

जीबीलाई नेपाल फिर्ता ल्याउनेबारे अहिले सकारात्मक पहल भइरहेको गृह मन्त्रालयको दाबी छ । गृहमन्त्री लेखकको सचिवालयको अनुसार अहिले मलेसियाले प्रश्न उठाएका ती महिला समेत फिर्ता भएकाले मलेसिया सरकार केही सकारात्मक देखिएको छ ।

नेपाल प्रहरी मलेसिया गएको बेला प्रश्न उठाए लगत्तै ती महिलालाई मलेसिया डिपोर्ट गरिएकाले जीबीलाई अब नेपाल ल्याउन सकिने सम्भावना देखिएको गृहमन्त्रीको सचिवालयका एक अधिकारी बताउँछन् ।

यसअघि लेखक मन्त्री भएपछि सहकारी पीडित र साक्षीका कागजातहरु समेत अनुवाद गरेर पठाइएको थियो । ‘मलेसियन सरकारले थप कागजात मागेपछि यसअघि नै अनुवाद गरेरसमेत पठाइएकाले केही सकारात्मक पहल भइरहेको छ’, गृह स्रोतले भन्यो ।

यसरी सिधै जीबीसँग कनेक्सन नदेखिए पनि उनलाई नेपाल फिर्ता ल्याउने प्रयासमा भने यी महिला कहिँ न कहीँ जोडिन पुगेको देखिन्छ जसका कारण मलेसियाली प्रहरी नेपाली पक्षसँग सहज व्यवहार गरिरहेको छैन ।

नेपाल प्रहरी स्रोतका अनुसार जीबी क्वालालम्पुरस्थित देशापण्डनमा अपार्टमेन्टमा बसेका छन् । ७ करोड नेपाली रुपैयाँभन्दा बढीमा उनले अपार्टमेन्ट खरिद गरेको दाबी प्रहरी स्रोतको छ ।

१ अर्ब रुपैयाँभन्दा बढी रकम जीबीले मलेसिया लगेर लगानी गरेको दाबी प्रहरीको छ । मलेसिया सरकारको ‘मेक मलेसिया माइ सेकेन्ड होम’ अवधारणा अनुसार तोकिएको रकम मलेसियाली सरकारलाई तिरेपछि मलेसियाली नागरिक सरह बस्न मिल्छ । सोही अनुसार जीबी मलेसियामा गएर बसेको प्रहरी स्रोतको भनाइ छ ।

मलेसियामा कुनै अपराध नगरेको, अर्ब बढीको लगानी गरेर रोजगारी समेत दिएको व्यक्तिलाई मलेसियाली सरकारले सम्बन्धित देशमा पठाउन चाहँदैन । जसकारण जीबी फिर्ताको सेकेन्ड होम भिसा पनि जोडिएको बताइन्छ ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?