१३ कात्तिक, काठमाडौं । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले तीन हजार एकसय ७५ गुम्बालाई मान्यता दिएको छ ।
देशभर सार्वजनिक गुम्बा तीन हजार ७० र निजी १०५ गुम्बा दर्ता गरेको समितिले पुराना ऐतिहासिक, पुरातात्विक महत्वका आधारमा गुम्बालाई मान्यता दिएको हो ।
लामा धर्म गुरुको बौद्ध दर्शन सम्बन्धि अध्ययन तथा विकासका लागि कार्यक्रम सञ्चालन गर्दै आइरहेको कार्यकारी निर्देशक होमबहादुर दोङ्गले जानकारी दिए ।
उनका अनुसार बौद्ध गुम्बा तथा विहारहरुको संरक्षण, संवर्द्धन, तथा बौद्ध दर्शनको अध्ययन र विकास गर्न स्थापित समितिले पञ्च वर्षीय रणनीतिक योजना–२०७१ समेत तयार गरी त्यसका आधारमा भौतिक रुपले जीर्ण गुम्बाको जीर्णोद्धार गरी राष्ट्रको अमूल्य सम्पत्तिको संरक्षण गरिएको छ ।
समितिले बौद्ध दर्शनको संरक्षण, प्रवर्द्धन तथा नेपालमा रहेका गुम्बा, विहार, वहा, वहीलगायत बौद्ध सम्पदाको संरक्षण गर्दै तीनको व्यवस्थित सञ्चालनका लागि देशमा रहेका गुम्बा तथा बहाः बहीको दर्ता गर्दै आइरहेको छ ।
बौद्ध दर्शनको संरक्षण, विकास र बौद्ध धर्म संस्कृतिको संवर्द्धन गर्नका लागि स्थापना गरिएका गुम्बा तथा विहारको संरक्षण संवर्द्धन तथा बुद्धको शान्तिका सन्देशलाई मानवहितका लागि उपयोग गर्ने नीति समितिले लिएको छ ।
बौद्ध दर्शन, धर्म, संस्कृति, कला तथा भाषाको संंरक्षण र देशमा भएका गुम्बा, बिहार तथा लामा, भिक्षु, भिक्षुणीहरूलाई आत्म निर्भर बनाउनका लागि विभिन्न प्रकारका सीपमूलक तालिम पनि यस समितिले सञ्चालन गरेको जनाएको छ ।
समितिको तथ्याङ्कअनुसार भूकम्पबाट देशभरका एक हजार तीन सय १८ गुम्बा क्षतिग्रस्त भएका छन् । जसमध्ये एक हजार एक सय ३१ गुम्बा अनुदानको व्यवस्था गरिएको थियो ।
भूकम्पबाट प्रभावित गुम्बा तथा बिहारको संरक्षण, जीर्णाेद्वार तथा पुनः निर्माणसम्बन्धी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग समन्वयमा समितिले क्षतिग्रस्त करिब एक हजार एक सय गुम्बा तथा बिहार पुनःनिर्माण गरेको जनाएको छ ।
एकसय वर्ष पुगेका सम्पदा पुनःनिर्माणका लागि प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार पुरातत्व विभागले पुनःनिर्माण गर्ने प्रावधान छ ।
समितिको तथ्याङ्कअनुसार अनुदान पाउने गुम्बाको सूचीमा सबैभन्दा बढी सिन्धुपाल्चोकका एक सय ५४ वटा थिए । त्यस्तै, गोरखाका ७९, रामेछापका ६३, धादिङका ६८, काभ्रेपलाञ्चोकका ८१, रसुवाका ४५, मकवानपुरका ८०, नुवाकोटका ९५, दोलखाका ७५, ओखलढुङ्गाका १७, सिन्धुलीका ३९, चितवनका ३९ गुम्बा तथा बिहार अनुदानको सूचीमा राखिएको छ ।
त्यस्तै नवलपरासीका ९, कास्कीका ५, बाग्लुङको १, तनहुँका १४, खोटाङका १३, भोजपुरका १७, धनकुटाका ६, सोलुखुम्बुका ४९, लमजुङका १४, संखुवासभाका ११, काठमाडौँका १४, ललितपुरका ११ र भक्तपुरका २ गुम्बा/बिहार अनुदानको सूचिमा राखिएको छ ।
प्रतिक्रिया 4