१४ मंसिर, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन, लगानी र सम्भावनाबारे सरोकारवाला निकायसँग बृहत अन्तरक्रिया गरेको छ ।
भैरहवामा आयोजित कार्यक्रममा चेम्बर लुम्बिनी प्रदेशले मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेशका मन्त्री, निजी क्षेत्रका प्रतिनिधिसँग बृहत अन्तर्क्रिया आयोजना गरेको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भैरहवा विमानस्थल स्थायी रूपमा सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्ने बताए ।
‘लुम्बीनीमा लगानीः अवसर र चुनौती’ विषय कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले विमानस्थल सञ्चालनका लागि केन्द्र सरकारसँग समन्वय गर्ने प्रतिबद्धता समेत जनाए । प्रदेश सरकारलाई बलियो बनाउने गरी आन्तरिक समन्वय एवम् लगानीको वातावरण सिर्जना गर्ने गरी काम भइरहेको उनको भनाइ छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालन गर्न सरकार प्रयासरत रहेको उनको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले निजी क्षेत्रमा लगानीको वातावरण बन्नुपर्ने बताए । लुम्बिनी प्रदेश लगानी र प्राकृतिक स्रोतको दृष्टिकोणले उत्कृष्ट प्रदेश रहेको वरिष्ठ उपाध्यक्ष मल्होत्राको भनाइ छ ।
लुम्बिनी प्रदेश चेम्बरका अध्यक्ष टंकप्रसाद पोख्रेलल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरोकारवाला निकायबीच पूर्ण समन्वय र पहल कदमी लिनुपर्नेमा जोड दिए ।
भारतीय पर्यटकलाई चेकजाँचका नाममा अनावश्यक दुःख दिने काम बन्द गर्नुपर्ने उनको भनाइ छ । लुम्बिनी प्रदेशमा लगानी भित्र्याएर पर्यटक आर्कषित गर्नुपर्नेमा उनले जोड दिए । भैरहवा विमानस्थल पूर्णरूपमा सञ्चालन गर्न सबैको पहल आवश्यक रहेको अध्यक्ष पोख्रेलले जोड दिए ।
प्रतिक्रिया 4