News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सरकारले उपहार स्वरुप दिएका दुई हात्ती बुधबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका लागि उडेका छन्।
- कतार एयरवेजको बोइङ ७७७ एफ फ्रेटर जहाजमार्फत हात्ती खगेन्द्रप्रसाद र रुद्रकली दिउँसो ५ बजेपछि उडान भरेका हुन्।
- हात्तीहरू मंगलबार चितवनबाट भैरहवा ल्याइएको थियो र जहाज आज बिहान खराब मौसमका कारण कोलकाता डाइभर्ट भएको थियो।
२ पुस, बुटवल । नेपाल सरकारले उपहार स्वरुप दिएका दुई हात्ती आज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका लागि उडेका छन् ।
कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाज मार्फत बुधबार दिउसो ५ बजेपछि खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई हात्ती विमानस्थलबाट छुटेका हुन् ।
दुई हात्ती मंगलबार नै चितवनबाट भैरहवा ल्याइएको थियो । यसअघि आज बिहान जहाज भारतको कोलकाता डाइभर्ट भएको थियो ।
भैरहवाबाट उडान भरेको ४ घण्टामा कतार पुग्ने विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले बताए । आज बिहान मौसम खराब हुँदा जहाज कोलाकाता डाइभर्ट भएको थियो ।
हात्तीहरूसँगै चितवनका एक जना पशु प्राविधिक, रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ तथा खगेन्द्रप्रसादका माउते पाचुखा थारु पनि कतार प्रस्थान गरेका छन् । केही समय हात्तीहरूको रेखदेख गर्नेदेखि त्यहाँका कर्मचारीहरूलाई हात्तीको स्याहारसुसार गर्न सिकाएर मात्रै उनीहरू फर्किने छन् ।
नेपाल सरकारका तर्फबाट कतारलाई उपहारस्वरूप ६ वर्षको भाले हात्ती खगेन्द्रप्रसाद र ७ वर्षकै पोथी हात्ती रुद्रकली पठाइएको हो ।
२०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने बाचा गरेको थियो ।
२०७६ माघमा खगेन्द्रमली पोस्टमा कोशीकलीबाट जन्मिएको खगेन्द्रप्रसाद हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसरमा हुर्किएको हो । खगेन्द्रमली पोस्टमा जन्मिएकोले उसको नाम पनि खगेन्द्रप्रसाद नै राखिएको हो ।
खगेन्द्रप्रसादकी आमा कोशीकलीलाई प्रशिक्षक हात्तीसमेत भन्ने गरिन्छ । छावाहरूलाई तालिम दिन कोशीकलीलाई प्रयोग गर्ने गरिन्छ । हात्ती प्रजनन तथा तालिम केन्द्रमा घुम्न पुग्ने पर्यटकहरूलाई फूलको माला लगाएर आर्शिवाद दिने काम खगेन्द्रप्रसादले गर्दै आएको थियो ।
हात्ती प्रजनन केन्द्रमा २०७५ सालमा पूजाकलीको कोखबाट जन्मिएकी रुद्रकली जन्मिएको हो । पूजाकलीको रुद्रकली जम्मा ३ महिनाको हुँदा नै मृत्यु भएको थियो । माउको मृत्यु भएपछि रुद्रकलीलाई माउतेहरूले रेखदेख गरेर हुर्काएका थिए । यी दुवै हात्तीको बाबु जंगली हात्ती ‘रोनाल्डो’ रहेको निकुञ्जले पुष्टि गरेको छ ।
२०४४ सालमा भारतले उपहारस्वरूप दिएका १६ हात्तीलाई राखेर सौराहामा हात्ती प्रजनन केन्द्र खोलिएको थियो । भारतले हात्ती दिएपछि नेपालले भारतलाई त्यतिबेला ४ वटा एकसिंगे गैंडा दिएको थियो ।
तस्वीरहरू : विनोद सिंह रावत



प्रतिक्रिया 4