+
+
Shares

गायक अमृत गुरुङ, उद्यमी रामकलीलगायत ९ जनालाई पोखरा नवरत्न सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १८:३१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा महानगरपालिकाले ६७ औं स्थापना दिवसमा ९ जनालाई नगद, ताम्रपत्र, पदक र दोसल्लासहित नवरत्न सम्मान प्रदान गरेको छ।
  • समाजसेवा, स्वास्थ्य, खेलकुद, उद्यमशीलता लगायत विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरूलाई नवरत्न सम्मान दिइएको हो।
  • पोखरामा मेयरको एक कार्यकालमा एक पटक नवरत्न सम्मान दिने कार्यविधि तयार गरिएको छ र यसअघि ३० जनाले यो सम्मान पाएका छन्।

२ पुस, पोखरा । पोखरा महानगरपालिकाले स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रका ९ जनालाई नवरत्न सम्मान प्रदान गरेको छ ।

६७ औं स्थापना दिवसको अवसरमा नगद २ लाख, २ हजार २०० रुपैयाँ, ताम्रपत्र, पदक र दोसल्लासहित विभिन्न क्षेत्रका ९ जनालाई नवरत्न सम्मान प्रदान गरेको हो ।

गायन तथा संगीतको क्षेत्रबानट नेपथ्यका अमृत गुरुङ, धार्मिक पर्यटन तथा कृषि उद्यमको क्षेत्रका चन्त्रकान्त बराल, समाजसेवा तथा उद्योगको क्षेत्रबाट चन्द्रकृष्ण कर्माचार्य, कला साहित्यको क्षेत्रबाट तीर्थ श्रेष्ठ, परिकारिता क्षेत्रबाट तिलकमान गुभाजुलाई प्रदान गरिएको छ ।

यसैगरी स्वास्थ्य क्षेत्रबाट प्राडा बुद्धिबहादुर थापा, खेलकुद तथा शिक्षाबाट प्राडा वीरेन्द्रसिंह गुरुङ, उद्यमशीलता क्षेत्रबाट रामकली खड्का र शिक्षा सेवा तथा उद्योग क्षेत्रबाट पूर्वमन्त्रीसमेत रहेका हरिप्रसाद पाण्डेलाई नवरत्न सम्मान प्रदान गरिएको हो ।

पोखरामा जन्मिएका गायक गुरुङले गीतसंगीतको क्षेत्रमा नाम रोशन गरेका छन् । धार्मिक पर्यटन तथा उद्योग क्षेत्रबाट सम्मान पाएका चन्द्रकान्तले पोखराको पुम्दीभुम्दीका विशाल महादेवको मूर्ती बनाउने परिकल्पना गरेर मूर्त रूप दिएका छन् । अहिले भुम्दीमा विशाल महादेवको मूर्ती दर्शनका लागि दैनिक हजारौं मानिसहरू जाने गरेका छन् ।

चन्द्रकान्त कर्माचार्य पोखराबाट उद्योगको क्षेत्रका नेपालमै योगदान दिने व्यक्तिमा पर्छन् । कर्माचार्यग्रुपमार्फत विस्कुट, तेल, चकलेट, चामल, चिउरा, आँटा तथा डेरीजन्य उत्पादन गर्ने उद्योग स्थापना गरी रोजगारी सिर्जना गरेको छ । लेखनाथ उद्योग वाणिज्य संघको संस्थापक अध्यक्षसमेत रहेका कर्माचार्य यहाँको विकास र सहरीकरणमासमेत योगदान गरेका छन् ।

कला, संस्कृतिको क्षेत्रबाट सम्मानित तीर्थ कविता र गीततर्फ चर्चित नाम हो भने उनले पोखराको संस्कृतिको क्षेत्रमासमेत काम गर्दै आएका छन् ।

तीर्थकै परिकल्पनामा पोखरामा नवरत्न सम्मान दिने प्रचलनको थालनी गरिएको थियो । पोखराको पूर्वउपप्रधानपञ्चसमेत रहेका श्रेष्ठ नेपाली लेखक संघका केन्द्रीय अध्यक्षसमेत हुन् ।

पत्रकारिता क्षेत्रबाट सम्मानित तिलकमान ६दशकदेखि निरन्तर सक्रिय छन् । पोखराको आदर्श समाज राष्ट्रिय दैनिकमा अथिति सम्पादकका रुपमा कार्यरत गुभाजु बौद्ध धर्मसंस्कृतिको अध्येता तथा खोजकर्तासमेत हुन् ।

प्राडा बुद्धिबहादुर पोखरामा स्वास्थ्यका क्षेत्रका निकै कहलिएका पात्र हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिसमेत भइसकेका बुद्धिबहादुरले गण्डकी क्षेत्रकै स्वास्थ्य सेवा विकासका लागि योगदान गरेका छन् ।

प्राडा वीरेन्द्रसिंह पोखराको रंगशाला क्षेत्र संरक्षण गर्ने, खेल प्रवद्र्धन गर्ने व्यक्ति हुन् । उनले नै पोखरामा क्रिकेट मैदानको परिकल्पना गरेका थिए । खेल क्षेत्रको प्रवद्र्धन, खेलाडी उत्पादनदेखि शिक्षा सेवाको क्षेत्रमा पनि उनको योगदान छ ।

रामकली महिला उद्यमशिलता तथा सशक्तिकरण अभियान्ता हुन् । उनले पोखरामा ५ दशकदेखि महिला सशक्तिकरण र हस्तकलाको क्षेत्रमा काम गरिरहेकी छन् । महिला सीप विकास संस्थामार्फत उनले अहिलेसम्म हजारौं महिलालाई सिप सिकाउने काम गरेकी छन् भने पोखरामा उत्पादित हस्तकलाका सामाग्री विदेश निर्यातसमेत गर्ने नेतृत्व गरिरहेकी छन् ।

ह्रिप्रसाद पाण्डे पोखरेली उद्योगको क्षेत्रका अगुवा नाम हो । पोखरा फुड्स्, एभरेस्ट इन्जिनियरिङ, पोखरा नुडल्स तथा रम्बा जनरल फुड्सजस्ता उद्योगमार्फत सयौंलाई रोजगारी दिएका छन् । पोखरा महानगरभित्रका २ सय ५० विद्यार्थीस्हित ८ सय ५० जनालाई उनले छात्रवृत्ति उपलबध गराएका छन् ।

‘मैले भ्रस्टाचार गरेको छु, मलाई कारबाही गर’ भनेर अनसन बसेर चर्चासमेत कमाएका पाण्डेले पोखराको उद्योग र उत्पादनको क्षेत्रका योगदान गरेका छन् भने इन्जिनियरिङको क्षेत्रमा पनि क्रियाशील छ ।

पोखरामा निवार्चित भएर आउने मेयरको एक कार्यकालमा एक पटक नवरत्न सम्मान प्रदान गर्ने गरी कार्यविधि तयार गरिएको छ । वरिष्ठ कार्टूनिस्ट दुर्गा बराल वात्स्यायनको संयोजकत्वमा अध्येता विश्व सिग्देल, प्राज्ञिक व्यक्ति नीता ताम्राकारण, पत्रकार दिपेन्द्र श्रेष्ठ र पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल सदस्य सचिव रहेको छनोट समितिले सम्मानित पात्रहरूको नाम सिफारिस गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखराका मेयर धनराज आचार्य, वरिष्ठ कार्टूनिस्ट वात्स्यायनलगायतले छनोट भएका व्यक्तिहरूलाई सम्मानित गरे ।

सम्मानित व्यक्तिहरूमध्येबाट बोल्दै कवि तीर्थले पोखरामा योगदान पुर्‍याएका विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गर्ने नयाँ पुस्तालाई पनि ज्ञान हस्तान्तरण गर्ने अभिप्रायले थालनी गरिएको बताए ।

महानगरको उन्नयनमा योगदान गरेबापत महानगरले तेस्रो पटक नवरत्न सम्मान गरेको हो । यसअघि २०५५ र २०५९ सालमा पनि सम्मान गरिएको थियो । २०७२ सालमा तीन जनालाई पोखरा रत्नसम्मान गरिएको थियो । हालसम्म ३० जनाले नवरत्न सम्मान प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?