+
+
Shares

ललितपुरमा भोलिदेखि ‘सिन्धुली जुनार मेला’ 

गोलन्जोर गाउँपालिकामा हालै सम्पन्न ‘जुनार बगैँचा उत्सव’ लगत्तै ललितपुरमा यो प्रदर्शनात्मक मेला आयोजना गर्न लागिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १८:२०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरमा भोलिदेखि साताव्यापी ‘सिन्धुली जुनार मेला’ आयोजना हुँदैछ जसले सिन्धुलीको जुनारलाई आधुनिक प्रविधिमार्फत ब्रान्डिङ गर्ने उद्देश्य राखेको छ।
  • मेलामा प्रविधिको प्रयोग गरी कृषकका बगैँचाको डिजिटल नक्सांकन गरिएको छ र उपभोक्ताले क्यूआर कोड स्क्यान गरी उत्पादनको विवरण हेर्न सक्नेछन्।
  • मेलामा जुनारको परम्परागत नुन-खुर्सानीभन्दा बाहिर केक, आइसक्रिम, जुस लगायतका विविध स्वाद उपलब्ध गराइनेछ र अनलाइन अर्डरको व्यवस्था पनि गरिएको छ।

२ पुस, काठमाडौं । सिन्धुलीको प्रसिद्ध जुनारलाई आधुनिक प्रविधिमार्फत ब्रान्डिङ गर्ने र यसको बहुआयामिक स्वाद उपभोक्तामाझ पुर्‍याउने उद्देश्यले ललितपुरमा भोलि बिहीबारदेखि साताव्यापी ‘सिन्धुली जुनार मेला’ हुने भएको छ ।

गोलन्जोर गाउँपालिकामा हालै सम्पन्न ‘जुनार बगैँचा उत्सव’ लगत्तै ललितपुरमा यो प्रदर्शनात्मक मेला आयोजना गर्न लागिएको हो ।

स्टोरी साइकल, स्मार्ट एग्रिकल्चर र रैथानेको संयुक्त आयोजनामा सञ्चालन हुने मेलामा यस वर्ष विशेषगरी गोलन्जोर गाउँपालिकाको रतनचुरा र चिसापानी क्षेत्रका बगैँचाको जुनारलाई मुख्य ब्रान्डका रूपमा प्रस्तुत गरिने छ ।

सिर्जनशील कृषि फार्म सञ्चालक योगेन्द्र थापाका अनुसार काठमाडौंमा जुनार मेला आयोजना भएको यो पाँचौं वर्ष हो । ‘विगतका वर्षहरूको निरन्तर प्रयासले सिन्धुलीको जुनारले राजधानीमा आफ्नै छुट्टै पहिचान बनाउन सफल भएको छ,’ थापाले भने।

यस वर्ष मेलाको मुख्य आकर्षण प्रविधिको उच्चतम प्रयोग हो । योजना टेक्नोलोजी र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको प्राविधिक सहयोगमा यसपालि कृषकका बगैँचा र रूखहरूको डिजिटल नक्सांकन गरिएको छ ।

करेसा एपका निर्देशक निश्चल पोखरेलका अनुसार यो प्रविधिले कुन बगैँचामा कति उत्पादन हुन्छ भन्ने अनुमानित जानकारी किसान र सहकारीलाई पहिले उपलब्ध गराउँछ।

उपभोक्ताले ‘करेसा’ मार्फत जुनारमा रहेको क्यूआर कोड स्क्यान गरी कुन बगैँचाको कहिले टिपेको हो र कृषकको विवरण सहित यात्रा विवरण सजिलै हेर्न सक्नेछन् ।

स्वादमा विविधीकरण : नुन-खुर्सानीदेखि ‘हट जुस’ सम्म

जुनारलाई नुन-खुर्सानीमा साँधेर खाने परम्परागत शैलीभन्दा माथि उठेर यसका अन्य व्यावसायिक प्रयोगबारे जानकारी दिनु मेलाको मुख्य लक्ष्य रहेको रैथानेका सहसञ्चालक जेसन शाहले बताए ।

मेलामा जुनारको केक, आइसक्रिम, सलाद, क्रेप सुजेट र जुसको स्वाद लिन पाइने छ । विशेषगरी चिसो मौसम लक्षित गरी तयार पारिएको ‘हट जुनार जुस’ र स्थानीय जौको रक्सीसँग ‘जुनार जेस्ट’ मिसाइएको स्वाद आगन्तुकका लागि नयाँ अनुभव हुनेछ ।

हट बजार सञ्चालक राजन खड्काका अनुसार यस पटक उपभोक्ताको सहजताका लागि हाटहरूको संख्या थपिएको छ । मेलाको तालिका अनुसार २२ र २३ पुसमा साझा सहकारी कुपन्डोलमा जुनार खरिद गर्न सकिने छ भने २३ र २४ पुसदेखि आइतबारसम्म धोबीघाटमा हाट लाग्ने छ ।

यस्तै २४ पुसमा रैथाने रेस्टुरेन्टमा परिवार मेला लाग्ने छ भने २७ पुसमा भनिमण्डल हाटमा जुनार उपलब्ध हुनेछ ।

प्रत्यक्ष मेलामा पुग्न नसक्नेका लागि काठमाडौं अर्गानिक्सको वेबसाइट मार्फत अनलाइन अर्डर गरी जुनार मगाउने व्यवस्था मिलाइएको छ ।

स्टोरी साइकलका सञ्चालक दीपिका ज्ञवालीले कृषि क्षेत्रलाई जलवायुमैत्री र प्रविधिमार्फत बजारसँग जोड्ने अभियानमा आफू निरन्तर लागिरहेको बताइन् ।

गोलन्जोर गाउँपालिकाका प्रमुख कृषि अधिकृत चन्द्रकान्त चौधरीले यस्ता मेलाले सिन्धुलीको २ हजार हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको जुनार खेती र कृषकलाई सिधै बजारसँग जोडेर आर्थिक लाभ दिलाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सिन्धुलीका ४ स्थानीय तह सुनकोशी-७ मधुवा, कमलामाई-३ जलकन्या, गोलन्जोर-१ देखि ६ सम्म र तीनपाटन-७ तोशखोलाका बगैँचाबाट जुनार खरिद गरिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?