+
+

उपचुनाव नतिजाले देखायो तीन प्रवृत्ति

उपचुनावमा ठूला ३ दल कांग्रेस, नेकपा  र माओवादी केन्द्रको मताधार धेरथोर अदलबदल भए पनि उनीहरू नै मुख्य शक्ति हुन् भन्ने तथ्य पुनस्थापित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते २१:३५

१७ मंसिर, काठमाडौं । स्थानीय तहको उपचुनाव भए पनि थुप्रैले मिनी–मध्यावधि ठानेको लोकतान्त्रिक प्रतिष्पर्धाको अधिकांश नतिजा आइसकेको छ । यसबाट मूलतः तीनवटा प्रवृत्ति देख्न सकिन्छ ।

एक– उपचुनावमा ठूला तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको मताधार धेरथोर अदलबदल भए पनि उनीहरू नै मुख्य शक्ति हुन् भन्ने तथ्य पुनस्थापित भएको छ । यसअघि रिक्त ४१ मध्ये कांग्रेसले २४ ठाउँ जिते पनि मोरङको ग्रामथान, दैलेखको महाबुजस्ता उल्लेख्य पालिका गुमेको छ ।

एमालेतर्फ पनि यस्ता दृष्टान्त छन् । जहाँनेर कांग्रेस र एमालेको विजय भएको छ, मतको रुझान हेर्दा उनीहरूलाई मतदाताले उत्साहका साथ मतदान गरेको भने देखिंदैन । कांग्रेस र एमालेले आफ्नो भागमा ठूलो जनमत रहेको भन्दै सत्ता साझेदारी गरे पनि मतदाताले उल्लेख्य रूपमा त्यसतर्फ भर गरेको नतिजाबाट देखिएन ।

दुई– रास्वपालगायत नयाँ दलहरूले दुई वर्षअघि जगाएको उत्साह राम्रैसँग ओरालो लागेको देखिन्छ, तर त्यो मतलाई पुराना दलहरूले आफूतिर फर्काउन भने सफल भएको देखिँदैन । सभापति रवि लामिछाने शृंखलाबद्ध विवाद र अभियोगमा फस्दै जाँदा रास्वपाको सार्वजनिक साखलाई असर परेको उपचुनावले देखायो ।

राष्ट्रिय राजनीतिक महत्वाकांक्षा बोकेर कहिले इलाम, कहिले काठमाडौं कुदिरहेका धरानका मेयर हर्क साम्पाङको ‘हर्कबढाइँ’ मा गत वैशाख र यो मंसिरका दुवै उपचुनावले ब्रेक लगाएको दृष्टान्त भेट्न सकिन्छ ।

तीन– राप्रपा लगायत पुरातन शक्तितर्फ मतदाताको झुकाव अत्यधिक घट्दो क्रममा रहेको पनि परिणामबाट बुझ्न सकिन्छ । कांग्रेस, एमाले र माओवादीको शृंखलाबद्ध असफलतालाई आफू र राजातर्फ खिच्न सकिने ठानेर सक्रिय ती शक्तिले कतै पनि आफूलाई स्थापित गर्न सकेको देखिएन ।

नेमकिपा, जसपाका एकाध सिटले उपचुनावको मूल प्रवृत्तिलाई फरक पार्न सकेको देखिएन । जनमत पार्टीको हकमा पनि त्यस्तै भएको छ ।

‘जनताले परम्परागत दलहरूको विकल्प भेटिसकेका छैनन् भन्ने उपचुनावबाट स्पष्ट भयो, तर मतदाता चलायमान भइरहेका छन् भन्ने स्पष्ट संकेत छ’ विश्लेषक झलक सुवेदी भन्छन्, ‘त्यसैले कुनै पनि दलले यो नतिजाबाट आफू सुरक्षित छु भनेर ढुक्क नभए हुन्छ ।’

सुवेदीले भनेजस्तै दुई वर्षअघिको जनमत कहीँ उल्टोपाल्टो, कहीं साटफेर भएको देख्न सकिन्छ । त्यस बेला गठबन्धन गरेर लडेका कांग्रेस र माओवादी यसपल्ट अलग हुनुको असर थोरैमात्र छ, बरु माओवादीले त्यसलाई आफ्नो पक्षमा ल्याएको देख्न सकिन्छ ।

यो रिपोर्ट तयार पार्दासम्म कीर्तिपुर, दोलखाको गौरीशंकर, अनि हुम्लाको सर्केगाड लगायत केही ठाउँको नतिजा आउन बाँकी छ । यसअघि कांग्रेसले जित्दै आएका मोरङको ग्रामथान, दैलेखको महाबुजस्ता पालिकालाई यथावत् राख्न सकेन ।

एमालेले यसअघि कांग्रेसले जितेको बाजुराको स्वामीकार्तिक उपप्रमुखमा नतिजा उल्टाएको छ । दैलेखको महाबुमा पनि कांग्रेस हराएर एमालेका पालिका प्रमुख जंगबहादुर शाही आएका छन् ।

‘नेताविशेषको प्रभाव वा संगठनको बलले चुनावको नतिजा तलमाथि हुनु बेग्लै कुरा, नत्र उपचुनावले कांग्रेस र एमालेलाई ठिक रहेछन् भनिनसकेको, अनि नयाँ विकल्पलाई पत्यार गरिनसकेको सन्देश मिल्छ’ राजनीतिक विश्लेषक विष्णु सापकोटा भन्छन्, ‘कांगे्रस र एमाले अलग मान्यतामा खुलेका दल भए पनि जनताको ठूलै पंक्तिमा यी दुई दल उस्तै–उस्तै रहेछन् भन्ने सन्देश जानु राम्रो होइन ।’

कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई चुनावी अभियानको समग्र जिम्मा दिइए पनि पार्टी पंक्तिले उनीहरूलाई खुला रूपमा आत्मसात गरिनसकेको दृष्टान्त उपचुनावमा देखिएको सापकोटा बताउँछन् ।

यसको सन्देश हो– कम्युनिष्टहरू टुटफुट र विभाजनमा लागिरहँदाको फाइदा उठाउने सुविधा कांग्रेसलाई सधैं हुँदैन ।

चुनाव तयारीकै बीचमा कांग्रेस त्यागेर माओवादी प्रवेश गरेका मोरङ ग्रामथानका नमोनारायण माझीले जितेको, अनि रुख चिह्न लिएर रुकुम पूर्व पुथा उत्तरगंगामा उठेकी एमाले उम्मेदवार केशकुमारी तुलाचनलाई हराउँदै माओवादीकी नरपुरा बुढाले जितेको जस्ता केही दृष्टान्त हेर्दा प्रतिपक्षी कित्तामा बस्नुको राजनीतिक लाभ माओवादी केन्द्रले उठाएको देख्न सकिन्छ ।

विगतका चुनावमा माओवादी नेतृत्वले एक्लै चुनाव लड्न दकस मानेको, बरु कहिले कांग्रेस अनि कहिले एमालेसँग मिलेर गठबन्धन गरेको थियो । तल्लो इकाईका कार्यकर्ता तथा समर्थकले माओवादीलाई एक्लै लड्ने आत्मबल भुइँतहबाटै प्रदान गरेका छन् ।

यसले माओवादीलाई एक्लै उभिने हिम्मत देखाउन बल दिएको बताउँछन् नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा । ‘जितका कैयौं इतिहास रचेका माओवादी हार्न डराउँदा विगतमा कम सिट प्राप्त भएको हो’ उनले भने, ‘हामी एक्लै निर्वाचन लड्न सक्छौं र लड्नुपर्छ ।’

‘कांग्रेस र एमालेको सनातनी शक्तिमा अहंकार बढ्ने जोखिम छ, उनीहरूले यहाँ कोही छैन हामी नै हौं भन्न सक्छन्’ लेखक खगेन्द्र संग्रौला भन्छन्, ‘माओवादीले केही प्रगति अवश्यै गरे पनि ऊ मूलतः कांग्रेस र एमालेकै कित्तामा छ । त्यसैले उपचुनावले यथास्थितिको किल्लामा टसमस भएको देखाएन ।’

स्थानीय निर्वाचनको नतिजाले द्विदलीय व्यवस्थाको वकालत गर्ने केही नेताहरूलाई धारणाबारे पुनर्विचार गर्ने ठाउँ दिएको छ । साथै संगठनको बलमा सधैं नतिजा आफ्नो पक्षमा राख्न सम्भव छैन भन्ने पनि सन्देश निहित छ ।

रास्वपाले काठमाडौं महानगर १६ मा पाएको वडा प्रमुख पदको विजयले उसको समग्र निराशालाई सान्त्वनामा बदल्ने प्रयास गरेको छ । धेरैले ०७९ को लहर किन ०८१ को उपचुनावमा आउन सकेन भनी सोधिरहेका बेला विश्लेषक संग्रौला भन्छन्, ‘रास्वपा भनेको सडकमा कुद्दाकुद्दै बनेको भुइँफुट्टा पार्टी हो । तै पनि चुनावै जित्नेगरी काम गर्न संगठन थिएन, तिनले समय पनि पाएनन् ।’

सुवेदी पनि सहमति जनाउँदै काठमाडौं १६ मा रास्वपाको जितले यो समूह अब बिस्तारै दल बन्ने प्रक्रियातर्फ अघि बढेको सकार्छन् ।

त्यस्तै, एमालेबाट विभाजित बनेको नेकपा एकीकृत समाजवादीलाई भने एमालेलाई हराउने भूमिकाबाट छुट्टै दलको अस्तित्व खडा गर्नेगरी काम गर्न यो नतिजाले सन्देश दिएको छ ।

यद्यपि, नयाँ भनिएका शक्तिहरूको अकर्मण्यता र दिशाहीनताले मतदातालाई मत बदल्न डर थपिदिएको देखिन्छ । विकल्प दिन्छौं भन्नेहरूलाई भरपर्दो शक्ति मान्न सकिएन भन्ने सन्देश दिंदादिंदै पनि मतदाता मत बदल्नसक्ने अवस्थामा पुगेका देखिन्छन् ।

मधेसमा जसपाले केही पदहरू जित्दै गर्दा अघिल्लो चुनावमा आक्रामक रूपमा उदाएको जनमत पार्टी भने खुम्चिएको देखिन्छ । ०८४ को चुनावका लागि दलहरूले जुन उल्लासका साथ प्रतीक्षा गरेका थियो, त्यसको रफ्तारमा भने कमी आउने विश्लेषकहरूले आकलन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?