+
+

वैदिक संस्कृति संरक्षण गर्न भन्दै देशभरका धार्मिक अगुवाहरुको भेला आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १९ गते १०:३६
डा. बासुदेवकृष्ण शास्त्री

१९ मंसिर, काठमाडौं । वैदिक संस्कृति संरक्षण र राष्ट्रियताको रक्षा गर्ने भन्दै काठमाडौंमा देशभरका धार्मिक संघसंस्थाहरुको भेला आह्वान गरिएको छ ।

भेला पुस महिनाको ५ र ६ गते काठमाडौंको चाबहिलमा हुनेछ । राष्ट्रियताको रक्षाका लागि साझा धारणा बनाउने भेलाको उद्देश्य छ ।

भेला आयोजनाका लागि सक्रिय डा. बासुदेवकृष्ण शास्त्रीले अनलाइनखबरसँग भने, ‘हिन्दु, बौद्ध, किराँत सहित नेपालमा जति पनि धार्मिक समितिहरु छन् ती सबैका अध्यक्ष र महासचिवहरुलाई भेलामा बोलाएका छौं । त्यसबाट एउटै छाता संगठन बनाउने र देशभर जनजागरको अभियान चलाउने छ ।’

भिन्नभिन्न समितिमा रहेर भिन्नभिन्न ढंगले गतिविधि गर्दा प्रभावकारी नभएको भन्दै ठूलो शक्ति निर्माणको योजना अनुसार भेला आह्वान गरिएको हो ।

‘देश भद्रगोल अवस्थामा पुगेकाले अब हामी सबैको एउटै दृष्टिकोण, एउटै विचार, एउटै सिद्धान्त, एउटै लक्ष्य बनाएर अघि बढ्नुपर्ने छ,’ शास्त्रीले भने ।

यसै सन्दर्भमा डा. शास्त्रीसँग गरिएको कुराकानीको सम्पादित अंश :

यो भेलाको आयोजक को हो ?

यो भेला हामीले नै गरेका हौं । विश्व ओमकार जागरण अभियान छ । त्यसमा हामी स्वदेश, विदेशका सबै छौं । विभिन्न क्षेत्रका धार्मिक, साँस्कृतिक क्षेत्रका व्यक्तित्वहरु हुनुहुन्छ । अहिले देशभरबाट धमाधम प्रतिनिधिहरुलाई बोलाउने काम भइरहेको छ । कुनै पनि धार्मिक संघसंस्थाहरु नछुटुन् भन्ने कुरालाई ख्याल राखेका छौं ।

भेला किन आवश्यक पर्‍यो ?

राष्ट्रियता संकटमा परेको छ । देश भद्रगोल अवस्थामा छ । यसलाई सही दिशा दिन सामूहिक पहल र सामूहिक दबाब आवश्यक छ । त्यही भएर साझा दृष्टिकोण, साझा विचार, साझा चिन्तन र एउटै लक्ष्य बनाएर शान्तिपूर्ण जनजागरण अभियान चलाउनुपर्ने भएको छ ।

राष्ट्रियता कोबाट संकटमा पर्‍यो ?

नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेदेखि केके भइरहेको छ, राजनीति कसरी चलिरहेको छ, कसको चलखेल भइरहेको छ भन्ने सबै छर्लङ्गै छ नि ।

तपाईंहरुले हिन्दू राष्ट्र स्थापनाको लक्ष्यसहित विभिन्न गतिविधि गर्दै आउनु भएको छ । यो भेला पनि त्यही अन्तर्गतको हो ?

नेपालको प्राण भनेको यहाँको वैदिक संस्कृति हो, सनातन संस्कृति हो । यहाँको सनातन संस्कृतिमा बौद्ध, जैन, शिख, किराँत सबै धर्म परम्पराहरु छन् । आ–आफ्ना उपासना पद्दतीहरु छन् । तर राष्ट्रियताको सवालमा हामी सबै एक छौं । सनातन हिन्दु राष्ट्र बहुसंख्यक नेपालीहरुको चाहना हो र हाम्रो चाहना पनि त्यही हो । सनातन परम्परातका आधारमा यहाँको अर्थतन्त्र, सामाजिक र राजनीतिक व्यवस्था चल्नुपर्छ । यहाँको सामाजिक संरचना, विश्व बन्धुत्व, राष्ट्रियता, अखण्डतामा जुन हाम्रो निरन्तर क्रियाशीलता छ । त्यही क्रियाशीलता अन्तर्गत भेला हुन लागेको हो ।

भेलामा हिन्दूसँग सम्बन्धित संघसंस्थाहरुको मात्रै हो कि अरुलाई पनि बोलाउनु भएको छ ?

यसमा डा. चिन्तामणि योगी हुनुहुन्छ । म आफैं छु । व्यासाचार्य किशोर गौतम हुनुहुन्छ । पुष्पराज पुरुष हुनुहुन्छ । मेचीदेखि महाकालीसम्मका भिन्नभिन्न क्षेत्रका व्यक्तित्वहरु हुनुहुन्छ । सबै धार्मिक संघसंस्था र समितिका व्यक्तिहरुलाई बोलाएका छौं । बौद्ध, जैन, शिख, किराँत सबै खालका व्यक्तित्वहरुलाई बोलाएका छौं ।

किनकि हाम्रो सनातन संस्कृति र धर्म परम्पराको रुपमा हामी सबै एकै ठाउँमा छौं । किनभने यो राष्ट्र र राष्ट्रियताको रक्षाका लागि हामी सबैको सामूहिक दायित्व हुन्छ । यो काम हिन्दुले गरेर मात्रै हुँदैन । त्यसैले भिन्नभिन्न क्षेत्रमा धार्मिक, सांस्कृतिक, सामाजिक क्षेत्रमा संघसंस्थाहरुले गरिरहेको कामलाई अब एउटै धारणा, दृष्टिकोण र लक्ष्य बनाएर राष्ट्रव्यापी रुपमा जनजागरण अभियान चलाउँछौं ।

त्यो जनजागरण अभियान कस्तो खालको हुन्छ ? के–के कार्यक्रम गर्नुहुन्छ ?

कार्यक्रम कस्तो खालको हुने, के–के गर्ने भन्ने कुरा पनि पुस ५ गते र ६ गते हुने बसाइले नै टुंगो लगाउँछ । साझा एजेण्डा र साझा दृष्टिकोण तय गरेपछि मेचीदेखि महाकालीसम्म तन, मन, बचनले कार्यक्रम गर्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?