२० मंसिर, काठमाडौं । भोलि (शुक्रबार) नेपाल आउन लागेका भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक र रानी तेत्सुन पेमा वाङचुकले स्वयम्भु र बौद्धनाथको मन्दिरको दर्शन गर्ने भएका छन् ।
भारत भ्रमण सकेर फर्किने क्रममा उनीहरू करिब ५ घण्टा नेपालमा रहने परराष्ट्र मन्त्रालय स्रोतले अनलाइनखबरलाई बताएको छ । त्यसक्रममा उनीहरूले स्वयम्भु र बौद्धनाथको मन्दिर दर्शन गर्ने तयारी रहेको बताइएको छ ।
यसको सुरक्षा प्रबन्ध मिलाइसकिएको परराष्ट स्रोतले बताएको छ । स्रोतका अनुसार, बिहान करिब १० बजेतिर काठमाडौं ओर्लिएलगत्तै उनीहरूको अनौपचारिक भ्रमण सुरु हुनेछ । यो भ्रमणका दौरान कुनै औपचारिक भेटघाट भने हुने छैन ।
‘भुटानका राजा र रानी दुवै भारत आएका बेला छोटो समयमा यहाँको धार्मिक स्थलको उहाँहरूले भ्रमण गर्न खोज्नु भएको हो,’ स्रोतले भन्यो, ‘यसबाहेक कुनै औपचारिक कार्यक्रम राखिएको छैन ।’
धार्मिक स्थलको भ्रमणपछि उनीहरू अपराह्न स्वदेश फर्किने छन् । बिहीबारदेखि भारतको औपचारिक भ्रमणमा रहेका उनीहरूले फर्किने क्रममा काठमाडौंमा रहने योजना बनाएका थिए ।
प्रतिक्रिया 4