२० मंसिर, ललितपुर। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सार्वजनिक र निजी क्षेत्रको रोजगारीमा अपाङ्गता भएकाहरुलाई कसरी जोड्ने भनेर लागिपरेको बताएका छन् ।
नेत्रहीन युवा सङ्घको आयोजनामा ललितपुरमा भएको अपाङ्गता भएका युवाको राष्ट्रिय सम्मेलनको आज समापन समारोहमा मन्त्री भण्डारीले अपाङ्गता भएका व्यक्तिहरु समतामूलक समाजको हिस्सेदार भएको बताए। ‘यो सम्मेलन सरकारलाई नीतिगत सुधारका लागि सुझाव दिन महत्वपूर्ण छ, यहाँबाट बनेको घोषणापत्र तपाईंहरुको हितका लागि नीति, बजेट तथा कार्यक्रम तय गर्न सरकार तत्पर छ, यो सम्मेलन अधिकार प्राप्तिको लडाईंको पहिलो चरण हो’, उनले भने।
सम्मेलनले तय गरेको नीतिगत सुझावका आधारमा रोजगारीको व्यवस्थापन, सीप विकासका साथै अपाङ्गता भएका युवाको हित प्रवर्द्धन गर्न अगाडि बढ्ने सरकारको प्रतिबद्धता रहेको मन्त्री भण्डारीले बताए।आर्थिक सक्षमता नभएसम्म नागरिक सफल हुन नसक्ने उनको भनाइ थियो।
‘हामी श्रम ऐन र रोजगार ऐनको संशोधन तथा व्यवस्थापनमा लागेका छौँ, सार्वजनिक निजी क्षेत्रको रोजगारीमा अपाङ्गता भएकालाई कसरी जोड्ने भनेर लागेका छौँ, रोजगारदाताको माग अनुसारको तालिम दिएर सीप विकास गर्न सक्छौँ, रोजगारदातालाई रोजगारी खोज्नेसँग कसरी जोड्ने भन्ने विषयमा ध्यान दिएका छौँ’, उनले भने।
संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गरले अब चुनौतीलाई मात्रै सम्झने नभइ त्यसको समाधान गर्न कार्यान्वयनमा जाने बेला भएको उल्लेख गरे। ‘एक्काइसौँ शताब्दीमा सबैलाई समानरुपले अवसर प्रदान गर्नुपर्छ, अपाङ्गता भएका व्यक्ति हाम्रै परिवारका सदस्य हुन्, उहाँहरु सबैलाई सहायता गर्न ठूलो र फराकिलो तरिकाले सोच्नुपर्छ, नेपालले कसैलाइ पछाडि नछोडौं भन्ने अभिप्रायले योजना तय गर्ने नीति लिएको छ, हामीले मन र मस्तिष्कलाई बदलेर लाग्नुपर्छ’, उनले भने।
हरेक बालबालिका कुनै अवरोधबिना विद्यालय जान सक्ने, सरकारी सेवासुविधा पाउनसक्ने र स्वास्थ्य सेवा लिनसक्ने बनाउनुपर्ने उल्लेख गर्दै आवासीय प्रतिनिधि सिङ्गरले लिफ्ट बनाउनु, र्याम्प बनाउनुले मात्रै अपाङ्गतामैत्री सेवा पर्याप्त नभएको भन्दै सेवा प्रवाह पनि अपाङ्गतामैत्री हुनुपर्नेमा ध्यान दिनुपर्ने बताए। समावेशी शिक्षा परिवर्तनको जग हो भन्दै उहाँले अपाङ्गता भएकाहरु पनि अन्य बालबालिकासरह बसेर बढ्न सकुन् भन्ने बताए ।
नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीले समाजमा अपाङ्गता किन बढ्दैछ भनेर सोच्नुपर्ने अवस्था आएको बताए। उनले अपाङ्गताको समस्या र यस सम्मेलनबाट बनेको घोषणापत्र संसद्मा प्रस्तुत गरेर कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।
सांसद राजन दाहालले सम्मेलनमा विचारविमर्शबाट तयार भएको घोषणापत्र कार्यान्वयन गर्न लागिपर्ने बताए। उनले अपाङ्गता भएकाहरुको सहजताका लागि कानुन संशोधन र राज्यलाई जिम्मेवार तथा जवाफदेही बनाउन भूमिका खेल्ने बताए ।
सांसद रेखा यादवले संविधान संशोधनका बेलामा अपाङ्गता भएकाहरुको आवश्यकतालाई सम्बोधन गर्न आवाज उठाउने बताए। उनले अपाङ्गता भएका व्यक्तिहरुलाई आवासीय विद्यालयको व्यवस्थाका लागि आवाज उठाउने भन्दै उनीहरुको समस्या मेरै समस्या हो भन्ने सम्झेर अधिकार सुनिश्चितताका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।
नेत्रहीन युवा सङ्घका अनुसार सङ्घमा आठ सयभन्दा बढी दृष्टिविहीन युवा आबद्ध छन्। देशमा समग्र जनसङ्ख्याको दुई दशमलव १० प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु रहेको सो अवसरमा जानकारी दिइयो। बुधबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्नुभएको सम्मेलन ३४बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4