२१ मंसिर, काठमाडौं। नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०८१ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार विजेताहरूको नाम सार्वजनिक गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष कवि तथा निबन्धकार मोमिला जोशीको अध्यक्षतामा बिहीबार काठमाडौंमा बसेको कार्यसमितिको बैठकले सम्मान तथा पुरस्कारका लागि नामहरूको घोषणा गरेको हो ।
अमूल्य राष्ट्रिय कलाश्री सम्मानका लागि वरिष्ठ संस्कृतिविद् तथा शिक्षासेवी प्राध्यापक डाक्टर वीणा पौड्याललाई चयन गरिएको छ । यसैगरी राष्ट्रिय कलाश्री पुरस्कार कवि तथा साहित्यिक अभियन्ता विश्वविमोहन श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।
राष्ट्रिय कलाश्री पुरस्कारको राशि ताम्रपत्रसहित एक लाख रुपैयाँ छ ।
यसैगरी स–सिद्धी राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि तथा अनुवादक चन्द्र गुरुङलाई र बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार अनलाइनखबर डटकमका सम्पादक तथा उपन्यासकार वसन्त बस्नेतलाई प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको छ ।
थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार प्रयोगवादी युवा चित्रकार सुनिल सिग्देललाई तथा पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार लोकगायक तथा संकलक कमलीकान्त भेटवालाई प्रदान गर्ने निर्णय गरेको प्रष्तिठानले जनाएको छ ।
राष्ट्रिय कलाश्री पुरस्कारमा ताम्रपत्रसहित एक लाख रुपैयाँ, स-सिद्धी राष्ट्रिय कलाश्री युवा पुरस्कारमा ७५ हजार रुपियाँ, थिरछाया कलाश्री राष्ट्रिय ललितकला पुरस्कारमा ६० हजार रुपियाँ र अन्य पुरस्कार ताम्रपत्रसहित ५०–५० हजार रुपैयाँ राशि छ ।
प्रतिष्ठानका अध्यक्ष मेमिला जोशीका अनुसार पुरस्कार समर्पण कार्यक्रम माघ महिनाको अन्त्यतिर काठमाडांैमा आयोजना गरिने छ । प्रतिष्ठानले कलाश्री सम्मान र पुरस्कारहरू विगत १६ वर्षदेखि निरन्तर समर्पण गर्दै आएको छ ।
प्रतिक्रिया 4