२१ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्लो समय पूर्वाधार अनुगमन कार्यलाई तिव्रता दिँदै आएको छ ।
उपप्रमुख सुनिता डंगोल संयोजक रहेको अनुगमन समितिले सडक, सडक किनारा, ढल निकास, भवनजस्ता भौतिक पूर्वाधारको गुणस्तर र दिगोपनाका लागि पूर्वाधार अनुगमन कार्यलाई तीव्र बनाएको हो ।
पछिल्लो समय नियमित अनुगमन गर्दै आएको उपप्रमुख डंगोल नेतृत्वको समितिले आज पनि नियमित अनुगमनकै क्रममा पुनर्निर्माण भइरहेको सानो गौचरण स्टेडियम अनुगमन गरेको छ ।
करिब एक साताअघि मात्रै शिलान्यास गरेर पुनर्निर्माण भइरहेको स्टेडियम अनुगमन गर्न उपप्रमुख डंगोल आज सहरी योजना आयोग उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी सहित सानो गौचरण पुग्दा त्यहाँ काम धमाधम भइरहेको थियो ।
२२ करोड ९५ लाख ९३ हजार ९ सय ९९ रुपैयाँ बराबर लागत अनुमान गरिएको र बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८ सय २७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनर्निर्माण गरिरहेको गौचरणमा डंगोल सहितको अनुगमन टोली पुग्दा कतै गिट्टी–बालुवाका पहाड थिए भने कतै फलाम असरल्ल थिए ।
कामदार काममा व्यस्त देखिन्थे ।
चैत २०८२ सम्म सक्ने गरी काम धमाधम भक्ष्रहेको निर्माणस्थलमा पूर्व जानकारीबिना नै डंगोल सहित अनुगमन टोली पुग्दा केहीबेर अन्योल छाएको थियो ।
प्राविधिक सहित टोली लिएर डंगोल त्यहाँ पुगेपछि त्यहाँका राखिएका बालुवा, गिट्टी, रड सबैको अनुगमन गरिएको थियो ।
अनुगमन क्रममा त्यहाँ राखिएको बालुवा कम गुणस्तरको देखिएपछि उपप्रमुख डंगोलले तत्कालै निर्देशन दिँदै ढलान कार्यमा रोक लगाइन् । अन्य सामग्रीको भने ल्याब टेस्ट गर्न पठाइएको थियो ।
‘२८ वटा चार पाङ्ग्रे र १ सय ७८ वटा २ पाङ्ग्रे सवारीसाधन अट्ने क्षमताको पार्किङ रहेको यो स्टेडियम १ हजार ५ सय दर्शक क्षमताको छ,’ डंगोलले भनिन्, ‘यो विशेष महत्त्वको संरचना पनि हो । त्यसैले हामीले यहाँ विशेष महत्त्व दिएर अनुगमन गरेका हौं ।’
डंगोलले सानो गौचरण अनुगमन पनि नियमित भएको जानकारी दिइन् । ‘हामी अनुगमनमा पूर्व जानकारीविना नै जाने गरेका छौं । आज पनि हामी पूर्व जानकारीविना नै त्यहाँ पुगेका थियौं । प्राविधिक टिमसहित त्यहाँ पुगेर अनुगमन गर्दा कम गुणस्तरको बालुवा राखेको पायौं । अनुगमनपछि त्यो बालुवा प्रयोग गरेर ढलान गर्न रोक लगाएका छौं,’ उनले भनिन्, ‘अन्य सामग्री हामीले ल्याब टेस्टका लागि पठाएका छौं।’
उनले अनुगमनका काम परियोजना सम्पन्न भएपछि मात्रै होइन, परियोजना सुरु हुँदै गर्दा पनि गर्नुपर्छ र त्यसले गुणस्तरीय संरचना निर्माणमा सहयोग पुग्छ भनेर निर्माण पूर्व पनि अनुगमन नियमित गर्दै आएको डंगोलले बताइन् ।
‘सानो गौचरणको नमुना मात्रै हो । हामीले अरू ठाउँमा पनि अनुगमन नियमित गर्दै आएको हौं । सानो गौचरण अझ महत्त्वपूर्ण भएकाले त्यहाँ पनि गएका हौंं,’ उनले भनिन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4