+
+

पन्चेन लामाको नभएको नेपाल भ्रमण

सरकार भन्छ-चिनियाँ धर्मगुरु पन्चेनलाई ल्हारक्याल लामाले डाकेर विवाद मच्चाए । ल्हारक्याल भन्छन्– ‘यो प्रधानमन्त्रीभन्दा तल्लो तहबाट सोच्न सक्ने पनि कुरा होइन ।’

बसन्त बस्नेत बसन्त बस्नेत
२०८१ मंसिर २७ गते २१:४३

२७ मंसिर, काठमाडौं । ल्हारक्याल लामालाई सबैले नजिक राख्छन्, तर कसैले पनि विश्वास गर्दैनन् ।

ल्हारक्याललाई कांग्रेसले गुम्बा विकास समिति अध्यक्ष बनायो । एमालेले सांसद र राज्यमन्त्री बनायो । माओवादीले लुम्बिनी विकास कोषको उपाध्यक्ष बनायो । तत्कालीन संस्कृति मन्त्री सुदन किरातीले ल्हारक्याललाई एउटा संज्ञाबाट विभुषित नै गरेका थिए– ‘उहाँ त राष्ट्रिय सहमतिको मान्छे ।’

यिनै ल्हारक्याल निरन्तर विवादमा परिरहन्छन् – कहिले विश्व शान्तिको कामना गर्ने बौद्ध भिक्षु बनेर, कहिले लकरमा बन्दुकका गोली राखेर ।

पोहोर फागुनमा दलाई लामा ल्याउन कस्सिएका लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल नै भोलि शुक्रबारका लागि निर्धारित कार्यक्रममा तिब्बती धर्मगुरु पन्चेन लामा पनि ल्याउन अघि सरेका थिए । उनका दुवै प्रयास नेपालले लिँदै आएको तटस्थताको नीतिलाई चुनौती दिने खालका थिए, र दुवैमा उनी असफल दरिए ।

तिब्बतबाट भारत निर्वासित बौद्ध धर्मगुरु दलाई लामाको विकल्पमा चीनले पन्चेन लामालाई अघि सार्दै आएको छ । कतिपयले उनलाई दलाई लामाका उत्तराधिकारी मान्ने गरे पनि चीनले उत्तराधिकारी नभई वैकल्पिक बौद्ध सम्प्रदायको अगुवाका रुपमा मान्यता दिने गर्छ । तिब्बतका आठवटा बौद्ध सम्प्रदायमध्ये मुख्य दुई अगुवा लामा छन्, दलाई र पन्चेन । चीनले विगतमा दलाईले तिब्बतको राज गर्ने परिवारसँग जोडिँदा पन्चेन चाहिँ तिब्बती जनतासँग जोडिएको भनेर विश्वास गर्दै आएको छ ।

र, समयक्रमसँगै दलाई लामाका अवतारजस्तै पन्चेन लामाका अवतार पनि फेरिन्छन् । सन् १९९५ देखि पछिल्लो पन्चेन लामाको भूमिकामा खडा गरिएका ग्यात्सेन नोर्बुलाई नेपाल ल्याउन ल्हारक्यालले गरेको तयारी सरकारले निस्तेज पारिदिएको हो ।

‘धार्मिक विषय देखाएर नेपाललाई नै भूराजनीतिक जोखिममा पारिदिन खोज्नुभयो उहाँ (ल्हारक्याल) ले,’ उच्च सरकारी अधिकारीले बिहीबार अपराह्न अनलाइनखबरसँग भने, ‘सुरुमा त हामीलाई यी सबै कुरा जानकारी नै थिएन । लुम्बिनीमा एउटा कार्यक्रम हुन्छ मात्रै भनिएको थियो ।’

तर ल्हारक्याल भने यो टिप्पणी सिधै खारेज गर्छन् । ‘चीनको उपराष्ट्रपति लेभलको मान्छे हो पन्चेन, १५० जना त सेना नै लिएर हिँड्छन्, यो मैले सक्ने कुरा हो ?’ अनलाइनखबरसँग बिहीबार साँझ कुरा गर्दै ल्हारक्यालले पन्छाए, ‘यो प्रधानमन्त्री भन्दा तल्लो तहबाट सोच्न सक्ने पनि कुरा होइन । बरु प्रधानमन्त्रीज्यू बेइजिङमा जाँदा अस्ति केही कुरा भयो कि ?’

ल्हारक्याल लामा

शुक्रबारदेखि लुम्बिनीमा सुरु हुने नानहाई बुद्धिजम कन्फ्रेन्समा भाग लिन चीन, थाइल्यान्ड, श्रीलंका, कम्बोडिया, भियतनाम, म्यानमार, बंगलादेश, मंगोलियासहित २० देशका धर्मगुरु, प्रतिनिधि काठमाडौं र लुम्बिनी आइसकेका छन् । ल्हारक्यालले यो संवाददातासँग बताए अनुसार उनको चाहना २८ देशका धर्मगुरु ल्याउने थियो । याद रहोस्, यो आयोजनामा भारतका धर्मगुरु भने सामेल छैनन् । तर चीनका मात्रै २२७ धर्मगुरु सामेल छन् ।

पन्चेन लामा नआए पनि चिनियाँ कम्युनिष्ट पार्टीको हाइनान प्रान्तीय युनाइटेड फ्रन्ट वर्क विभागका उपमन्त्री वाङ यु चोङ नेतृत्वको भ्रमणमण्डल बिहीबार काठमाडौं आइसकेको छ । खासगरी यो आयोजना नै वास्तवमा हाइनानकै तर्फबाट भएको हो । यति धेरै भिक्षु एकैपल्ट आउन लागेपछि पन्चेन पनि त्यसैमा सामेल भएर आइपुग्ने हुन् कि भनी सरकार सतर्क भयो । बुधबार रातिसम्म गृहमन्त्री लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, परराष्ट्र मन्त्रालयका सचिव अमृत राई यही विषय निप्टारा लगाउन खटिए । सबै भिक्षुका नाम एक एक पढिए र तिनको वतन खोजी भयो ।

शुक्रबार बिहान याक एन्ड यती होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भनी तय गरिएको नानहाई बुद्धिज्म राउन्ड टेबलमा संस्कृति पर्यटनमन्त्री रहेका कांग्रेस नेता बद्री पाण्डेलाई पनि निमन्त्रणा दिइएको थियो, तर उनी व्यस्तता देखाएर छड्किए ।

राउन्डटेबलमा भाग लिन आइपुगेका चिनियाँ उपमन्त्री वाङ हाइनान प्रान्तीय सरकारको धार्मिक मामिला ब्युरो निर्देशक पनि हुन् ।

राउन्डटेबल सकिएको भोलिपल्ट अर्थात् शनिबार साँझ पाँच बजे लुम्बिनीमा एक विशेष पूजाको आयोजना गरिएको छ, जहाँ पन्चेन लामा पु¥याउने कार्यसूची तय गरिएको थियो । पन्चेन चाहिँ चीनको बुद्धिस्ट फेडेरेशनका केन्द्रीय उपाध्यक्ष हुन् । पन्चेन बेगर नै डेढ घन्टासम्म पूजा चल्ने ल्हारक्यालले बताए ।

लुम्बिनीमा हुने कार्यक्रममा भाग लिन चीनको ग्वान्डोङ प्रान्तका जातीय तथा धार्मिक मामिला आयोग उपनिर्देशक जोङ स्याओहुई नेतृत्वको अर्को भ्रमणमण्डल पनि आइपुगेको छ ।

‘पन्चेन लामा आउनुहुन्छ नै भन्ने पक्का त थिएन, तर यहाँबाट विभिन्न पक्षले गरेका प्रयासहरुबारे सरकारले समयमै थाहा पायो,’ ती उच्च सरकारी अधिकारीले भने, ‘सुरक्षा संवेदनशीलता र अन्य पक्ष बुझेपछि गृहमन्त्री रमेश लेखक नै अहिले भ्रमण हुन लागेको हो भने त्यसो नगरौं भन्न थाल्नुभयो । चिनियाँ पक्षसँग उहाँ आफैंले संवाद गरेर धार्मिक संवेदना जोडिएको कार्यक्रम देखाएर विवाद सिर्जना नगरौं भन्नुभएको थियो ।’

गृहमन्त्री लेखकले तारन्तार कुरा गरेपछि चिनियाँ पक्ष धार्मिक गुरु पन्चेनलाई नेपाल पठाउनबाट रोकिएको उच्च सूत्रले बतायो । यसअघि थाइल्यान्ड भ्रमण गर्ने हुँदा पन्चेन लामा विवादमा तानिएको पक्षलाई पनि नेपाली पक्षले चिनियाँ अधिकारीसामु स्मरण गराएको बुझिएको छ ।

माथि नै भनिसकियो, जसरी यसपल्ट पन्चेन लामाको भ्रमण गराउन खोजियो, त्यसैगरी पोहोर फागुनमा निर्वासित धर्मगुरु दलाई लामा ल्याउने प्रयास भएको थियो । यिनै ल्हारक्याल त्यस प्रयासमा जोडिएका थिए ।

अनौठो के छ भने तटस्थ भूमि नेपालमा एउटै व्यक्तिले दलाई ल्याउनु र पन्चेन ल्याउनु भनेका दुई असंगत र असम्भव गतिविधि हुन्, तर ल्हारक्याल भने यस्तो जोखिम समेत निर्धक्क लिन खोजिरहेका थिए । आफ्नो प्रयासलाई सक्दो ‘सिर्जनशील’ बनाउँदै उनले १२ भन्दा बढी नोबल पुरस्कार विजेताको एकैपल्ट आगमन गराउन खोजेका थिए, दलाई तिनैमध्ये एक नोबल बिजेताका रुपमा लुम्बिनी आउन तयार थिए ।

दलाइ लामा

ल्हारक्याल भने उक्त कार्यक्रममा दलाई लामा ल्याउने प्रयास नै नभएको भन्दै पन्छिन्छन् । ‘मैले नोबल विजेताहरुलाई ल्याउन खोजेको हो, तर केन्द्रमा सरकार ढलेपछि मुख्यमन्त्री डिल्ली चौधरीजी नै हट्नुभयो,’ उनले भने, ‘चिनियाँ राजदूतले लुम्बिनी नै पुगेर यो कार्यक्रम नगरौं भन्नुभएपछि मैले कसरी गर्ने ?’

तत्कालीन लुम्बिनी प्रदेशले पोहोर फागुन २७ अर्थात् १० मार्च २०२४ मा आयोजना गर्ने भनिएको ‘बालबालिका, विकास र शान्तिका लागि लुम्बिनी शिखर सम्मेलन’ आयोजना तयारी गरेको थियो । तत्कालीन मुख्यमन्त्री डिल्ली चौधरी यसमा अग्रसर भएका थिए ।

सोही कार्यक्रममा दलाई लामा ल्याउने कोसिसमा थियो अमेरिकी गैरसरकारी संस्था लरेट एन्ड लिडर्स । हाल भारतको धर्मशालामा निर्वासित दलाई लामा उक्त अमेरिकी संस्थाका एक संस्थापक हुन् । याद गर्नुपर्ने के छ भने मार्च १० त्यो ऐतिहासिक मिति हो, जुन मितिमा दलाई लामाले चीनविरुद्ध विद्रोहमा ओर्लिन तिब्बती बौद्धमार्गीहरुलाई अपिल गरेका थिए । अर्थात् सन् १९५९ को १० मार्चमा जारी दलाई लामाको अपिलबाट थालिएको विद्रोह प्रयासलाई चिनियाँ कम्युनिस्ट सत्ताले मत्थर पारिदिएको थियो ।

त्यसपछि दलाई लामाका थुप्रै समर्थक नेपाली भूमिसमेत प्रयोग गर्दै भागेका थिए । धेरैजसो भारत र तेस्रो देश पुगे पनि कतिपय भने नेपालमै बस्न पुगे ।

नेपालले धार्मिक तटस्थताका नीति अपनाउँदै दलाई लामा समर्थकको सक्रिय गतिविधिमा बन्देज लगाएको छ । एक चीन नीतिमात्रै नभई पछिल्ला वर्षमा एक नीति सिद्धान्तमै सहमति जनाइसकेको नेपालले तिब्बती धर्मगुरु दलाई लामा होइन, कम्युनिस्ट पार्टीले नेतृत्व दिएको चिनियाँ सत्ताले मान्यता दिएका धर्मगुरु पन्चेन लामालाई मान्यता दिने हो कि भन्ने संशय अमेरिकीहरुले गरिरहेका थिए ।

प्रधानमन्त्रीलाई चिनियाँहरुले शनिबार साँझ लुम्बिनीमा आउन निम्ता दिए पनि विभिन्न पक्षको कुटनीतिक चासोलाई सम्बोधन गर्दै ओली नजाने बुझिएको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले पन्चेन लामाका लागि नरम नीति लिने उनीहरुको आशंका थियो । यो स्वभाविक पनि थियो, किनभने चिनियाँ राज्यले मान्यता दिएका गुरुलाई नेपालले मान्यता दिन सक्दैन भनेर ठान्न पश्चिमी कुटनीतिज्ञहरु सक्दैनथे । प्रधानमन्त्रीलाई चिनियाँहरुले शनिबार साँझ लुम्बिनीमा आउन निम्ता दिए पनि विभिन्न पक्षको कुटनीतिक चासोलाई सम्बोधन गर्दै ओली नजाने बुझिएको छ ।

उच्च सरकारी स्रोतले अनलाइनखबरसँग बिहीबार दिउँसो कुरा गर्दै चार्टर्ड फ्लाइटमा पन्चेन आउने भनिएपछि सबै आगन्तुकको नाम मगाएर अध्ययन गरिएको  पुष्टि गर्यो ।

दलाई लामाको फरक फरक अवतार उदय हुने गरेजस्तै पन्चेन लामाको पनि फरक अवतार आउने गरेका छन् । ग्यात्सेन नोर्बु नामक धर्मगुरुलाई सन् १९९५ यता पन्चेन लामाको मान्यता दिइएको छ । उनीअघिका पन्चेन लामा अर्थात् गेदुन चोकी निमालाई भने सानैमा बेपत्ता पारिएको आरोप चीन सरकारमाथि लाग्दै आएको छ ।

यसअघि पन्चेन लामाले थाइल्यान्ड भ्रमण गर्दासमेत बौद्धमार्गी सम्प्रदायमा ठूलो विवादको विषय भएको थियो ।

पन्चेन लामा नेपाल आएमा त्यो बुद्धमार्गी अभ्यासमा चिनियाँ प्रभाव बढेको स्वीकार्नुपर्ने अवस्था आउने भन्दै नेपालसामू अन्तर्राष्ट्रिय दबाब बढेको स्पष्ट हुन्छ । यस्तो अवस्थामा ल्हारक्याल किन चिनियाँ धर्मगुरु बोलाउन तयार भए होलान् ?

त्यसैले ल्हारक्याललाई फेरि सोधियो, ‘तपाईंले ल्याउन खोजेको होइन भने पन्चेन लामालाई कसले ल्याउन खोजेको हो ?’

‘विगत १० वर्षदेखि नै पन्चेन आउन खोजेका हुन्, सन् २०१५, ०१७, ०१८ मा लुम्बिनी आउन उनको तर्फबाट पत्र नै आएको छ,’ ल्हारक्यालले भने, ‘गोकर्ण रिसोर्टमा गंगा दाहालजीको छोरीको बिहेमा प्रधानमन्त्रीज्यूलाई भेट्दा मैले सोधेँ पनि । उहाँले पनि केही भन्नुभएन । हेर्नुस्, यहाँ अन्तर्राष्ट्रिय लेभलको पोलिटिक्स हुन्छ । सबै कुरा मलाई पनि थाहा हुँदैन । तर पन्चेन आउँदा सुरक्षा दिन सकिँदैन कि भन्ने कुरा चाहिँ टप लेभलमा भएकै हो ।’

कुटनीतिज्ञ महेश मास्के भने धार्मिक भ्रमणहरुलाई सद्भावनाकै रुपमा विकास गर्नुपर्नेमा ध्यान दिन आग्रह गर्छन् । उनले तिब्बतमा दलाई लामा र पन्चेन लामा देखाएर कतिपय देशमा गलत तर्क फैलाउने गरिएको भन्दै पक्षपाती नभई इतिहास चिहाउन आग्रह गरे । अनि भूराजनीतिक मामिलाहरुमा धार्मिक विषय नउछाल्न पनि सल्लाह दिए ।

‘धार्मिक संस्थाहरुले गर्ने कार्यक्रम, अनि त्यसमा हुने आगमनबाट कसरी सद्भाव विकास हुन सक्छ भन्नेमा सम्बन्धित पक्षहरुले ध्यान दिनुपर्यो,’ मास्के भन्छन्, ‘सद्भाव बढाउन लाग्नुपर्नेमा द्वन्द्व बढाउनतिर लाग्नुभएन ।’

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?