+
+

दर्ता भएका कम्पनीबाट मात्रै घरजग्गा कारोबार गर्ने कानुन छिट्टै कार्यान्वयनमा आउँछ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २८ गते १७:४६

२८ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अनुमति दिएर दर्ता भएका कम्पनीहरू मार्फत मात्रै घरजग्गा खरिद बिक्री गर्ने कानुन छिट्टै कार्यान्वयनमा ल्याउने बताएका छन् ।

शुक्रबार नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभामा मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले सरकारले अनुमति प्राप्त कम्पनीहरूबाट मात्रै घरजग्गा कारोबार हुने ऐन बनाए पनि कार्यान्वयनको लागि नियमावली आवश्यक रहेको बताए ।

अर्थमन्त्री पौडेलले उक्त नियमावली चाँडै बनाएर ऐन कार्यान्वयन गर्ने पक्षमा सरकार रहेको उल्लेख गरे । उनले ब्रोकर लिएर मात्रै घरजग्गाको कारोबार गर्न पाउनुपर्ने व्यवसायीहरूको मागमा सरकार सकारात्मक रहेको बताए ।

निजी क्षेत्रलाई ल्यान्डपुलिङ

निजी क्षेत्रलाई ल्यान्डपुलिङको मान्यता दिने विषयमा सरकारले सोचिरहेको अर्थमन्त्री पौडेलको भनाइ छ ।

अर्थमन्त्री पौडेलले जग्गा हदबन्दी व्यवस्थाले विगतमा उपयुक्त काम गरे पनि अब समयानुकूल कानुन संशोधन आवश्यक रहेको बताए ।

उनले हदबन्दी व्यवस्थाले कृषि व्यवसाय गर्न, सौर्य ऊर्जाको काम गर्न धेरै समस्या देखिएको भन्दै त्यसलाई समाधान गर्न सरकार तयार रहेको बताए ।

अर्थमन्त्री पौडेलले घरजग्गा व्यवसायमा देखा परेका समस्या अध्ययन गरी सरकारले सहयोग गर्ने र धराशायी हुन नदिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?