
१४ पुस, काठमाडौं । अखिल क्रान्तिकारीमा उमेर हदको प्रस्तावमाथि शनिबार भएको मतदानको नतिजा सार्वजनिक गर्ने विषय विवादित बनेको छ ।
गणना अन्तिम चरणमा पुगेपछि शनिबार राति एकाएक परिणाम सार्वजनिक कार्य स्थगित गरिएएको थियाे ।
मुख्य निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले सूचना जारी गरी परिणाम सार्वजनिक कार्य रोकिएको जानकारी दिएका थिए । ‘… मतदान केन्द्रहरूबाट निर्वाचनसम्बन्धी कागजपत्रहरू प्राप्त हुन बाँकी भएकोले उक्त कागजातहरू प्राप्त भएपश्चात् मात्र मत गणनाको पूर्णताले प्राप्त गर्ने हुँदा तत् पश्चात मतगणना परणाम सार्वजनिक गरिने व्यहोरा सम्बद्ध सबैलाई अवगत गराउन चाहन्छौं,’ सूचनामा भनिएको थियो ।
क्रान्तिकारीका नेताहरूका दाङ, गुल्मी, बाजुरा, मोरङलगायत जिल्लाहरूबाट मतगणनामा शंकासहित उजुरी परेकाले अन्तिम परिणाम सार्वजनिक कार्य रोकिएको हो ।
तर, आइतबार साँझसम्म पनि निर्वाचन समितिले यो विषय टुंग्याउन सकेन । ‘हामी यही विषय टुंग्याउने छलफलमा छौं, चाँडै टुंगिन्छ,’ निर्वाचन समिति सदस्य उत्तम अधिकारीले भने ।
अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले पनि निर्वाचन समितिको छलफल चलिरहेकाले चाँडै अन्तिम निर्णय आउने बताए । ‘निर्वाचन समितिबाट यो विषय टुंग्याउने प्रक्रिया चलिरहेको छ, त्यहींबाट निर्णय हुने हो’, शर्माले भने ।
अखिल क्रान्तिकारीका नेताहरू भने अन्तिम मतपरिणाम घोषणा रोकिनु प्राविधिक विषय मात्र नभएको बताउँछन् । ‘यो विषय नेताहरूले परिणाम आफ्नो पक्षमा पार्न गरेको राजनीतिक कुरा हो, त्यसैले प्राविधिक प्रयत्नले मात्र समाधान निस्कँदैन,’ एक नेताले भने ।
मतपरिणाम सार्वजनिक नगरी आइतबार दिनभर मूलपार्टी नेकपा माओवादी केन्द्रका पदाधिकारीहरूको छलफल हुनुले पनि यो राजनीतिक विषय भएकै पुष्टि हुन्छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्र समाधान गर्न नसकेपछि पदाधिकारीकै बैठक बोलाइएको थियो ।
क्रान्तिकारीका इन्चार्ज शर्मा पनि पार्टीको पदाधिकारी बैठकमा रोकिएको मतपरिणामबारे छलफल भएको बताउँछन् । ‘त्यो पदाधिकारी बैठक केन्द्रीय समितिबारे छलफल गर्नलाई बसेको हो । तर यो विषयमा (रोकिएको मतपरिणाम) पनि चासो हुने नै भयो,’ शर्मा भन्छन् ।
अन्तिम समयमा उजुरी पर्ने र उजुरी पर्ना साथ निर्वाचन समितिबाट हठात् चालिएका कदमप्रति उमेर हद राख्नुपर्ने पक्षधर नेताहरूले आपत्ति जनाएका छन् ।
मतपरिणाम सार्वजनिक नगर्ने गरी उजुरी पर्नुलाई उनीहरूले षडयन्त्रका रूपमा टिप्पणी गरिरहेका छन् । ‘हरेक मतदान केन्द्रमा निर्वाचन अधिकृत तोकिएको थियो, उहाँहरूले गणना गरेर पठाएपछि भयो नि !’ अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष क्षितिज सापकोटा भन्छन्, ‘मतदानमा समस्या थिएन, गणनामा समस्या भएन अब नतिजा थाहा भइसकेपछि बखेडा निकालियो । यसले त हाम्रा कतिपय साथीहरूमा आफू नहुँदा अग्रगामी एजेण्डा के काम जस्तो सोच देखियो ।’
अखिल क्रान्तिकारीले संगठनमा ३२ वर्षे उमेर हद राख्ने वा नराख्ने भन्ने प्रस्तावमा ७७ जिल्ला र गैरभौगोलिकसहित ८६ मतदान केन्द्रमा शनिबार मतदान भएको थियो ।
यो प्रावधान नटुंगिएसम्म अखिल क्रान्तिकारीको सम्मेलन अगाडि बढ्ने अवस्था छैन । गत १०–१५ असोजमा चलेको २३औं राष्ट्रिय सम्मेलनमा पनि यो विषयमै सहमति नजुट्दा नेतृत्व चयन हुन सकेको थिएन ।
उमेर हद राख्नुपर्ने र नहुने पक्षको अडानका कारण तोडफोडकै अवस्था आएपछि असोजमा उद्घाटन भएको सम्मेलन नेतृत्व चयन नगरी स्थगित गरिएको थियो ।
उमेर हद राख्नुपर्ने तर्कलाई पञ्छाउन नसक्ने र उमेर हद राख्दा लामो समयदेखि संगठनमा रहेका नेताहरू बाहिरिने परिस्थितिका कारण यो विषय जटिल बनेको थियो ।
यदि उमेर हद लागु भए निवर्तमान महासचिव दीपेश पुन नेतृत्व होडबाट बाहिरिनेछन् । उनीसँगै उपाध्यक्षहरू सबै बिदा हुनेछन् ।
३२ वर्ष नाघेकाले कमिटीबाट बाहिरिनेमा उपाध्यक्षहरू इन्द्र भुसाल, नरेश रेग्मी, पवन कार्की, मदन भूल, मदन भट्टराई, नारायण खनाल, जीपी मैनाली, क्षीतिज सापकोटा, केशव रावल, अच्यूत भट्ट, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रवीणा अधिकारी, सूर्यनारायण साह, गजेन्द्र देव नेतृत्वको होडबाट बाहिरिनेछन् ।
उमेर हद पारित भएको अवस्थामा अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष पदमा निवर्तमान कमिटीका उपमहासचिव वा त्यो भन्दा तल्लो वरियताका नेताहरूबीच प्रतिस्पर्धा हुनेछन् ।
जसका निम्ति उपमहासचिवहरू सुरजसिंह ठकुरी, नारायण बडाल, सुदीन पौडेल, योगेन्द्र बुढा र पार्वती नेगीले अध्यक्ष पदमा आकांक्षी देखाइसकेका छन् । त्यो भन्दा मुनिका वरियताका हेमन्त राई, रोशन थापामगर, राजेन्द्र विष्ट, तिर्सना हमाललगायत पनि अध्यक्ष पदका आकांक्षी छन् ।
यी दुई सम्भावनाकै कारण उमेर हदको प्रस्ताव अखिल क्रान्तिकारीमा पेचिलो बन्यो, जसलाई टुंग्याउन देशभरका प्रतिनिधिबाट मतदानको विकल्प रोजिएको थियो । तर, मतदान सकिएपछि भने माओवादी पार्टी र अखिल क्रान्तिकारीको लोकतान्त्रिक प्रक्रियाप्रतिको प्रतिबद्धतामै प्रश्न उठ्ने गरी विवाद देखियो ।
निवर्तमान उपाध्यक्ष क्षीतिज सापकोटा पनि प्रतिनिधिबाट खसेको परिणाम नस्वीकार्ने संकेतले लोकतान्त्रिक प्रतिबद्धतामाथि प्रश्न उठ्ने बताउँछन् । ‘लोकतान्त्रिक प्रक्रिया स्वीकार्ने भनेको त खसेको मतगणना गर्ने र अगाडि बढ्ने हो,’ उनी भन्छन् ।
प्रतिक्रिया 4