नेपालमा हुण्डी कारोबार कहिलेदेखि सुरु भयो भनेर ठ्याक्कै भन्न गाह्रो हुन्छ । मैले २०४६ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गर्दा हुण्डी कारोबारको विषयमा सुनेको थिएँ । त्यतिबेला सुन कारोबार गर्ने व्यक्तिहरू र अन्य ठूला व्यवसाय गर्नेहरू यसमा जोडिएको भन्ने सुनिन्थ्यो । यद्यपि, अहिले जस्तो हुण्डी कारोबारलाई अपराध मानेर गम्भीरता देखाउने गरिंदैनथ्यो ।
सन् १९९० को दशकपछि आतंकवादी गतिविधिमा हुने लगानीको विषयले चर्चा पाउन थाल्यो । आतंकवादी गतिविधिले विभिन्न मुलुक आक्रान्त हुन थालेपछि यो विषय संयुक्त राष्ट्रसंघको तहमा छलफल हुन थाल्यो । विभिन्न मुलुक एकआपसमा मिलेर अन्तरक्रिया गर्न थाले । त्यसपछि आतंकवादको हुण्डी कारोबारसँग सिधा सम्बन्ध रहेको कुरा ठूला फोरमहरूमा बहसको विषय बन्न थाल्यो ।
हुनत पहिलो विश्वयुद्धताका पनि इटालियनहरूले माफिया मार्फत संगठित अपराध गरेर रकम आर्जन गर्ने र त्यसको पेमेन्टका लागि हुण्डीलाई प्रयोग गर्थे भनिन्छ । तर, सार्वजनिक जानकारीमा हुने गरी सबै मुलुकले यसमा गम्भीरता देखाउन थालेको चाहिं ९० को दशकपछि नै हो भन्ने लाग्छ, जतिबेला आतंकवादी गतिविधिमा संलग्नहरूले यो नेटवर्कलाई व्यापक रूपमा प्रयोग गर्न थाले ।
अहिले हुण्डीमा दुई तरिका देखिन्छ । एउटा वैदेशिक रोजगारीमा गएका आम नागरिकले आफ्नो देशमा पैसा पठाउनलाई यो माध्यम प्रयोग गरेको देखिन्छ । हुण्डी मार्फत रकम पठाउन सजिलो पनि हुनेभयो । कागजात, हस्ताक्षर, निश्चित ठाउँमा पुग्नुपर्ने जस्तो झन्झट पनि भएन । यसले वैदेशिक रोजगारीमा गएकाहरूलाई हुण्डीको बाटो सहज भयो ।
पहिले त गाउँघरमा बैंक पनि थिएनन् । त्यसैले पनि हुण्डीको माध्यमको प्रयोग बढ्थ्यो । बैंकिङ प्रणालीमा सबैको पहुँच नभएका बेला यो विधि नेपालमा गाउँ–गाउँसम्म फैलिएको थियो ।
गाउँमा कतिपय परिवारका सदस्यलाई लेख्न, पढ्न आउँदैन, हस्ताक्षर गर्न आउँदैन । केटाकेटी हुन्छन्, घरको काम गर्नुपर्यो । यस्तोमा शहर पुगेर हस्ताक्षर गरेर पैसा ल्याउन परिवारका सदस्यलाई पनि झन्झट लाग्थ्यो । फेरि एउटा व्यक्तिको नाममा आएको पैसा अर्को व्यक्ति गएर भएन, जसरी पनि आफैं जानुपथ्र्यो । औपचारिक च्यानलबाट रकम पठाउँ खर्च पनि बढी लाग्थ्यो । त्यसैले हुण्डी कारोबारले मौलाउने ठाउँ पायो ।
तर, त्योसँगै के भयो भने त्यसरी वैदेशिक रोजगारीमा गएकाहरूको पैसा आपराधिक संगठनहरूले प्रयोग गरे, आतंकवादी समूहदेखि अतिवादी समूहसम्मले कारोबारको माध्यम बनाए । पछि लागूऔषध कारोबारमा पनि हुण्डी जोडिएर आयो । यद्यपि, लागूऔषधको पैसा यति धेरै हुन्छ कि कहिलेकाहीं हुण्डीले पनि पूरा पेमेन्ट गर्न सकिंदैन भनिन्छ । अर्थात्, एक जना श्रमिकलाई घरमा पैसा पठाउन सहज भए पनि त्यसले दूरगामी रूपमा नराम्रो असर पारेको छ ।
हुण्डीको दोस्रो कारण भनेको यसमा व्यापारीहरू जोडिएका छन् । उदाहरणका लागि सुपारी व्यवसायीको कुरा गरौं । नेपालबाट तेस्रो मुलुकको सुपारी भारत लैजान प्रतिबन्ध छ । तर, सुपारी भारत गइरहेको प्रहरीले बेलाबेला समातेका उदाहरणहरूले पनि पुष्टि गर्छन् ।
अब नेपालमा सुपारी किन्ने पैसा यहाँबाट एलसी (लेटर अफ क्रेडिट) खोलेर पठाउन सकिन्न । भारतमा जाने सुपारी भनेको नेपालको भनेर जाने हो । त्यसैले विदेशबाट सुपारी ल्याउनलाई पैसा त तिर्नुपर्यो । त्यो चाहिं अब बैंकिङ च्यानलमा नआई पैसा पठाउने भयो ।
अर्थात्, बैंकिङ च्यानलमा प्रवेश नै नगरी ठूलो कारोबार हुनेभयो । यसरी अनौपचारिक माध्यमबाट ठूलो पैसा मुलुक बाहिर जान्छ । र, त्यो बापतको पैसा पनि औपचारिक च्यानलबाट आउँदैन । रकम लिन पनि हुण्डीकै प्रयोग हुन्छ । अर्थात्, बैंकिङ च्यानलमै नआई एउटा ठूलो कारोबार चलिरहन्छ ।
४० लाख नेपाली विदेशमा छन्, तीमध्ये ३० लाखले पैसा पठाए । अहिले मनी ट्रान्सफर र अरू बैंकिङ च्यानलले गर्दा सजिलो भयो । पहिले ती नहुँदा पनि हुण्डी कारोबार बढेको थियो । अर्को कस्तो देखिन्छ भने कुनै लक्जरी सामान बाहिरबाट नेपालमा व्यवसायीले भित्र्याइरहेका छन् भने त्यसको घटाएर मूल्य कायम गरिन्छ । जस्तै, त्यो सामानलाई विदेशमा २० देखि २२ हजार परेको छ भने बिलमा ५ हजार रुपैयाँ देखाएर ल्याउने गरिन्छ ।
यो भन्सार छल्ने उद्देश्यले गरिएको हो । अब बिलमा नै थोरै देखाएपछि एलसी पनि थोरै पैसाको मात्र खोल्ने भयो । यस्तोमा बाँकी पैसा हुण्डीको माध्यमबाट पठाउने गरेको देखिन्छ ।
मैले अगाडि भने जस्तै हुण्डी कारोबारको रकम आतंकवादी गतिविधिमा प्रयोग भएसँगै विश्वभरिका मुलुकहरूले यसमा ध्यान दिन थाले । नेपाल सरकारले २०६४ सालमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कानून बनायो । गत वर्ष हुण्डी सम्बन्धी कानून पनि ल्यायो । त्यसैले अहिले नेपालमा हुण्डी कारोबारको विषयलाई गम्भीरता दिन थालिएको छ ।
हुण्डी कारोबार बढ्नुको एउटा कारण चाहिं औपचारिक च्यानलबाट पैसा पठाउन डलरमै खाता खोल्नुपर्ने, डलरमै लिनुपर्ने जस्ता केही नियमहरू पनि थिए । त्यसपछि रकम लिंदैपिच्छेका त्यसका छुट्टाछुट्टै प्रक्रियाहरू पनि थिए । यसलाई मानिसहरूले झन्झट मान्ने गरेका थिए ।
हामी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) वा त्यसबेलाको केरकार (अहिले उपत्यका अपराध अनुसन्धान कार्यालय) हुँदा विदेशबाट नेपालमा वैधानिक रूपमा पैसा पठाउने विषयलाई सहज बनाएर हुण्डी कारोबारलाई निरुत्साहित गर्नुपर्छ भन्थ्यौं ।
विदेशबाट पैसा पठाउने प्रक्रिया सजिलो बनाइदिउँ भन्थ्यौं । हुनत पछिल्लो समय मनी ट्रान्सफरहरूको स्थापनासँगै कतिपय सहजता भएको छ । तर, अझै पनि जुन रूपमा हुण्डी कारोबार घट्नुपर्ने हो, त्यो हुनसकेको छैन ।
हुण्डी कारोबारलाई निरुत्साहित गर्न कतिपय देशले रेमिट्यान्सको शुल्क पनि आफैं तिरिदिन्छन् । बैंकिङ च्यानलबाट कारोबार भयो, विदेशबाट पैसा आउँदा आखिर देशलाई पनि त फाइदा हुने हो । त्यसैले निश्चित रकम तिरिदिंदा हुन्छ भन्ने हुन्थ्यो ।
अहिले औपचारिक च्यानलबाट श्रमिकले पैसा पठाउँदा दुवैतिर प्रतिशत तिर्नुपर्छ । पहिले, पहिले लाहुरेहरूले हुण्डी कारोबार गरेर पैसा पठाउन सिकाएका हुन् । उनीहरू विदेशमा हुन्थे ।
परिवारलाई पैसा पठाउन सजिलो हुन्थ्यो, धरान, बुटवल, भैरहवातिर व्यापारी समुदायका मान्छेहरू हुन्थे, विदेशमा त्यहींको मुद्रा दियो भने नेपालमा परिवारलाई तुरुन्तै भुक्तानी दिन्थे । साइन गर्नु परेन, परिचयपत्र परेन । त्यसपछि यसरी पो सजिलो हुने रहेछ भनेर सबैलाई बानी लाग्दै गयो ।
निष्कर्षमा भन्नुपर्दा विदेशबाट पैसा पठाउने हाम्रो प्रक्रिया झञ्झटिलो भयो । यदि प्रक्रिया सजिलो भएको भए वैदेशिक रोजगारीमा जानेले पनि घर पैसा पठाउन अरू विकल्प हेर्नुपर्ने थिएन । त्यसैले यो हुण्डी कारोबार कम गर्न सकिएको छैन ।
(अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कार्कीसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित । उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का पूर्वनिर्देशक समेत हुन् ।)
प्रतिक्रिया 4