सामान्य रूपमा कुनै हुण्डी कारोबार भनेको बैंकिङ च्यानललाई बाइपास गरेर अनौपचारिक माध्यमबाट पैसाको ओसारपसार गर्ने वा एकअर्को ठाउँमा लैजाने एउटा प्रणाली हो । यसरी हुने कारोबार बैंकिङ च्यानलभित्र नआउने हुँदा यसलाई अवैध मान्ने गरिन्छ ।
हुण्डीलाई ऐतिहासिक तबरमा हेर्ने हो भने यो मूलतः दक्षिणएशियामा अन्यत्रभन्दा बढी प्रयोग भइरहेको अनौपचारिक आर्थिक कारोबारको विधि हो । मैले अध्ययन गरे अनुसार; नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायत दक्षिण एशियाली मुलुकमा जति अनौपचारिक माध्यमबाट आर्थिक कारोबार हुन्छ, त्यति अरू मुलुकमा हुँदैन ।
हुण्डी कारोबार पैसाको आदानप्रदान गर्ने, ट्रान्सफर गर्ने परम्परागत शैली हो । पहिले हामी ‘ट्रान्स हिमालय टे«ड’ भन्थ्यौं– तिब्बती, भारत र नेपालको जुन व्यापारिक रुट थियो– त्यो बेला पनि यस्ता खाले अभ्यासहरू हुन्थे ।
कारोबारलाई औपचारिक प्रणालीले नचिन्ने, तर पैसा आदानप्रदान भइरहने एउटा पुरानो प्रणाली हो, हुण्डी । यसका केही निश्चित विशेषता हुन्छन् । यो विश्वासमा आधारित र व्यक्तिगत सानो सञ्जालमा चलिरहेको हुन्छ । रेमिट्यान्स भन्ने अवधारणा आउनुअघि नै हुण्डीको अभ्यास थियो, त्यसैले यो पैसा आदानप्रदानको पुरानो विधि पनि हो ।
हुण्डी एउटा देशभित्रै पनि नहुने होइन । तर, अहिले हामी आफ्नो देशबाट आफ्नै देशमा लैजाने होइन, अन्तरदेशीय कारोबारलाई बढी ध्यान दिन्छौं । जस्तै, दक्षिण कोरिया र नेपालमा अनौपचारिक प्रणालीबाट पैसा आदानप्रदान भइरहेको छ । अमेरिकामा गइरहेको छ ।
नेपालमा कुनै बेला यो अवैध हो कि वैध भन्ने कुराले अर्थ नै राखेन । तर, जब नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीमा गएकाहरूले पठाउने रेमिट्यान्सको हिस्सा बढ्न थाल्यो, त्यसपछि यसबारे धेरै चर्चा हुन थालेको हो । सन् १९९२–९४ भन्दा अगाडि नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको योगदान एकदम कम छ ।
माओवादी आन्दोलन सुरु भएपछि तत्कालीन सरकारले नेपालका युवालाई विदेश पठाइदियो भने एकातिर रेमिट्यान्स पनि आउँछ, अर्कोतिर आन्दोलनमा युवाको प्रयोग पनि कम हुन्छ भन्ने नीति बनाउन थाल्यो । किनभने, २०४६ साल अघिसम्म त आमनागरिकलाई राहदानी पाउनै एकदम सकस पर्थ्यो ।
अर्थतन्त्रमा पारेको असर
यसले हाम्रो अर्थतन्त्रमा कसरी फरक पारिरहेको छ भने कुनै एउटा सामान तपाईंले कोरिया र नेपालबीच कारोबार गर्नुहुन्छ र तपाईंले खरिद गर्दा त्यो सामग्रीको एमआरपी एक लाख रुपैयाँ छ । तर, तपाईंले नेपालबाट १० हजार रुपैयाँ मात्रै भनेर एलसी खोल्नुहुन्छ ।
त्यो भएपछि राज्यलाई आउने भन्सारको रकम कम हुनेभयो । तर, बाँकी रहेको ९० हजार तपाईंले हुण्डी मार्फत पठाइदिनुहुन्छ । हुण्डी कारोबारीहरूले आफ्नो च्यानलबाट पैसा पठाउँदा बैंकिङ प्रणालीभन्दा दुई तीन प्रतिशत बढी नै पैसा दिने पनि भए । न्यून भन्सार र कम रकमले सम्बन्धित व्यक्तिलाई फाइदा बढ्ने भयो ।
अर्को चाहिं कस्तो देखिएको छ भने काठमाडौंमा घर भएको कोही सरेर अष्ट्रेलिया वा अमेरिका जाने भयो भने उसले वैधानिक च्यानलबाट रकम पठाउन सक्दैन । त्यस्तोमा उनीहरूले हुण्डीको माध्यम प्रयोग गर्छन् । यहाँ घर बेचेर आर्जित रकम यहींका एजेन्टलाई दिन्छन्, त्यसबापत विदेशमा भुक्तानी लिन्छन् ।
अहिले तपाईं जति पनि मध्यम वर्गीय मानिसहरूले विदेशमा पैसा लगे भन्ने सुन्नु हुन्छ, ती सबैले हुण्डी बाहेक अरू तरिकाले पैसा लैजान सक्दैनन् । पासपोर्टबाट उल्लेख गरेर लैजान मिल्ने पैसा त एकदम कम छ । त्यसैले हुण्डीको कारोबारबाट थाहै नपाई हाम्रो राष्ट्रिय पूँजी बाहिर गइरहेको छ ।
यसले सबैभन्दा अर्थतन्त्रमा पार्ने असर भनेको सम्पत्ति शुद्धीकरण हो । लोकमानसिंह कार्कीलाई प्रमुख आयुक्त हुँदा संसदीय समितिमा बोलाइएको थियो । त्यसबेला उनले नेपालबाट आर्जित अवैध पैसा आफ्ना मान्छेलाई विदेशमा पठाउँदा रहेछन् भनेका थिए । त्यहाँ भएका आफन्तलाई अलिअलि गरेर पठाउँदा रहेछन् र एक हजार÷दुई हजार डलर गरेर पठाउँदा रहेछन् र त्यस्तो वैधानिक बनाएको पनि देखियो भनेर भनेका थिए ।
अर्थात्, नेपाल सरकारले वैधानिक रूपमा मात्रै पैसा आओस् भनेर काम गरिरहेको छ । तर, वास्तविकता अर्कै भइरहेको छ । अर्को उदाहरण, नेपालमा ठूलो स्केलमा भ्रष्टाचार भयो भने त्यो विदेश पुगिसकेको हुन्छ । मालपोतको ५ हजार, १० हजार भ्रष्टाचारको पैसा त नेपालमै रहन्छ, उसले काठमाडौंमै खर्च गर्छ । त्यसैले यसलाई ह्वाइट कलर क्राइम भन्छ । तर, भ्रष्टाचार ठूलो स्केलमा पुगेपछि त्यसले त अर्थतन्त्रमै फरक पार्छ ।
मैले नेपालमा अवैध सम्पत्तिको कारोबार विषयमा एउटा अध्ययन गरेको थिएँ । त्यसक्रममा राष्ट्र बैंकको च्यानल बाहिरबाट ठूलो मात्रामा अर्थात् सन् २०२० मा मात्रै ८९ अर्ब रुपैयाँ ‘औपचारिक च्यानलबाट कारोबार भएको देखिएन’ भन्ने थियो ।
हाम्रो राष्ट्रिय अर्थतन्त्रको एउटा महत्वपूर्ण क्षेत्र नै अहिले अवैध बाटोबाट चलिरहेको छ । अहिले लगानीयोग्य पैसा भएन, तरलता भएन, वैदेशिक मुद्रा भएन जे भन्छौं, लगानीका लागि जुन स्रोतको अभाव हुन्छ, त्यो अवैध बाटोबाट पैसा बाहिर गएकाले पनि परेको हो ।
हुण्डी वा अनौपचारिक पैसाको कारोबार गर्ने कुरा नेपाल जस्तो अर्थतन्त्र भएको देशमा अहिलेको अहिल्यै निमिट्यान्न हुन्छ भन्ने मलाई लाग्दैन । नेपालको जस्तो सामाजिक संरचना भएको समाजमा अहिल्यै यो निमिट्यान्न हुँदैन । तर, विदेशबाट आउने रेमिट्यान्सलाई वैधानिक च्यानलबाट मात्र ल्याउन प्रोत्साहन गर्ने गरी नीति–नियम बनाउन सकियो भने यसलाई कम गर्न सकिन्छ ।
त्यसका लागि विदेशबाट पैसा पठाउन प्रोत्साहन गर्ने गरी काम गर्नुपर्छ । जस्तै अहिले विदेशमा काम गर्नेलाई शेयरमा जोड्ने प्रावधान छ । त्यसका लागि तीन महिना निश्चित कारोबार भएको हुनुपर्ने जस्ता शर्तहरू छन् । त्यहाँ निश्चित समयमा निश्चित किसिमले बैंकिङ च्यानलबाट पैसा पठाएको देखिन्छ ।
यस्ता अरू थुप्रै विषयहरूसँग विदेशमा बस्ने नेपालीलाई जोड्नुपर्छ ताकि उनीहरूले पैसा पठाउनलाई हुण्डीभन्दा औपचारिक माध्यम नै फाइदाजनक हुन्छ भन्ने ठानुन् । हुण्डी कारोबारलाई कम गर्दै लैजाने उत्तम विकल्प पनि वैधानिक च्यानलबाट रकम पठाउनलाई प्रोत्साहन गर्ने नै हो ।
(नेपालमा अवैध कारोबारको निर्गमनबारे अध्ययन गरेका त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक घिमिरेसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित ।)
प्रतिक्रिया 4