
२८ पुस, काठमाडौं । चीनले ऊर्जा बचन गर्ने ‘कार्बन फाइबर मेट्रो ट्रेन’ सञ्चालनमा ल्याएको छ । पूर्वी चीनको शानडोङ प्रान्तको बन्दरगाह सहर चेङ्दुमा सेट्रोभो १.० नामक कार्बन फाइबर मेट्रो ट्रेनले शुक्रबार यात्रु सेवा सुरु गरेको हो ।
कार्बन फाइबर कम्पोजिट बडी फ्रेम रहेको उक्त मेट्रो टेनको बडी र बोगी फ्रेमको तौल क्रमशः २५ प्रतिशत र ५० प्रतिशत कम हुन्छ ।
सीआरआरसी लिमिटेडका ट्रेनका मुख्य डिजाइनर लिउ जिन्झुले सञ्चालनका क्रममा प्रत्येक ट्रेनको ऊर्जा खपत ७ प्रतिशतले घटाउन सकिने जानकारी दिए । यसले गर्दा वार्षिक रूपमा १३० टन कार्बनडाइअक्साइड उत्सर्जनमा कमी आउनेछ ।
कार्बन फाइबर सामग्रीको प्रयोगले रेललाई बलियो बनाउँछ । यसको अर्को फाइदा रेल यातायात संरचनाको स्थायित्व बढ्नु हो । उक्त ट्रेनको क्याबिनका भित्री भाग कार्बन फाइबर तत्वहरूले भरिपूर्ण हुन्छ ।
उक्त रेलमा साउन्ड आइसोलेसनका साथै उन्नत भाइब्रेसन ड्याम्पिङको सुविधा पनि छ, ताकि यात्रुहरूले थप सहजतापूर्वक यात्रा गर्न सक्नेछन् । कम्पन कम हुँदा ध्वनी प्रदूषण कम हुन्छ र यात्रा आरामदायी पनि हुनेछ ।
चिनियाँ टेलिभिजन सीसीटीभीका अनुसार यसलाई चिनियाँ वैज्ञानिकहरूले निर्माण गरेका हुन् ।
के छन् कार्बन फाइबर मेट्रो ट्रेनका विशेषताहरू ?
१. यस्तो ट्रेनको तौल कम हुन्छ । किनकि यसमा कार्बन फाइबरको प्रयोग गरिएको हुन्छ जुन बलियोसँगै हल्का पनि हुन्छ । इस्पात र एल्युमिनियम जस्ता परम्परागत धातुहरूभन्दा कार्बन फाइबर धेरै हल्का हुन्छ । ट्रेनको तौल कम हुँदा यसले खपत गर्ने ऊर्जाको मात्रा घट्छ । फलतः इन्धन खर्च कम आउँछ ।
२. धेरै बलियो हुनाले कार्बन फाइबरले रेललाई बलियो बनाउँछ । फलतः यो टिकाउपूर्ण हुन्छ । खिया नलाग्ने हुनाले यसको हेरचाह र मर्मतसम्भार खर्च पनि कम आउँछ ।
३. ऊर्जा कम खपत गर्ने हुनाले यो वातावरणमैत्री पनि हुन्छ । यसले वातावरण प्रदूषणमा कम योगदान गर्छ । जलवायु परिवर्तनमा कम योगदान गर्छ । विभिन्न विशेषताका कारण कार्बन फाइबर ट्रेनहरू आरामदायी र शान्त हुन्छन् ।
४. यो ट्रेनले विश्वलाई यातायातमा नयाँ बाटो देखाएको छ । यसलाई यातायात क्षेत्रमा एउटा नयाँ सुरुवात भनिएको छ । यसले यातायातलाई हरित परिवर्तनतर्फ लैजाने चिनियाँ अधिकारीहरूले विश्वास गरेका छन् ।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार यसले वार्षिक रूपमा १३० टन कार्बन डाइअक्साइड उत्सर्जन कम गर्न सक्छ । यो भनेको ६.७ हेक्टर क्षेत्रमा गरिएको वृक्षारोपण बराबरको प्रतिफल हो ।
चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार कार्बन फाइबर इस्पातभन्दा पाँच गुणा बलियो हुन्छ भने यसको तौल इस्पातको चौथाइभन्दा कम हुन्छ ।
सन् २०२१ मा विकास गरिएको कार्बन फाइबर मेट्रो रेल सन् २०२४ को जुलाईदेखि डिसेम्बरसम्म परीक्षण गरिएको थियो । ६ महिना लामो अनलाइन परीक्षण पूरा गरेपछि यसलाई सञ्चालनमा ल्याइएको हो ।
(सिन्ह्वाको सहयोगमा)
प्रतिक्रिया 4