+
+

त्रिविको प्रिन्सिपल बन्न प्राध्यापकको अरुचि : सिफारिस गर्नुपर्ने तीन, आवेदन पर्‍यो दुई

त्रिवि केन्द्रीय क्याम्पसको प्रिन्सिपल बन्न केही वर्षअघिसम्म प्राध्यापकहरूको दौडधुप चल्थ्यो । यसपटक दुईजनाको मात्र आवेदन परेको छ ।

दिनेश गौतम दिनेश गौतम
२०८१ माघ १० गते २३:००

१० माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय क्याम्पसको प्रिन्सिपल बन्न कुनै समय प्राध्यापकहरूको दौडधुप चल्थ्यो । शक्तिकेन्द्र आशिर्वादमा परिणाम आफ्नो पक्षमा पार्न त्यस्तो दौड हुने गथ्र्यो । तर, अहिले स्थिति फेरिएको छ ।

प्रिन्सिपलका लागि आवेदन आह्वान हुँदा जम्मा दुईजनाको मात्रै आवेदन पर्‍यो । परेका आवेदनहरूमध्ये छनोट प्रक्रिया पूरा गरेपछि नियुक्तिका लागि छनोट समितिले तीनजनाको नाम सिफारिस गर्ने कार्यविधिमा उल्लेख छ । तर, जम्मा दुईजनाको मात्रै आवेदन परेपछि अब कसरी नाम सिफारिस गर्ने भनेर त्रिविका पदाधिकारी र छनोट समिति नै द्विविधामा परेका छन् ।

२८ पुसमा पहिलोपटक सात दिनको समय दिएर आवेदन माग गरिएको थियो । पर्याप्त संख्यामा आवेदन नपरेपछि शिक्षाध्यक्षको कार्यालयले ७ माघमा दोस्रो पटक आवेदन माग गर्‍यो । तर, विरोध भएपछि कार्यालयले दोस्रोपटक आवेदन आह्वान गरिएको सूचना नै खारेज गर्‍यो ।

‘कार्यविधिमा तीनजानको नाम सिफारिस गर्ने भनिएको छ । छनोट समितिले कम संख्यामा आवेदन पर्‍यो भनेपछि दोस्रोपटक आह्वान गरिएको थियो । तर, यसमा धेरैथरि कुरा आएपछि पहिलो सूचनालाई नै कार्यान्यवन गर्न लागिएको हो,’ शिक्षाध्यक्ष प्राडा खड्ग केसीले भने ।

प्रिन्सिपल कार्यालयअन्तर्गत केन्द्रीय विभागहरू पर्छन् । तीन सय बढी शिक्षक कर्मचारी र ६ हजार बढी विद्यार्थीको नेतृत्व प्रिन्सिपल कार्यालयले गर्नुपर्छ । यति महत्वपूर्ण जिम्मेवारी सम्हाल्न प्राध्यापकहरूले यसपटक रुचि देखाएनन् ।

त्रिवि स्रोतका अनुसार दोस्रो विज्ञापन आह्वानको विषयमा उपकुलपति केशरजंग बराल, रजिस्ट्रार केदारप्रसाद रिजाल र रेक्टर केसीबीच समन्वय भएन ।

‘दोस्रो सूचना आएपछि उपकुलपति र रजिस्ट्रारले फरक मत राख्नुभयो । पहिलो आवेदनमा जतिले आवेदन दिएको छ त्यसैबाट छनोट गर्नुपर्छ भन्नेमा उहाँहरू हुनुहुन्थ्यो,’ त्रिविका एक अधिकारीले भने । स्रोतका अनुसार त्यसपछि रेक्टर कार्यालयले दोस्रो सूचना रद्द गरेको हो ।
अब छनोट समितिले मूल्याङ्कन गरेर दुईजनाको नाम सिफारिस गर्ने छ ।

प्रिन्सिपल कार्यालयअन्तर्गत केन्द्रीय विभागहरू पर्छन् । तीन सय बढी शिक्षक कर्मचारी र ६ हजार बढी विद्यार्थीको नेतृत्व प्रिन्सिपल कार्यालयले गर्नुपर्छ । यति महत्वपूर्ण जिम्मेवारी सम्हाल्न प्राध्यापकहरूले यसपटक रुचि देखाएनन् ।

चर्को विद्यार्थी राजनीति

२०३२ सालमा केन्द्रीय क्याम्पसको प्रमुख थिए, केदारभक्त माथेमा (जो पछि त्रिविको उपकुलपति बने) त्यसबेला पञ्चायत शासनविरुद्ध विद्यार्थीहरूले आन्दोलन गर्ने गर्थे । त्यसक्रममा राष्ट्रवादी विद्यार्थी मण्डल (मण्डले) र विद्यार्थीबीचको झडपले उग्ररुप लियो । प्रहरीहरू विद्यार्थीहरू पक्राउ गर्न आए । तर, तत्कालीन क्याम्पस प्रमुख माथेमाले क्याम्पसमा प्रहरीलाई छिर्न दिएनन् ।

विद्यार्थीलाई सहयोग गरेको भनेर माथेमालाई पञ्चायतले दबाब दिन थाल्यो । ‘एक वर्ष गरेँ । तर पञ्चायतले दुई ग्रेड घटायो । त्यसपछि राजीनामा दिएर हिँडेको हुँ,’ माथेमा भन्छन्, ‘विश्वविद्यालयमा छिरेको राजनीतिका कारण प्रिन्सिपलको आकर्षण घटेको हो । प्रिन्सिपलको काम कठिन छ ।’

प्रिन्सिपलले जटिल परिस्थितिको सामना गर्नुपर्ने भएकाले रुचि नदेखाएको निष्कर्ष माथेमाको छ । ‘विद्यार्थी संगठनका चलखेल हुन्छन् । हड्ताल, तालाबन्दी हुन्छ । स्रोतको पनि कमी छ,’ माथेमा भन्छन् ।

पूर्वप्रिन्सिपल गोविन्द सुवेदी पनि माथेमाको तर्कमा सहमत छन् । ‘विद्यार्थी, शिक्षक, कर्मचारीको झमेलामा किन पर्ने ? तनावै तनाव झेल्नुपर्छ,’ सुवेदी भन्छन् ।

केन्द्रीय क्याम्पसको प्रिन्सिपल बन्नु भनेको आगोको भुङ्ग्रोमा हात हालेजस्तो हुने पूर्वप्रिन्सिपल कृष्ण आचार्यको टिप्प्णी छ । ‘क्याम्पसमा झमेलै झमेला हुन्छ । आगोमा हात हाले जस्तो हो । त्यसैले आवेदन कम परेको हुनुपर्छ,’ उनी भन्छन् । साना साना विषयमा पनि प्रिन्सिपल कार्यालयमा विद्यार्थीले महिनौंसम्म ताला लगाउने गरेका छन् । जसका कारण क्याम्पसको शाख गुम्दै गएको छ । ‘हाम्रो समयमा भन्दा अहिले धेरै गाह्रो भएको देख्छु,’ माथेमा भन्छन्, ‘प्रिन्सिपलका लागि आकर्षक तलब पनि छैन । नभएको झन्झट खेप्नुपर्छ ।’

प्रिन्सिपलका लागि आवेदन माग गरेकै समयमा पनि क्याम्पसमा ताला झुन्डिरहेको थियो । विद्यार्थी संगठनले डेढ महिनादेखि क्याम्पस प्रमुखलाई विश्वविद्यालय प्रवेशमा रोक लगाएका थिए । २५ मंसिरदेखि विद्यार्थीले लगाएको ताला सहमतिपछि खोलिएको छ ।

दलीय भागबन्डा

त्रिविमा सबै पदमा दलीय भागबन्डा चलेको छ । यसैकारण आवेदन कम परेको तर्क गर्छन् पूर्वप्रिन्सिपल सुवेदी । ‘भागबन्डा भएको भन्ने सुनेको छु । त्यही भएर आवेदन कम परेको हुनुपर्छ,’ सुवेदी भन्छन् । यसअघि उपकुलति, रेक्टर रजिस्ट्रारदेखि, डीनलगाययतका पदमा भागबन्डा भएको थियो । प्रिन्सिपलको भूमिका नभएकाले पनि रुचि नदेखाएको बताउँछन् सुवेदी । ‘रातो किताबमा लेखिएको कुरा प्रिन्सिपलले गर्न सकेको छैन । भूमिका पनि नभएर आवेदन कम परेको हो,’ सुवेदी भन्छन् ।

त्रिविमा राजनीतिक हस्तक्षेप भइरहने हो भने उपकुलपतिमा पनि आवेदन नपर्ने प्राज्ञहरूको मत छ । ‘त्रिविमा प्रिन्सिपलको के छ र ? यस्तै हो भने भीसीका लागि आवेदन आएन भने पनि आश्चर्य नमाने हुन्छ,’ माथेमा भन्छन् ।

पूर्वप्रिन्सिपल आचार्य प्राज्ञिक व्यक्तिहरू आवेदन हालेर प्रिन्सिपल बन्न नचाहेको मत राख्छन् । ‘प्राज्ञिक व्यक्ति पदको लागि लाइन लागेर आवेदन हाल्न जाँदैनन् । खुला आह्वान भनेर आवेदन मागिएकाले पनि धेरै प्राध्यापक नगएको हुनसक्छ,’ उनी भन्छन् । केन्द्रीय क्याम्पसका प्रिन्सिपल ध्यानेन्द्र राईको कार्यकाल आगामी १९ माघमा सकिँदै छ । त्यसैले नयाँ प्रिन्सिपल छनोट गर्न लागिएको हो ।

 

लेखकको बारेमा
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?