
दक्षिणएशियामा बालीनाली अवशेष जलाउने प्रचलनले पर्यावरणीय संकट र कृषि उत्पादनमा गहिरो प्रभाव पारेको छ। यो प्रचलन मुख्य रूपमा भारत, नेपाल, पाकिस्तान र बंगलादेशमा व्याप्त छ, जहाँ धान र गहुँ उत्पादनपछि बाँकी रहेका अवशेष खेतमै जलाइन्छ। यसले वातावरणीय प्रदूषण, माटोको उर्वराशक्ति ह्रास तथा मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दछ।
भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) को तथ्यांक अनुसार भारतमा मात्र वार्षिक करिब १२० मिलियन टन बाली अवशेष उत्पादन हुन्छ, जसमध्ये २३ प्रतिशत जलाइन्छ। यसले वायु प्रदूषण, माटोको गुणस्तरसँगै जैविक विविधतामा समेत ह्रास जस्ता समस्या सिर्जना गर्छ।
यो लेख दक्षिणएशियामा बालीनाली जलाउने प्रचलनको कारण, यसका पर्यावरणीय प्रभाव, समाधानका सम्भावित उपाय तथा दीर्घकालीन समाधानतर्फ लाग्ने उपायहरूको खोजी गर्न केन्द्रित रहेको छ।
किन जलाइन्छ बालीनालीको अवशेष ?
दक्षिणएशियामा बालीनालीको अवशेष जलाउने प्रचलन खर्च कम गर्न र फोहोरको सजिलो र छिटो समाधान खोज्ने अभ्याससँग जोडिएको छ।
मेसिनबाट कटनीको परिणामस्वरूप बाँकी रहेका अवशेषहरूको संकलन र व्यवस्थापन महँगो हुन्छ। किसानहरू यसलाई जलाउनु नै सस्तो उपाय ठान्छन्। त्यस्तै, धानको कटनीपछि गहुँ लगाउन केवल ७–१० दिनको समय उपलब्ध हुन्छ। छिटो अर्को बाली लगाउने दबाबले पनि किसानले सहज र छरितो उपायको रूपमा अवशेष जलाउँछन्।
श्रमिकको अभाव, जलाउनेभन्दा अरू उत्तम विकल्प बारे ज्ञान र जनचेतनाको कमी जस्ता कारणले दक्षिणएशियामा पनि खासगरी भारत र पाकिस्तानमा धान र गहुँको अवेशष धेरै जलाइन्छ। नेपालमा पनि, विशेषगरी तराई क्षेत्रका किसानहरूले यही तरिका अपनाउने गरेका छन्।
तथ्यांकमा हानिकारक असरहरू
बालीको अवशेष जलाउँदा निस्कने धुवाँमा कार्बनडाइअक्साइड, कार्बन मोनोअक्साइड, मिथेन, नाइट्रोजन अक्साइड र अन्य हानिकारक ग्यासहरू हुन्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार एक हेक्टर खेतमा बाली अवशेष जलाउँदा लगभग ३ टन कार्बनडाइअक्साइड उत्सर्जन हुन्छ।
यसले वार्षिक रूपमा १,५०,००० टन पीएम २.५ कणहरू वातावरणमा थप्छ। दक्षिणएशियाका प्रमुख शहरहरूमा शरद ऋतुमा वायु गुणस्तर खतरनाक स्तरमा पुग्छ।
बालीनाली अवशेष जलाउँदा वायुमण्डलमा धेरै मात्रामा ग्यास र कण पदार्थहरू उत्सर्जन हुन्छन्। जलाइने अवशेषले ठूलो मात्रामा कार्बनडाइअक्साइड जस्ता ग्रीनहाउस ग्यास उत्सर्जन गर्छ। पार्टिकुलेट म्याटर जस्ता सानो कण पदार्थले मानिसको श्वासप्रश्वास प्रणालीलाई घातक असर पुर्याउँछ भने नाइट्रस अक्साइडले ग्रीनहाउस ग्यास उत्सर्जनमा धेरै नै योगदान गर्छ।
वायु प्रदूषणको क्षेत्रीय प्रभाव
यो भारतको पञ्जाब, हरियाणा र उत्तरप्रदेश तथा पाकिस्तानको पञ्जाब र सिन्ध क्षेत्रमा प्रदूषणको प्रमुख स्रोत बनेका छन्। नेपालका तराई क्षेत्रमा विशेषगरी मोरङ, सुनसरी र सप्तरीमा अवशेष जलाउने प्रचलनले वायु प्रदूषण उच्च बनाएको छ। यो प्रदूषणले अन्तरदेशीय सिमाना पार गरी छिमेकी देशहरूमा पनि असर पुर्याएको छ।
स्वास्थ्यमा असर
यसले श्वासप्रश्वासका समस्या ल्याउँछ। प्रदूषणले दम, ब्रोंकाइटिस र फोक्सोको क्यान्सर जस्ता रोगहरू निम्त्याउँछ। थप सचेत हुनुपर्ने कुरा, यसले बालबालिकाको स्वास्थ्यमा हानिकारक असर पुर्याउँछ।
भारतमा बालीनाली जलाउने सिजनमा बालबालिकामा फोक्सो सम्बन्धी रोग तीन गुणा बढ्ने तथ्यांकले देखाएको छ। भारतको पञ्जाबमा मात्रै बालीनाली जलाउने समयमा १० प्रतिशत थप स्वास्थ्य समस्या देखापर्छ।
माटोको गुणस्तरमा असर
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अध्ययनहरूका अनुसार बालीनाली अवशेष जलाउँदा माटोको सतहको तापक्रम ४०–४५ डिग्री सेल्सियससम्म पुग्न सक्छ। यसले माटोका सूक्ष्म जीवाणुहरू नष्ट हुने, जैविक पदार्थको मात्रा घट्ने र पोषकतत्वहरूको ह्रास हुने र माटोको भौतिक संरचना बिग्रने जस्ता असर देखिन्छ।
धानको अवशेष जलाउँदा ९० प्रतिशतसम्म नाइट्रोजन नष्ट हुन्छ भने २०–२५ प्रतिशत फस्फोरस र पोटासियम हराउँछ। यसबाट कार्बनको पनि ह्रास हुन्छ। माटोको जैविक कार्बन घट्दा माटोको उर्वराशक्ति र पानी अड्याउने क्षमता कमजोर हुन्छ। फलतः किसानहरूलाई माटोको उर्वराशक्ति फर्काउन धेरै मात्रामा रासायनिक मल प्रयोग गर्नुपर्ने हुन्छ, जसले खेतीको लागत थप उच्च बनाउँछ।
समाधान के ?
बालीनाली जलाउने अभ्यासलाई निरुत्साहित गर्न सरकार, निजी क्षेत्र र किसानबीच समन्वय र सहकार्य आवश्यक छ। यहाँ केही समाधानका उपायहरू उल्लेख गरिएको छः
१. प्राविधिक समाधान
ह्याप्पी सिडर मेसिनको प्रयोगले बालीनाली अवशेषमा नै अर्को बाली लगाउन मद्दत गर्छ। त्यस्तै, बायोचार प्रविधिले बालीनाली अवशेषलाई कम्पोस्ट र जैविक मलमा परिणत गर्न सकिन्छ। प्याडी स्ट्र चपर मेसिनले अवशेषलाई सानो टुक्रामा परिणत गरेर माटोमा छिटो मिसिन मद्दत पुर्याउँछ।
२. वैकल्पिक प्रयोग
बालीनाली अवशेषलाई बायोइथेनोलमा परिवर्तन गरी नवीकरणीय ऊर्जा उत्पादन गर्न सकिन्छ। धान र गहुँको अवशेषबाट कागज र जैविक प्याकेजिङ सामग्री उत्पादन पनि गर्न सकिन्छ। त्यस्तै, गहुँ र अन्य बालीनालीका अवशेषलाई पशुचारा बनाउन प्रयोग गर्न सकिन्छ।
३. किसानहरूको सशक्तीकरण
बालीनालीका अवशेष व्यवस्थापनका विकल्प बारे किसानलाई जानकारी दिनुपर्छ। किसानलाई बालीनाली जलाउँदा हुने असर र वैकल्पिक उपायका फाइदाबारे जानकारी दिनुपर्छ। यसलाई व्यवस्थापन गर्ने मेसिन खरिदका लागि सरकारी अनुदान र सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्नेछ।
सरकारी नीति र क्षेत्रीय पहल
दक्षिण एशियाली देशहरूले बालीनाली व्यवस्थापनका लागि विभिन्न नीतिहरू अवलम्बन गरेका छन्, तर यी प्रयासहरू प्रायः सीमित र प्रभावहीन साबित भएका छन्।
सन् २०१४ मा भारतले राष्ट्रिय बालीनाली व्यवस्थापन नीति (एनपीएमसीआर) लागू गर्यो। यसअन्तर्गत किसानहरूलाई अवशेष व्यवस्थापन मेसिन खरिदमा ५०–८० प्रतिशत सब्सिडी प्रदान गरिएको छ। त्यस्तै, नेशनल क्लिन एयर प्रोग्राम (एनसीएपी) अन्तर्गत सन् २०२४ सम्म पीएम २.५ प्रदूषणमा २०–३० प्रतिशत कमी ल्याउने लक्ष्य राखिएको छ।
यता, नेपालमा भने ठोस नीति नभए पनि तराई क्षेत्रका किसानहरूलाई वैकल्पिक प्रविधि प्रयोग गर्न प्रोत्साहन गर्नुपर्छ। नियमित प्रशिक्षण कार्यक्रम र पाइलट परियोजनाहरू सञ्चालन गर्नुपर्छ।
दक्षिण एशियाली सहकारी वातावरण कार्यक्रम (एसएसीईपी) अन्तर्गत अन्तरदेशीय सहयोगले प्रदूषण न्यूनीकरणमा भूमिका खेल्न सक्छ।
बालीनाली जलाउने प्रचलनले वातावरण, कृषि र मानव स्वास्थ्यमा गम्भीर असर पुर्याएको छ। यसको प्रभावलाई न्यूनीकरण गर्न प्रविधि, नीतिगत सुधार र किसानहरूको व्यवहार परिवर्तन अपरिहार्य छ।
यी समस्याको दिगो समाधान खोज्नुपर्छ। कृषि क्षेत्रलाई दिगो र नवप्रवर्तनशील बनाउन जैविक समाधान र नवीकरणीय ऊर्जातर्फ लगानी बढाउनुपर्छ। किसानहरूको सक्रिय सहभागिता र आर्थिक प्रोत्साहन प्रभावकारी साबित हुन सक्छ।
(कृषि विज्ञानमा स्नातकोत्तर खनाल डेढ दशकदेखि कृषि क्षेत्रमा कार्यरत छन्।)
प्रतिक्रिया 4