
२४ माघ, काठमाडौं । १२ कक्षा सकेपछि विदेश जानु ठीक कि बेठीक ? ह्वाइट हाउस लिटरेचर फिल्म फेस्टिभलको पहिलो दिन प्रायः यही बिषयमा छलफल भएको छ ।
महोत्सवको उद्घाटन कार्यक्रममा डा. भगवान कोइरालाले आफू ९ कक्षासम्म घरको काम गर्दै पढेको स्मरण गरे । उनले भने, ‘म कलाको क्षेत्रमा कमजोरी विद्यार्थी हुँ, यसको मतलव सबै विद्यार्थी सबै विषयमा उत्कृष्ट हुँदैन ।’
विज्ञान मात्रै विद्यार्थीको सफलताको मापन नभएको भन्दै उनले पास हुने बित्तिकै विदेश जाने सोच भए पनि पुन: स्वदेश फर्किएर केही गर्न विद्यार्थीहरूलाई आग्रह गरे । उनले भने, ‘ पास हुने बित्तिकै विदेश जाने सोच छ भने, जानुस्, पढ्नुस्, सिक्नुस् र नेपालमै आएर केही गर्नुस् भन्ने मेरो तपाईहरूलाई आग्रह छ।’
पहिलो दिन ७ ओटा विविध विषयमा छलफल भए । विद्यार्थीहरुको नृत्य प्रतिभा हेर्दै अगाडी बढेको फेस्टिभलमा पहिलो छलफल ‘राउटे : जंगलमै जिन्दगी’ भन्ने शिर्षकमा भएको थियो । लेखक तथा सामाजिक मामिलामा कलम चलाउँदै आएका पत्रकार दिपक सापकोटाले यसको सहजीकरण गरेका थिए ।
पहिलो पटक स्टेज चढेका ४ जना राउटे समुदायका व्यक्तिहरुले जंगल र आफ्नो काठमाडौं यात्राका बारेमा बताए । न विदेश जाने मोह, न घर ठड्याउने लोभ । उनीहरु भिड देखेर डराए पनि । अहिले नाम लेख्न जानेको भन्दै बिस्तारै पुराना काम छाडेर नयाँतिर आकर्षित भएको उनीहरुको भनाइ थियो।
मञ्चमा उक्लिएका वक्ता दिपक शाहीले काठका कामहरु कम हुँदै गएको र धेरैजसो निर्भरता नेपाल सरकारमा भएको बताए । उनले भने, ‘अहिले काठका कामहरु कम हुँदै गएको छ । किनकी धेरैजसो निर्भरता नेपाल सरकारमै छ।’
‘राजनितीः विकर्षण कि आकर्षण’ भन्ने छलफलमा नेता रामकुमारी झाँक्रीले वितृष्णा नभएको, झनै पावर डिजाइनले व्यवसायिक धन्दा भएको धारणा व्यक्त गरिन् । उनले पनि हरेक सुविधा हुँदाहुँदै पनि अहिलेका युवा विदेश जान चाहेको धारणा व्यक्त गरिन् ।
युवा नेता मिलन पाण्डेले वर्तमान राजनितीमा विकर्षण बढेकाले युवाहरु विदेश पलायन हुनु परेको तितो यथार्थ पोखे ।
यस्तै ‘जेन जी जिज्ञाशा’ भन्ने छलफलमा पनि विशेष गरेर अहिलेको पुस्ताको विदेश मोहबारे नै छलफल भएको थियो ।
पत्रकार सुधीर शर्माले विदेश जानु नराम्रो नभएको भन्दै फर्केर देशमै केही गर्नुपर्नेमा जोड दिए । ‘विदेश जानु नराम्रो होइन । तर फर्केर देशमै केही गर्नुपर्छ भन्ने उद्देश्य चाहिं हुनुपर्छ।’ उनले भने।
अहिले व्याण्डहरु सेलाइरहेको समयमा पनि लामो समयदेखि व्याण्डसहित सक्रिय रहेकी गायिका अभया सुब्बा सामाजिक सञ्जाल अनुसार नयाँ पुस्ताको टेष्ट बुझ्न नसक्दा जेनजी जेनेरेशनले सुन्ने गीत कम भएको बताइन् । उनले भनिन्, ‘अहिलेका पुस्तालाई संगीतमा पीस (शान्ति) मनपर्छ, पहिले रिस मनपर्थ्यो।’
व्याण्ड मात्रै हैन महिलाको आवाज बिरलै सुनिन थालेको भन्दै उनले यस बिषयमा पनि आफूलाई सोच्न हराउने चिन्ता भइरहेको बताइन् । ‘यदि गायिका मात्रै भएको भए म पनि हराउने डर छ,’ उनले भनिन्, ‘गायिका र गाउने महिला धेरै भएपनि म यसलाई एउटा पार्ट मात्रै बनाउँछु । गीत आफै लेख्छु, आफै कम्पोज गर्छु । त्यसैले म यहाँ छु।’
यस्तै लेखक तथा पत्रकार बसन्त बस्नेतले उनले अहिलेसम्म लेखेका दुईथरी पुस्तकका बारेमा बताए । उनले भने, ‘पहिलो पुस्तक कन्टेम्पोररी हिस्ट्रीका बारेमा थियो । मधेशको यथार्थ घटनालाई पत्रकारको आँखाले देखेका कुरा उतारिएका थिए । पछि २ ओटा उपन्यासमा व्यक्ति र समाजलाई बुझ्न सकिन्छ ।’ अहिले साहित्य समाचारमा पसेको हो कि सहित्यमा समाचार भन्ने प्रश्नमा उनले भने, ‘दुवैका अक्षर एक्प्रेसन’।
पूर्णबहादुरको सारङ्गीबाट चर्चित भएका अभिनेता विजय बरालले अभिनयलाई पढाइले निखारता ल्याउने बताए । उनले भने, ‘अभिनय जन्मजातै हुन्छ । हरेक कुरा अवलोकन गरेर त्यसैको नक्कल गर्ने नै अभिनय हो तर त्यसलाई भावमा रुपान्तरण गर्नुपर्छ।’
अभिनेत्री मनिषा कोइरालाले कला यात्रामा लाग्नुको कारण पारिवारिक पृष्ठभूमि राजनीतिक मात्रै नभएर परिवार कलाप्रति झुकाव पनि रहेको बताइन् । ‘मेरो बाल्यकालमा पारिवारिक पृष्ठभूमि राजनीतिक भए पनि म सामान्य तरिकाले हुर्किएँ ।नयाँ पुस्ताका विद्यार्थी माझ पुग्दा म आफूलाई अझै धेरै काम गर्ने उर्जा आउँछ,’ उनले भनिन्, ‘त्यसकारण कथाहरु सुन्ने र सुनाउने थलो भएकाले म यस्ता कार्यक्रममा पुग्छु ।’
आनी छोइङ डोल्माले विद्यार्थीहरुलाई लहैलहैमा विदेश नजान सल्लाह दिईन् । उनले भनिन्, ‘पढ्न, सिक्न जानुस् तर आफ्नै देशमा फर्किएर घर बनाउनुस् ।
निर्देशक मिन भामले पनि अहिलेसम्म आफूले एकपटक मात्रै टिकट काटेर बिदेश गएको स्मरण गर्दै भने, ‘म तलब लिएर विदेशमा घुम्न जान्छु।’
प्रतिक्रिया 4