+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares
बहस :

‘चुनाव धानिनसक्नु भयो, पूर्ण समानुपातिकमा जाऔं’

‘मोबाइलबाट भोट हाल्ने प्रणाली ल्याऔं, ओटीपीको भरमा भोट हाल्न सकिन्छ ।’

नीलकण्ठ उप्रेती, पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, पूर्व प्रमुख निर्वाचन आयुक्त
२०८१ फागुन ५ गते २२:१२

अहिले नेपालमा कम्युनिष्ट भएर उम्मेदवार हुने अनि कांग्रेसले कम्युनिष्टलाई भोट देऊ भन्ने अवस्था आयो । अर्कोले झन् अर्कोलाई भोट माग्ने परिस्थिति बनेको छ । यस्तो पनि कहीं सिद्धान्त हुन्छ र ! तर हाम्रो देशमा यही अभ्यास चलिरहेको छ ।

जीवनभर कांग्रेसलाई भोट हालेको मानिसलाई अर्कोमा ‘लौ भोट हाल’ भनेपछि मैले रुँदै हिंडेको मानिस पनि देखेको छु । यो चितवनकै कुरा हो । यस्तो पनि गठबन्धन हुन्छ र ! त्यो त स्वार्थको बन्धन हो । यस्ता स्वार्थका बन्धनलाई हामी मान्दैनौं । मान्न पनि हुँदैन ।

हामीले निर्वाचन प्रणालीका जति कुरा फलाके पनि जसले निर्णय गर्ने हो उहाँहरूलाई सहमत गराउन नसकेमा केही अर्थ लाग्ने देख्दिनँ ।

यो देशमा निर्वाचन धानिनसक्नुभएको छ । त्यसका लागि पनि मैले पूर्ण समानुपातिक प्रणालीको कुरा गरेको हो । साना दलहरूलाई मिलेर एउटा दल बनुन् भनेर पनि समानुपातिकको कुरा गरेको हो । त्यसक्रममा ५ प्रतिशत थ्रेसहोल्ड अनुपातको कुरा पनि आएको छ ।

त्यो अनुपात कम हुँदैन, तपाईंहरू १० प्रतिशतमा गए पनि हुन्छ । त्यसले केही फरक पर्दैन । मिल्दाजुल्दा पार्टीहरू एक ठाउँमा भएर निर्वाचन लड्छन् । १० प्रतिशतमा गए पनि हुन्छ, लाज मानी–मानी हामी ५ मा गयौं भन्न पर्दैन ।

अझ साँच्चिकै भन्ने हो भने पार्टीभित्र प्रतिस्पर्धा गरेर मात्रै उम्मेदवारहरू उठ्न पाउने व्यवस्था गरे हुन्छ । हुनत त्यसलाई अमेरिकामा निकै फरक किसिमले हेरिएको छ । प्राइमरी भोटर्स सिस्टम गरियो भने के हुन्छ ?

खर्च धानिनसक्नु को–कोलाई भएको छ ? सबैभन्दा बढी दलहरूलाई यो समस्या छ । सरकारलाई त धानिनसक्नुभएको छ, अर्बौं रुपैयाँ खर्च गर्नुपर्छ । १०/१५ अर्ब रुपैयाँ खर्च गर्नुपरेको अवस्था छ । अर्को पटक त्योभन्दा पनि बढी खर्च गर्नुपर्ला ।

स्पष्टसँग भन्ने हो भने निर्वाचन प्रणालीलाई आधुनिकीकरण गर्नुपर्छ । पार्टीहरू तलसम्म बन्न सकुन् र त्यहीं नै गठबन्धन गर्न बाध्य हुन् । जसले गर्दा उनीहरूले निर्वाचनमा विचार नमिल्नेहरूसँग बाध्यतापूर्वक गठबन्धन गर्ने स्थिति (नहोस्) ।

‘जीवनभरि कांग्रेसको मतदाता भएको व्यक्ति रुँदै हिंडेको पनि देखेको छु ।’

१० प्रतिशत थ्रेसहोल्ड राखेर पूर्ण समानुपातिक प्रणालीमा संसद् जान चाहन्छ भने त्यो राम्रो हुन्छ । बोरामा पैसा लिएर निर्वाचन लड्नुपर्ने परिस्थिति यो देशले धानेको छैन । बोरामा पैसा ल्याएको खर्चले जितेको सिटले भोलि त्यो बोरा भर्ने कि अरू दुई/तीन वटा बोरा थप्ने हो ? यी हामीले विचार गर्नुपर्ने विषय छन् ।

हाम्रो अत्यन्त प्रिय बनेको पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष निर्वाचन प्रणाली) युगौंदेखि हामीसँग छ । त्यसलाई हामीले नकार्न खोजेको होइन । संसारका धेरै देशलाई मन परेको निर्वाचन प्रणाली हामीले अपनाउन गयौं भने खर्च पनि घट्छ । पार्टीको संख्या पनि घट्छ । अनि साँच्चिकै रूपमा सैद्धान्तिक मत मिल्ने पार्टीहरूको जमघट पनि होला । अनि उनीहरू एकढिक्का भएर आउलान् । अनि हाम्रो स्थायित्व अरू बढ्ला भन्ने लाग्छ ।

गाउँगाउँमा विकासे प्रक्रिया गएको छ । काठमाडौंका टोल–टोलमा कहिल्यै कुचो लाग्दैनथ्यो, आजकल कुचो लाग्ने गरेको छ । सजगता पनि आएको छ । परिवर्तनको बेलामा केही कुरालाई छाडेर भए पनि महत्वपूर्ण कुरामा निर्णय लिनुपर्छ ।

विदेशमा रहनेलाई मताधिकार

गैरआवासीय नेपालीहरूलाई हामीले कानूनतः मताधिकार दिएका छैनौं । नेपालीहरू विभिन्न ११२ मुलुकमा छरिएर रहेका छन् । करिब ६० लाख नेपाली मुलुक बाहिर छन् । ती सबैसँग नेपाली पासपोर्ट छ कि छैन ? नेपाली नागरिकता छ कि छैन ?‍

पासपोर्ट लिएर गएका अनि आउँदा उतैको लिएर आउनेहरू पनि छन् । विदेशमा रहेकाहरूलाई मताधिकार दिने बारेमा हामीले धेरै पहिले अध्ययन गरेका थियौं । मध्यपूर्वमा हामीले आयुक्तलाई नै पठाएर अध्ययन गरेका थियौं ।

आजको विश्वमा हामीले जुन किसिमको निर्वाचन गर्ने सोचेका थियौं, त्यतिबेला हाम्रा दूतावासहरूमा मतपेटिका हालेर भोट हाल्ने कुरा थियो । अब त त्यो जमाना समेत गइसकेको छ । हजुरआमाले घरबाटै मोबाइल प्रयोग गरेर भोट हाल्न सक्ने जमानामा हामी आइपुगेका छौं ।

यहाँ ओटीपी प्रयोग गरेर लाखौं रुपैयाँ अर्को खातामा पठाउन सकिने, तर आफ्नै पार्टीको निर्वाचनमा भने ठूलो ड्रम ल्याएर भोट हाल्नुपर्ने अवस्था बनेको छ ।

अर्कोतर्फ सित्तैंमा मेसिन दिएर भोट हाल्नुहोस् न भन्दा पनि नमान्ने अवस्था बनेको छ । यस्ता नेतृत्वहरूले आधुनिक प्रविधिमा जान असाध्यै हिच्किचाउँछन् । त्यहाँभित्र अर्कैको मात्रै मत आउँछ कि भन्ने त्रास छ । उनीहरूलाई फेरि केही गडबड हुने हो कि भन्ने डर छ ।

यहाँ थुप्रै क्षेत्रहरूमा थोरै भोटको अन्तरले हार–जित हुने हो । त्यो थोरै भनिएको मार्जिनल भोट विदेशमा छ । त्यही रहेको मतले हार–जित गराउँछ । पछिल्ला दुई वटा चुनाव त उतैबाट प्रभावित भएको महसुस गरियो ।

बाहिर बसेकालाई निकै सजिलो छ, हिंड्दाहिंड्दै रेलमा पनि भोट हाल्न पाइन्छ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छ, औंठाछाप छ भने नागरिकता मिल्छ भने ओटीपीका आधारमा बनाउन सकिन्छ । अब उसले आफ्नो निर्वाचन क्षेत्रदेखि समानुपातिकमा मत हाल्न पाउँछ ।

बाकस त्यहाँ हुँदैन, निर्वाचन आयोगको ठूलो कम्प्युटरको स्क्रिनलाई नै बाकस मान्ने हो । राति नै नतिजा आउन सक्छ ।

विमान चढ्ने प्रविधि छ, हामी २४ घण्टा पनि त्यसमा चढेर अर्को ठाउँमा जान डराउँदैनौं । त्यहाँभित्र पनि त्यही कम्प्युटर प्रणालीबाट सञ्चालित हुने हो । यहाँ भने विद्युतीय मतदान भयो भने म हार्छु, यिनीहरूले भित्र बसेर के के गर्छन् भन्ने शंका छ । भारतमा अहिले पनि कराइरहेका छन् ।

तर मेसिन आफैंले केही गर्न सक्दैन । तसर्थ आधुनिक प्रणालीमा जानुपर्छ र निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्छ । थ्रेसहोल्डको अनुपात ५ लाई ७ वा १० बनाउनुपर्छ ।

अनि त्यसपछि स्थायित्व र अरू काममा मानिसहरूले मन लगाउन पाउँछन् । थोरै दल हुँदैमा लोकतन्त्र कमजोर हुन्छ भन्ने होइन । १३३ दल भए भने त हामीले विद्युतीय मेसिन पनि प्रयोग गर्न सक्दैनौं । दल कम भए लोकतन्त्र झन् बलियो हुन्छ ।

लोकतन्त्र नयाँ भएका बेलामा दलहरू धेरै हुनु स्वाभाविकै होला । तर अब परिपक्वतातिर गएपछि धेरै दल चाहिन्छ भन्नु पनि त्यति उचित नहोला ।

यति छिटोछिटो सरकार परिवर्तन गर्नुपर्ने अवस्था कहीं पनि नबनोस् । नत्र हाम्रा देशका लागि दुर्भाग्यको कुरा हुन्छ ।

समानुपातिक भए पनि धेरै क्षेत्रको समानुपातिक हुन्छ । जति दल निर्वाचन क्षेत्रमा जीवित रहन्छन् तिनको कुरा हो । समानुपातिककै कुरा गर्ने हो भने सिंगो नेपाल एउटा क्षेत्र मानेर गरिन्छ । त्यो क्षेत्रमा जति दल जीवित छन्, तिनका सदस्यहरू टिकटका लागि प्रतिस्पर्धा गर्छन् भन्ने सोचौं ।

दलले त्यो क्षेत्रमा ५ जनालाई उम्मेदवार बनाउन पाउने हो भने ५ जनाका लागि प्रतिस्पर्धा गराउनुपर्ने भयो । त्यही क्षेत्रका सदस्यहरूले मत हालेर सबैभन्दा बढी मत ल्याउने सदस्यहरू उम्मेदवार चयन हुन्छन् ।

म त त्यो निर्वाचन पनि निर्वाचन आयोगले नै सञ्चालन गराउनुपर्छ भन्छु । त्यसपछि बल्ल गणेश प्रवृत्तिका कुरा हटेर जान्छ र थप शुद्धता आउँछ भन्ने मेरो धारणा हो ।

***

बृहत् नागरिक आन्दोलनले शुक्रबार मार्टिन चौतारी, काठमाडौंमा अन्तरक्रिया आयोजना गरेको थियो । त्यसको शीर्षक थियो, ‘दलहरूलाई जवाफदेही, पारदर्शी र निर्वाचनलाई साँच्चिकै पारदर्शी कसरी बनाउने ?’ त्यस कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले दिएका विचार यहाँ सम्पादन सहित प्रस्तुत गरिएको छ । राजनीतिशास्त्री कृष्ण खनाल र इन्द्र अधिकारी लगायत विज्ञहरूले त्यहाँ आफ्ना विचार राखेका थिए । बृहत् नागरिक आन्दोलनले लोकतन्त्रको रक्षा र विकासका लागि दलहरूको जवाफदेहिता अनि पारदर्शिता प्राथमिक शर्त भएको भन्दै केही अभियानहरू समेत चलाउने आन्दोलनका अगुवा प्राध्यापक सञ्जीव उप्रेतीले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?