
६ फागुन, हेटौंडा । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका कार्यालय परिसरको जग्गामा मकैको हाइब्रिड बीउ उत्पादन लार्ज प्लट राखिएको छ ।
सिन्धुलीका कृषकलाई प्रत्यक्ष लाभ दिलाउने योजनाले बागमती प्रदेशको बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हेटौंडाले गाउँपालिका कार्यालयसँगको समन्वयमा मकैको बीउ उत्पादन प्लट राखेको हो । २२ कठ्ठा जग्गामा मकैको हाइब्रिड बीउ उत्पादन गरेर गाउँपालिकाले आफ्ना कृषकलाई उपलब्ध गराउने योजना छ ।
बीउ बिजन केन्द्रले हरिहरपुरगढीका कृषकलाई रामपुर हाइब्रिड-१० (आरएमएल १५०/आरएमएल १८) को बीउ उत्पादन प्लटको प्रदर्शनीसँगै हाइब्रिड मकैको बारेमा जानकारी गराएको छ । बीउ उत्पादन गर्न राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले प्राविधिक सहयोग गरेको छ । बीउ बिजन केन्द्रले बागमती प्रदेशको हरिहरपुरगढीमा मकै उत्पादन प्लट सुरु गरेको हो ।
अनुसन्धान कार्यक्रम रामपुरका बरिष्ठ वैज्ञानिक भिमनाथ अधिकारी र वैज्ञानिक महेन्द्रप्रसाद त्रिपाठीले कृषकहरुलाई हाइब्रिड मकै र यसको बीउको बारेमा जानकारी दिए । स्वदेशमा नै हाइब्रिड मकैको बीउ उत्पादन गर्न सकेमा बिउ खरिदको लागि खर्च हुने ठुलो धनराशी जोगाउन सकिने भएकाले हरिहरिपुरगढीमा प्लट राखिएको बीउ बिजन केन्द्र हेटौंडाका प्रमुख राजन ढकालले बताए ।
गाउँमै हाइब्रिड मकैको बीउ उत्पादनले स्थानीय रुपमा कृषिमा रोजगारीको अवसर सिर्जना गर्न टेवा पुर्याउने र नेपालको कृषिलाई आत्मनिर्भर र व्यवसायिकरण गर्न सहयोग पुग्ने राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख तीर्थराज रिजालले बताए । कृषक माझ हाइब्रीड मकै लोकप्रिय बनेको उनले बताए ।
गाउँपालिका अध्यक्ष बज्रध्वज वाइवाले मकैको हाइब्रिड बीउउत्पादनमा देशकै नमूना कार्यले सफलता पाउन लागेकोमा खुशी लागेको बताए । मकैको बीउ स्थानीय कृषकलाई उपलब्ध गराइने अध्यक्ष वाइवाले बताए । ‘हिजो हरिहरपुरमा धान बाहेक अरु पाईंदैन भन्ने थियो । अब मकैको बीउ पनि माग्न आउने बनाउँछौं’, उनले भने ।
प्रतिक्रिया 4