 
																			पेशा चयन गर्ने मानिसको नैसर्गिक अधिकार हो । सामान्यतया व्यक्तिले आफ्नो रुचि अनुसार पेशा चयन गर्दछ । कतिपय अवस्थामा भने परिस्थितिबाट पनि पेशा चयन भइरहेको हुन्छ । पहिले कहिल्यै नसोचेको वा कल्पनासम्म पनि नगरेको क्षेत्रमा मानिसले हात हालिरहेका हुन्छन् । यस्ता दृष्टान्त धेरै हुनसक्छन् ।
तर, एउटा परिवारको दुई पुस्ताका अधिकांश व्यक्तिले पत्रकारिता पेशामा हात हालेको दुर्लभ उदाहरण मोरङमा छ । यहाँको भट्टराई परिवारका एकाघरका आठ सदस्य सञ्चारकर्ममा छन् । छापा, विद्युतीय र अनलाइन जस्ता तीन वटै प्रकृतिका सञ्चारमाध्यममा यो परिवारका सदस्यहरू क्रियाशील छन् ।
 ताप्लेजुङको साविक ढुङ्गेसाँघु–२ तेल्लाबुङबाट २०४३ सालमा बसाइँ सरेर मोरङको उर्लाबारी–४ आइतबारे झरेका दुर्गाप्रसाद भट्टराईले पत्रकारिता पेशा रोजे । उनी पछि बहिनी ललिता र भाइ जगन्नाथ पनि यो पेशामा जोडिए । दाजु दुर्गाप्रसाद, बहिनी ललिता र भाइ जगन्नाथ सम्पादक एवम् प्रकाशक रहेर प्रकाशन भइरहेका तीन वटै साप्ताहिक पत्रिका अहिले प्रेस काउन्सिल नेपालले गरेको वर्गीकरणमा ‘क’ वर्गमा छन् ।
ताप्लेजुङको साविक ढुङ्गेसाँघु–२ तेल्लाबुङबाट २०४३ सालमा बसाइँ सरेर मोरङको उर्लाबारी–४ आइतबारे झरेका दुर्गाप्रसाद भट्टराईले पत्रकारिता पेशा रोजे । उनी पछि बहिनी ललिता र भाइ जगन्नाथ पनि यो पेशामा जोडिए । दाजु दुर्गाप्रसाद, बहिनी ललिता र भाइ जगन्नाथ सम्पादक एवम् प्रकाशक रहेर प्रकाशन भइरहेका तीन वटै साप्ताहिक पत्रिका अहिले प्रेस काउन्सिल नेपालले गरेको वर्गीकरणमा ‘क’ वर्गमा छन् ।
दुई दशक अघिदेखि निरन्तर प्रकाशन भइरहेका दुर्गाप्रसादको ‘पाथीभरा साप्ताहिक’, जगन्नाथको ‘पूर्वज्योति साप्ताहिक’ र ललिताको ‘फेवा साप्ताहिक’ ‘क’ वर्गका पत्रिका हुन् । अनलाइन र सामाजिक सञ्जालको प्रभावमा कैयौं छापा संस्करण बन्द भइरहेको अवस्थामा एकै परिवारका तीन जनाले निरन्तर ‘क’ वर्गको साप्ताहिक पत्रिका प्रकाशन गरिरहनु चानचुने कुरा होइन ।
दुर्गाप्रसाद भट्टराईले सबैभन्दा पहिले २०४३ सालदेखि तत्कालीन ‘फेवा पाक्षिक’ पत्रिकाबाट काम सुरु गरेका थिए । यो परिवारका सदस्यले अहिले ‘पाथीभरा, फेवा र पूर्वज्योति साप्ताहिक’ चलाउँछन् । तिनमा गाउँघरका समाचार धेरै हुन्छन् । दुर्गाप्रसाद भन्छन्, ‘ग्रामीण क्षेत्रका समस्या केन्द्रका सञ्चारमाध्यमको प्राथमिकतामा पर्दैनन् । हामी ती विषय उठाउँछौं ।’
आफूहरूले साप्ताहिक पत्रिका चलाएर पनि जीवन धानिरहेको बताउँछन् जगन्नाथ । दुर्गाप्रसादका सहोदर भाइ पूर्वज्योति साप्ताहिकका सम्पादक प्रकाशक जगन्नाथ भन्छन्, ‘राजधानी बाहिर हामीले गरेको पत्रकारिता उदाहरणीय नै हो भन्ने लाग्छ । किनकि अहिले पनि हामी साप्ताहिक पत्रिका प्रकाशन गरेर जीवन निर्वाह गरिरहेका छौं ।’
यो परिवारबाट दोस्रो पुस्तामा पत्रकारिता पेशा अँगाल्नेहरूमा लीलाराज भट्टराई (दुर्गाका दाजुको छोरा) र नवराज भट्टराई (लीलाराजका भाइ) छन् । लीलाराज सप्तकोशी एफएम (९० मेगाहर्ज), इटहरीको समाचार प्रमुखको रूपमा कार्यरत छन् ।
यस्तै सञ्चार क्लब नेपाल, उर्लाबारीको पूर्वअध्यक्ष नवराज हाल अनलाइन पत्रकारितामा सक्रिय छन् । यति मात्रै होइन जगन्नाथकी श्रीमती रेणुकादेवी निरौला पूर्वज्योति साप्ताहिक र अनलाइनमा महिला अधिकारसँग सम्बन्धित विचार र फिचर लेख्ने गर्छिन् । यस्तै जगन्नाथका छोरा ज्योति पूर्व ज्योति पत्रिकाको फोटो पत्रकार छन् ।
पत्रकारिता पेशामा पछिल्लो पुस्ताको आकर्षण देखिन्न । धेरै सम्पादक तथा पत्रकारहरूका छोराछोरीले यो पेशामा आँखा लगाएको पाइन्न । तर मोरङको यो भट्टराई परिवारभित्र पत्रकारिता पेशाप्रति अचम्मको आकर्षण देखिन्छ ।
मूलधारको पत्रकारितामा संलग्न पत्रकार समेत पलायन भइरहेका धेरै दृष्टान्त भेटिन्छन् । यस्तो अवस्थामा ग्रामीण पत्रकारितामा पुस्तौंपुस्ता टिकिरहनु आफैंमा सोचनीय विषय हो । कडा परिश्रम र निरन्तरको साधनाले यो परिवारका दुई पुस्ता नै यसरी पेशामा सक्रिय रहन सम्भव बनाएको स्थानीय सञ्चारकर्मीहरू बताउँछन् ।
आफ्ना अग्रजबाट नयाँ पुस्ताले पनि यही सञ्चारकर्मलाई निरन्तरता दिइरहेको उदाहरण यो परिवार भित्र छ । अघिल्लो पुस्ता छापा माध्यममा निर्भर भए पनि दोस्रो पुस्ताले छापासँगै प्रसारण र अनलाइन पत्रकारितामा हात हाल्ने काम गरेको छ । जस्तो कि लीलाराजको रेडियो पत्रकारितासँग तीन दशकको नाता जोडिइसकेको छ ।
सप्तकोशी एफएम, इटहरीमा कार्यरत उनी रेडियो पत्रकार (आरजे) मात्र नभई कुशल प्रशिक्षक समेत हुन् । पत्रकारिता शिक्षामै स्नातकोत्तर (एमए) अध्ययन गरेका लीलाराजको निरन्तरको खोजपूर्ण प्रस्तुतिमा धेरै नयाँ पुस्ताका पत्रकार समेत लाभान्वित भइरहेका छन् ।
नेपाली शिक्षामा स्नातकोत्तर (एमएड) गरेका नवराज आंशिक समय प्राध्यापन गरे पनि पत्रकारितामै आफ्नो पहिचान स्थापित गर्दैछन् । उनी हाल नेपाली पोर्टल डटकम नामक अनलाइनको प्रधानसम्पादक छन् । यसरी हेर्दा दाजुभाइ लीलाराज र नवराज आफैं छापा, प्रसारण र अनलाइन पत्रकारितामा विशिष्ट पहिचान बनाउन प्रयासरत छन् ।
जेठा दाजु त्रैलोक्यनाथका छोरा नवराज, दुर्गाप्रसादका छोरा ईश्वरी र जगन्नाथका छोरा ज्योति आफैं पत्रपत्रिकामा समाचार लेखन, सेटिङ र सम्पादन समेत गर्न सक्ने दक्ष जनशक्ति हुन् । यसै कारण यो परिवारले साप्ताहिक पत्रिका प्रकाशन गर्न कोही पनि प्राविधिक नियुक्ति गर्नुपर्ने बाध्यता छैन ।
अग्रज पत्रकारहरूको प्रेरणाले आफूहरू निरन्तर यो काममा लागेको बताउने भट्टराई परिवार सञ्चारकर्म मार्फत समाजमा सूचना प्रवाहमा क्रियाशील छ । निरन्तरको अनुसन्धान, लेखन र सूचना सङ्कलन कर्ममा परिवार नै सक्रिय हुनु एउटा उदाहरणीय काम हो ।
पत्रकारिता समाज परिवर्तनको सशक्त साधन हो । यसले सामाजिक अन्याय, भ्रष्टाचार र अनियमितता उजागर गर्न सक्ने भएकाले यसलाई समाज सुधारको एक सशक्त माध्यम पनि मानिन्छ । दुर्गाप्रसाद भन्छन्, ‘पत्रकारिताले आवाजविहीनको आवाज दिनुपर्छ, हामी त्यो काम गरिरहेका छौं ।’
‘यो एउटा उदाहरणीय काम नै हो’ मोरङका अग्रज पत्रकार मोहन भण्डारी भन्छन्, ‘आपसमा मिलेर काम गरियो भने पत्रकारिताका धेरै समस्या परिवारबाटै पनि समाधान गर्न सकिन्छ भन्ने दृष्टान्त हो यो ।’
नेपाल पत्रकार महासंघ मोरङ शाखाकी अध्यक्ष सुशीला पाठक यसलाई प्रेरक उदाहरण मान्छिन् । ‘धेरै पत्रकार पेशाबाट पलायन भइरहेको अवस्थामा एउटा परिवारका सदस्य पत्रकारितामा टिकिरहनु भनेको नयाँ आउने पुस्ताका लागि पनि उदाहरणीय काम हो’ पाठक भन्छिन्, ‘अग्रज पुस्ताको यो कार्यले पत्रकारिता मात्रै गरेर पनि जीवन चल्न सक्छ भन्ने पुष्टि गरिरहेको छ ।’
(निरौला मोरङमा कार्यरत स्वतन्त्र पत्रकार हुन् ।)
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4