 
																			१२ फागुन, झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको संघर्षबाट प्राप्त राजनीतिक परिवर्तनको रक्षा र कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन् । परिवर्तन उल्टाउन खोजे माओवादी केन्द्रले सधैं उत्पीडित समुदायको पक्षमा संघर्ष गर्ने उनको भनाइ छ ।
‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’अन्तर्गत सोमबार झापाको बाह्रदशी गाउँपालिकामा आयोजित जनभेटघाट तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो धारणा राखेका हुन् ।
वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक उत्पीडनका विरुद्ध लडिएको जनयुद्धकै कारण आज मुलुकमा समावेशी अधिकारसहितको संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको भन्दै उनले त्यसको रक्षाका लागि र विकासका लागि आम उत्पीडित वर्ग फेरि एकताबद्व भएर अगाडि बढ्नुपर्ने बताए ।
संविधानले दिएका अधिकार प्रयोग गर्न नपाउँदै जनतालाई ती अधिकारबाट बञ्चित गर्ने चलखेल पुनः सुरु भइसकेको भन्दै प्रचण्डले एकताबद्ध भएर जनताले त्यस्ता चलखेलविरुद्ध खबरदारी गर्नुपर्ने बताए । जनतालाई एकताबद्ध गराउन पनि माओवादीले अभियान चलाएको उनको भनाइ थियो ।

पूर्वी दक्षिण क्षेत्रको उत्पीडित समुदाय राजबंशीको बसोबास रहेको कोच क्षेत्रबाट अभियान सुरु गरेर पश्चिम दक्षिण क्षेत्रको थारु सघन वस्ती कन्चनपुरमा अभियान समापन गरिने जानकारी दिंदै उनले यसले पार्टीलाई आफ्नो वर्ग र समुदायमा फर्काउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
अभियानको क्रममा दक्षिण क्षेत्रमा रहेका जनताको समस्या सुन्ने, प्राकृतिक स्रोत साधनको सम्भाव्यताको खोजी गर्दै तत्काल गर्न सकिने कामका लागि राज्यको ध्यानाकर्षण गराउने र दीर्घकालीन रूपमा गर्न सकिने कामलाई योजनाबद्व रूपमा अघि बढाउने प्रचण्डले बताए ।
यो क्षेत्रमा जन्मसिद्ध नागरिकताको समस्या धेरै देखिएको उल्लेख गर्दै उनले आफू प्रधानमन्त्री भएका बेला नागरिकताविहीन नेपालीलाई नागरिकता दिलाउन प्रयास गरेको बताए । उनले मलबीउको समस्या, जंगली जनावरले पुर्याउने क्षति, नदी कटानको समस्या, सीमा क्षेत्रको शान्ति सुरक्षाको चुनौती, सर्पदंश उपचारको अभाव जस्ता समस्या बढी देखिएकाले यी समस्याको योजनाबद्व समाधानका लागि पार्टी लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4