+
+
Shares

त्रिविको स्ववियु निर्वाचनमा गुन्डागर्दीको हद, निर्वाचन समिति सदस्यको हात काट्ने धम्की

रोकियो निर्वाचन प्रक्रिया, प्रिन्सिपल कार्यालयमा ताला

प्रहरी कार्यालय परिसरमा पुगेर विद्यार्थी नेताहरूले ‘प्रक्रिया अघि बढाए हात चटचट काट्ने’ धम्की दिए, आक्रमणमा परिने डरले निर्वाचन समितिका सदस्यहरू त्रस्त छन् ।

दिनेश गौतम दिनेश गौतम
२०८१ चैत १ गते १५:५२

१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको लागि त्रिवि, विश्वविद्यालय क्याम्पसले उम्मेदवारको अन्तिम नामावली हिजो (बिहीबार) सार्वजनिक गर्नुपर्थ्यो ।

तर, सत्तारूढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) को विवादका कारण बिहीबार नामावली सार्वजनिक हुन सकेन ।

विवाद उत्कर्षमा पुगेर नेविसंघकै विद्यार्थी नेताले भौतिक आक्रमणसम्मको धम्की दिएपछि निर्वाचन समितिले नाम सार्वजनिक गर्न नसकेको हो ।

नेविसंघबाट अनोज कार्की र दीपकराज जोशीले अध्यक्षका लागि उम्मेदवारी दिएका थिए । एउटै संगठनबाट दुई जनाको उम्मेदवारी परेपछि आधिकारिक कसलाई मान्ने भन्नेमा प्रश्न उठ्यो ।

त्यसपछि निर्वाचन समितिले नेविसंघ केन्द्रीय कमिटीलाई आधिकारिक कसलाई मान्ने भनेर सोध्यो ।

जसमा नेविसंघले जोशी समूह आधिकारिक भएको पत्र पठाएपछि निर्वाचन समितिले कार्कीको उम्मेदवारी खारेज गरेर आन्तिम नामावली सार्वजनिक गर्ने तयारी गर्‍यो ।

सोही अनुसार निर्वाचन कमिटीले नाम तयार गर्न थाल्यो ।

नेविसंघका असन्तुष्ट समूहले निर्वाचन समितिका ११ सदस्य र प्रिन्सिपललाई समेत नाम सार्वजनिक नगर्न दबाब दियो ।

निर्वाचन समितिका सदस्यहरू त्रिवि परिसरमा भेला हुन सकेनन् । र, बैठकका लागि समितिक सदस्यहरू कीर्तिपुर प्रहरी चौकीमा बिहीबार दिउँसो ४ बजे भेला भए ।

प्रिन्सिपल अक्कलदेव मिश्र पनि प्रहरी चौकीमै पुगे ।

‘डीएसपी सरको कार्यालयमा छलफल गरिरहेका थियौं । नेविसंघका चार जना विद्यार्थी नेता परिसरमा आएर धम्क्याए,’ बैठकमा सहभागी एक सदस्यले भने, ‘विद्यार्थी नेताले प्रक्रिया अगाडि बढाए चटचट हात काट्ने धम्की दिए ।’

विद्यार्थी नेताबाट भौतिक आक्रमणमा पर्ने डरले ती सदस्यले धम्की दिने विद्यार्थीको नाम भने खुलाउन चाहेनन् । उनले थपे, ‘प्रहरी पसिरभित्रै विद्यार्थी नेताबाट भौतिक आक्रमणको धम्की आयो ।’

कार्यतालिका अनुसार १ बजेसम्म नाम फिर्ता लिन चाहेमा उम्मेदवारले फिर्ता लिन सक्ने र २ बजे अन्तिम नामवली सार्वजनिक गर्ने थियो । बिहीबार निर्वाचन समितिले त्रिवि सल्लाहकार, उपकुलपति केशरजंग बराल, रेक्टर खड्ग केसी र रजिस्ट्रार केदार प्रसाद रिजालसँग पनि छलफल गरेर आधिकारिक बाहेक अर्को समूहको नाम काटेर अन्तिम नामावली सार्वजनिक गर्ने सहमति भएको थियो ।

तर प्रहरी चौकीमा बसेको बैठकले पनि निर्णय लिन सकेन । त्यसपछि निर्वाचन समितिका सदस्यहरू पठोओ चढेर विश्वविद्यालय परिसरभित्र छिरे । ती चार जनाको विद्यार्थी समूहले सदस्यहरूलाई पछ्याउँदै हिँडे ।

‘त्रिवि परिसरभित्र हामी छिरेपछि पनि विद्यार्थी नेताले पछ्याउन छाडेनन् । समितिका सदस्यहरूलाई भेला हुनै दिएनन्,’ समितिका एक सदस्यले भने, ‘हामी जता जान्छौं त्यतै पछि लागिरहे ।’

यतिसम्म कि, विद्यार्थी नेताले त्रिवि परिसरमा समितिका सदस्यको मोबाइल समेत खोसेर खानतलासी गरेको गुनासो समितिका सदस्यहरूको छ ।

डर र धम्कीबीच निर्वाचन समितिले रात परेपछि बैठक बसेर अन्तिम नाम सार्वजनिक गर्ने तयारी गरेको थियो । तर विद्यार्थी नेताहरू फेरि पुगे । ‘धम्की दिने विद्यार्थी नेता लाखापाखा लागेपछि निर्वाचन कार्यालयमै बसेर राति नाम सार्वजनिक गर्न खोजेका थियौं,’ निर्वाचन समितिका एक सदस्य भन्छन्, ‘विद्यार्थी आएर घेरा हाले । राति २ बजेसम्म प्रयास गर्‍यौं । तर सम्भव भएन ।’

राति दुई बजे अनलाइनखबरको सम्पर्कमा आएका एक सदस्यले थप भने, ‘भौतिक आक्रमणको जोखिम भएपछि नाम सार्वजनिक गर्न सकिएन ।’

यसरी त्रिवि, विश्वविद्यालय क्याम्पसको निर्वाचन कार्यातालिका प्रभावित भयो ।

समितिका सदस्यहरू शुक्रबार बिहान बैठक बसेर थप निर्णय गर्न खोजेका थिए । तर, विद्यार्थी नेताको धम्कीका करण बैठक बस्न सकेको छैन । ‘बिहान ६ बजेदेखि नै धम्की आइरहेको छ । बैठक बस्न सकेको छैन,’ ती सदस्य भन्छन् ।

विवाद के हो ?

विश्वविद्यालय क्याम्पसमा नेविसंघको दुई समूहको उम्मेदवारीका कारण विवाद भएको समिति सदस्यहरूको दाबी छ ।

२७ फागुनमा उम्मेदवारी दर्ता गरेका दुवै समूहले आफू आधिकारिक भएको दाबी गरेका छन् । कार्कीको पक्षमा त्रिवि नेविसंघ नेतृत्वसहित केन्द्रीय तहका नेताहरूको पनि सहमतिमा उम्मेदवारी दिएकोले आफूहरू आधिकारिक रहेको यो समूहको दाबी छ ।

त्रिविका स्ववियु सभापति श्यामराज ओझा पनि कार्कीको पक्षमा छन् । ‘अनोज कार्की आधिकारिक उम्मेदवार हो,’ उनले भने ।

तर, नेविसंघले पनि आधिकारिक उम्मेदवार जोशी नै रहेको स्पष्ट पारेको छ । ‘आधिकारिक उम्मेदवार दीपक जोशी हो । त्रिवि समिति भनेर अर्को पनि उम्मेदवार परेको छ । मिलाउने प्रयास गरिरहेका छौं,’ नेविसंघ प्रवक्ता सुरज सेजुवालले भने ।

२७ फागुनमा उम्मेदवारी दिने समय सकिएपछि नाम सार्वजनिक गर्दा कार्कीको नाम निर्वाचन कार्यालयले सार्वजनिक गरेको थिएन । त्यसपछि सो समूहले प्रिन्सिपल कार्यालयमा ताला लगाएपछि कार्की समूहको पनि नाम राखेर सार्वजनिक गरिएको थियो ।

विवाद भएपछि निर्वाचन अधिकृतको राजीनामा माग गरेर यो कार्की समूहले ताला लगाएको हो । मुख्य निर्वाचन अधिकृतमा प्रा.डा. कृष्णप्रसाद न्यौपाने छन् । त्रिविमा स्ववियु चुनाव ५ चैतमा हुँदै छ ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?