+
+
Shares

उच्च पदस्थलाई धम्की दिने पाठक ६५ लाख ठगीका फरार अभियुक्त, ४ मुद्दाका आरोपी

उच्च पदस्थलाई ज्यान मार्नेसम्मको धम्की दिने प्रकाश पाठक सार्वजनिक अपराधदेखि ठगीका अभियुक्त रहेको खुलेको छ । रकम असुल्ने उद्देश्य वा कसैले सुपारी दिएर धम्क्याउन लगाएको हुनसक्ने आशंका प्रहरीको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ मंसिर २२ गते १४:५४

२२ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० उच्च पदस्थ व्यक्तिलाई धम्की दिने व्यक्ति पटके कसुरदार रहेको खुलेको छ ।

एक पत्र र भिडियो सन्देशमार्फत धम्की दिएको खुलेपछि प्रहरीले ती व्यक्तिमाथि अनुसन्धान गरेको थियो । सो क्रममा यसरी धम्की दिने व्यक्ति काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका ३३ वर्षीय प्रकाश पाठक रहेको खुलेको हो ।

उनै पाठक भने यसअघि चार पटकसम्म विभिन्न कसुरमा मुद्दा चलेको व्यक्ति रहेको खुलेको छ । उनीमाथि अनुसन्धान गर्ने क्रममा प्रहरीको सीआरएस (क्रिमिलन रेकर्ड सिस्टम) जाँच गर्दा चार वटा कसुरमा मुद्दा चलेको खुलेको प्रहरी स्रोतले बतायो ।

पाठकमाथि सार्वजनिक अपराध (अभद्र व्यवहारको कसुर)देखि ठगी तथा आपराधकि विश्वास, आपराधिक लाभसम्मको मुद्दा चलेको भेटिएको छ ।

उनीमाथि सुरुमा ९ असार २०७० मा केही सार्वजनिक अपराधको कसुरमा प्रहरी वृत्त बौद्धबाट मुद्दा चलेको भेटिएको छ । पहिलो पटक बौद्ध प्रहरीले उनलाई आज भन्दा १२ वर्ष पहिला पक्राउ गरेर मुद्दा चलाएको भेटिएको हो ।

त्यतिबेलै उनीमाथि बौद्ध प्रहरीले अर्को सार्वजनिक मुद्दाको कसुर पनि चलाएको थियो । हो–हल्ला गरी सवारी आवगमनलाई अवरोध गरेको कसुरमा दोस्रो अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको थियो ।

सार्वजनिक अपराधको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट छुटेका उनी त्यसपछि पनि उनी फेरि आपराधिक धन्दामा लागेको देखिन्छ ।

एमबीबीएस अध्ययनमा नाम निकाल्दिने भन्दै १२ लाख असुली

पहिलो पटक पक्राउ परेको ६ वर्षपछि फेरि उनी आपराधिक धन्दामा लागेको खुलेको छ । २३ जेठ २०७६ मा ठगी विश्वासघात तथा आपराधिक लाभको कसुरमा उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो ।

उनीविरुद्ध त्यतिबेला बाँकेको नेपालगञ्ज उपमहानरपालिका–९ कि मिमकोषा शाहीले जाहेरी जाहेरी दिएकी थिइन् । उनका छोरा दिवस बिसी एमबीबीएस अध्ययन गर्नेभन्दै त्यतिबेला भरतपुर मेडिकल कलेजमा समेत आवेदन दिएका थिए । साथीमार्फत दिवसको चिनजान अहिले धम्की दिने प्रकाश पाठकसँग भएको थियो ।

पाठकले नै दिवसलाई डाक्टर अध्यनन गर्न नाम निकादिने भन्दै प्रलोभन देखाएका थिए । काठमाडौंको पुतलीसडकमा पाठकसँग समेत भेट गरिएको पीडितले त्यतिबेला दिएको जाहेरीमा उल्लेख छ ।

त्यतिबेला पाठकले आफूले स्वास्थ्य मन्त्रालयको मन्त्रीको पीए र वरिष्ठ व्यक्तिलाई चिनेको भन्दै नाम निकाल्नुपर्ने भए कम्तीमा पनि १२ लाख लाग्ने बताएका थिए । डाक्टर अध्ययनका लागि छोराको नाम निकाल्दिने बताएपछि विश्वास गरेर १२ लाख रुपैयाँ पाठकलाई दिएको मिमकोषाले दिएको जाहेरीमा उल्लेख छ ।

को हुन् उच्च पदस्थलाई धम्क्याउने प्रकाश पाठक ? – Online Khabar
प्रकाश पाठक ।

‘नेपालगञ्जमा रहेको घर राष्ट्रिय वाणिज्य बैंकमा धितो राखी निकालेको पैसा एनआईसी एसिया बैंकको चेकमार्फत पाठकको अकाउन्टमा जम्मा गरिदिन खोज्दा अहिले कसैको पनि नाम नलेखी चेक दिनु भनेका मैले ३ वटा चेकमार्फत १२ लाख रुपैयाँ दिएको हुँ,’ मिमकोषाले जाहेरीमा उल्लेख गरेकी थिइन् ।

तर पछि छोरा दिवसको नाम एमबीबीएस अध्ययनका लागि निस्केन । त्यसपछि काभ्रेस्थित पाठककै घर पुगेर रकम फिर्ता समेत माग गरेको पीडित महिलाको भनाइ छ । तर पाठकले भने ‘मैले पैसा निकालेको छैन, जसले निकालेको हो उसैलाई भन्नु’ भन्ने जवाफ दिएका थिए ।

बैंकमा जानकारी गराउँदा नाम उल्लेख नभएको चेकमा पाठकले आफ्नै नाम लेखेर नागरिकता समेत पेश गरेर रकम लगेको देखिएको थियो । त्यसपछि उनीविरुद्ध परिसर काठमाडौंमा जाहेरी दिइएको थियो । मुद्दा परेर पक्राउ परेपछि रकम फिर्ता गरेको प्रहरीको अभिलेखमा देखिएको छ ।

६५ लाख ठगेर फरार

यो घटनामा मिलापत्र भए पनि अहिले परिसरमै दायर भएको अर्को मुद्दामा भने उनी फरार रहेको देखिएको छ । ६५ लाख रुपैयाँ मुद्दाका उनी फरार प्रतिवादी हुन् ।

उनीविरुद्ध परिसर काठमाडौंमै २६ मंसिर २०८० मा अर्को ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभको कसुरमा जाहेरी परेको देखिन्छ । ६ जनाबाट उनले ६५ लाख ठगी गरेर फरार भएको देखिएको हो ।

उनीविरुद्ध सुरेश ताङनी, देवराज थापा, नबीन गुरुङ, जेनिश अधिकारी, राजु आचार्य र युवराज रेश्मी मगरले जाहेरी दिएका थिए । वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाउने भन्दै उनीहरूबाट पाठकले ६५ लाख उठाएर फरार भएको देखिएको छ ।

पीडित युवाहरूले दिएको जाहेरी अनुसार पाठकले ठमेलको छायाँ सेन्टरमा कन्सलटेन्सी चलाउँथे । उनै पाठकले वैदेशिक रोजगारीमा न्यूजिल्याण्ड पठाउने बताएपछि छायाँ सेन्टरको कन्सलटेन्सीमै पुगेर रकम दिएको जाहेरीमा उल्लेख छ ।

जसमा देवराज थापाले २१ लाख ५० हजार, युवराज रेश्मी मगरले १७ लाख ५० हजार, नवीन गुरुङले ८ लाख, सुरेश ताङनीले ४ लाख ५० हजार, राजु आचार्यले ९ लाख ५० हजार र जेनिश अधिकारीले ४ लाख गरी ६५ लाख रुपैयाँ बुझाएको खुलेको छ ।

विदेश जान भनेर रकम दिएपछि भने उनी सम्पर्कबिहिन भएको बताइएको छ । जाहेरवाला मध्ये राजु आचार्य अवकाशप्राप्त नेपाली सेना हुन् । अवकाश भएपछि रोजगारीका लागि विदेश जाने भन्दै रकम बुझाएको उनले बताएका छन् ।

मासिक २ लाख रुपैयाँसम्म कमाई हुने भन्दै प्रलोभन देखाएर उनीहरूबाट रकम असुलेर पाठक फरार भएको देखिएको छ । त्यसयता उनी अहिलेसम्म फरार नै छ । पाठक लामो समयसम्म फरार भएपछि उनलाई फरार प्रतिवादी बनाएर १७ मंसिर २०८१ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । ठगी आपराधिक विश्वासघातको यो मुद्दा विचाराधीन अवस्था छ ।

उच्च पदस्थलाई ज्यान मार्नेसम्मको धम्की दिने पाठक सार्वजनिक अपराधदेखि ६५ लाख ठगेर फरार भएका अभियुक्त रहेको खुलेपछि प्रहरी अधिकारीहरूले विभिन्न कोणबाट अनुसन्धान गरेका छन् । पाठकको आपराधिक पृष्ठभूमि देखिएकाले रकम असुल्ने उदेश्य वा कसैले सुपारी दिएर धम्क्याउने लगाएको हुनसक्ने आशंका गरिएको छ । अहिले यही कोणमा केन्द्रीत रहेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

३ जनामाथि अनुसन्धान

पाठक अहिले देश बाहिर रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यद्यपी उनीसँग सम्पर्क देखिएका केही व्यक्तिलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको बताए ।

‘धम्क्याउने व्यक्तिसँग निकट रहेको देखिएपछि तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेका छौं,’ एसपी भट्टराईले भने, ‘अहिले अनुसन्धानकै क्रममा रहेकाले थप भन्न सक्ने अवस्था छैन ।’

प्रहरी हिरासतमा रहेकाहरूको परिचय समेत प्रहरीले गोप्य राखेको छ । धम्की दिएका प्रकाश पाठक नाम गरेका व्यक्तिसँग कनेक्सन देखिएको तथा चिनजानका व्यक्तिहरू रहेको प्रहरीले बताएको छ ।

‘धम्की दिने भनिएका व्यक्तिसँग अहिले पक्राउ गरेकाहरूको चिनजान र सम्पर्क देखिएको छ । हामी विभिन्न प्राविधिक कोणबाट पनि अनुसन्धान गरिरहेका छौं,’ एक अनुसन्धान अधिकृतले भने ।

पत्र र भिडियोमार्फत धम्की

केही दिनअघि मिति उल्लेख नगरी दुई पृष्ठ लामो पत्र सार्वजनिक भएको थियो । निकै शंकास्पद र गम्भीर विषयहरू उल्लेखित यो पत्रले अहिले ठूलो हलचल र चिन्ता उब्जायो । यो विषय सुरक्षा संयन्त्रको टाउको दुखाइ बनेको छ ।

धम्कीसहितको पत्र आएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयले मातहतका प्रहरी कार्यालयहरूलाई निर्देशन दिँदै सुरक्षा सतर्कता अपनाउन र अनुसन्धान गर्न भनेको थियो । ‘एस्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ (ईएनजी) भनेर लेटरहेडमा लेखिएको पत्रमा ‘चेयरमेन’ भनेर प्रकाश पाठकको नाम उल्लेख छ ।

जहाँ अख्तियारका प्रमुख आयुक्त राईदेखि नेपाल आयल निगमका पूर्वप्रमुख गोपाल खड्का, अख्तियारकै पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्की, मेडिकल व्यवसायी दुर्गा प्रसाईं, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पूर्वआईजीपी ओमविक्रम राना, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी, पूर्वपरराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवा, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणको नाम उल्लेख गर्दै धम्की दिइएको छ ।

यतिमात्रै होइन यो पत्र सार्वजनिक भएपछि एउटा भिडियो सन्देश समेत सार्वजनिक गर्दै प्रकाश पाठक नाम बताउनेले १० दिनभित्र राजीनामा दिन अख्तियार प्रमुख राईलाई धम्की दिएका छन् ।

बहालवाला अख्तियार प्रमुखलाई ज्यान मार्नेसम्मको धम्की आएपछि यसबारे अख्तियारले प्रहरीसँग समेत छलफल गरेको थियो ।

अख्तियारको केन्द्रीय कार्यालय टंगालमा गत सोमबार (एक साताअधि) काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकृतलाई बोलाएर घटनाबारे जानकारी गराइएको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा यसरी धम्की दिने व्यक्ति भने नेपालमा नरहेको प्रहरी स्रोतले बतायो । विदेशमा रहेर आतंक फैलाउने उद्देश्यले यस्तो धम्की दिएको हुनसक्ने सुरक्षा निकायको विश्लेषण छ ।

अहिले अनुसन्धानकै क्रममा रहेको भन्दै यसबारे प्रहरी अधिकारीहरूले केही बोलेका छैनन् । भिडियोमा ती व्यक्तिले भने आफू भारतमा रहेको दाबी गरेका छन् । एक घण्टामै तीन/चार ठाउँ सरेर आफू बस्ने गरेकाले प्रहरीले नभेट्ने दाबी गर्दै सुरक्षा संयन्त्रलाई खुल्ला चुनौती दिएका छन् ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?