+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares
विशेष अदालतमा अख्तियारकाे पत्र :

पोखरा विमानस्थलमा भ्रष्टाचार : थप ३ विषयमा अनुसन्धान बाँकी

अख्तियारले विशेष अदालतमा पेश गरेको विवरणमा चिनियाँ ठेकेदार कम्पनीलाई कर छुट, छिनेडाँडा/रिट्ठेपानी डाँडा कटान र परामर्शदाता नियुक्तिको विषयमा अनुसन्धान गर्न बाँकी रहेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते ७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा तीन छुट्टाछुट्टै भ्रष्टाचारको फाइलमाथि अनुसन्धान गर्न बाँकी रहेको जनाएको छ।
  • अख्तियारले चिनियाँ ठेकेदारलाई कर छुट, छिनेडाँडा/रिट्ठेपानी डाँडा कटान र परामर्शदाता नियुक्तिमा अनुसन्धान शुरु भएको दावी गरेको छ।
  • सार्वजनिक लेखा समितिले कर छुट र भुक्तानीमा अनियमितता देखाएको विषयमा अख्तियारले थप अनुसन्धान गर्ने निर्णय गरेको छ।

२२ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अरु तीन छुट्टाछुट्टै भ्रष्टाचारको फाइलमाथि अनुसन्धान गर्न बाँकी रहेको जनाएको छ ।

अख्तियारले विशेष अदालतमा पेश गरेको विवरणमा चीनको ठेकेदार कम्पनीलाई कर छुट, छिनेडाँडा/रिट्ठेपानी डाँडा कटान र परामर्शदाता नियुक्तिको विषयमा अनुसन्धान गर्न बाँकी रहेको जनाएको हो ।

अख्तियारले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको दावी सहित आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले दावी गरेको आठ अर्ब ३६ करोड रुपैयाँको विगो लागत बढाइएको शीर्षकमा मात्रै हो ।

अख्तियारले विशेष अदालतमा अनुसन्धान शुरु भएका तीनवटा विवरण पठाएको छ । पहिलो, विमानस्थल निर्माण गर्दा मूल सम्झौता विपरीत चिनियाँ कम्पनीलाई कर छुट दिएको विषयमा छुट्टै अनुसन्धान अधिकृत तोकिएको अख्तियारको दावी छ । कर छुट दिँदा पनि अनियमितता भएको भनी संसदको सार्वजनिक लेखा समितिले दावी गरेको थियो ।

लेखा समितिको दावी अनुसार, कर छुट भएको रकममात्रै २ अर्ब २० करोड रुपैयाँ रहेको फेला पारेको थियो । विभिन्न सरकार, मन्त्रीहरु र सचिवसमेत संलग्न भएको भन्दै लेखा समितिले त्यसलाई ‘सरासर भ्रष्टाचार देखिने काम’ भनेको हो ।

ठेक्का सम्झौतामा नै करसम्बन्धी दायित्व ठेकेदार कम्पनीको हुने भन्ने उल्लेख भएकोमा त्यसविपरीत विभिन्न सरकारले चिनियाँ कम्पनीलाई कर छुट दिएको लेखा समितिको दावी थियो, जुन विषयलाई अख्तियारले अनुसन्धान शुरु भएको जनाएको हो ।

दोस्रो, विमानस्थल निर्माण गर्दा रनवेको उचाइ वास्तविकभन्दा कम बनाइएको आरोप थियो । त्यसो गर्दा विमानस्थल सामुन्नेको छिनेडाँडा/रिट्ठेपानी डाँडा काट्नुपरेको थियो । डाँडा काट्दा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट भुक्तानी भएको ३२ करोड २ लाखको निर्णयमाथि पनि अर्को अनुसन्धान भइरहेको जनाएको छ । यसबारे पनि लेखा समितिको प्रतिवेदनले प्रश्न उठाएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र ठेकेदार चिनियाँ कम्पनीबिचको सम्झौता अनुसार, ‘अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउन सबै सुविधाहरु सबै पूर्वाधारहरु निर्माण गर्ने दायित्व ठेकेदारको हुने’ भन्ने उल्लेख थियो ।

उक्त व्यवस्था अनुसार विमानस्थलको अगाडि पर्ने छिनेडाँडा चिनियाँ ठेकेदारले काट्नुपर्ने थियो । सम्झौता विपरीत क्यानले ३२ करोड २ लाख रुपैयाँ निर्माण व्यवसायीलाई भुक्तानी गरेको थियो । लेखा समितिले त्यसलाई ‘सिधै अनियमितता र भ्रष्टाचारजन्य काम’ भनेको थियो ।

तेस्रो विषय परामर्शदाता नियुक्तिसँग सम्बन्धित हो । क्यान र चिनियाँ सीएएमसी इञ्जिनियरिङ कम्पनीबिच भएको सम्झौता अनुसार २८ लाख अमेरिकी डलरबाट परामर्शदाता नियुक्ति गर्नुपर्ने थियो ।

ठेक्का सम्झौतामा ठेकेदार कम्पनीले नै विमानस्थल निर्माणको परामर्शदाता कम्पनी नियुक्त गर्नुपर्ने उल्लेख थियो । त्यसबाट खर्च नगरी प्राधिकरणको छुट्टै बजेटबाट परामर्शदाता नियुक्त गरिएको भन्दै अख्तियारले त्यसमा पनि छुट्टै अनुसन्धान बाँकी रहेको जनाएको हो ।

प्राधिकरणले आफ्नै स्रोतबाट खर्च बेहोर्ने गरी परामर्शदाता नियुक्त गरेको थियो । लेखा समितिले त्यसलाई ‘अनियमितता र भ्रष्टाचार’ भन्दै भुक्तानीमा प्रश्न उठाएको थियो । अख्तियारले यो विषयमा समेत अनुसन्धान शुरु भएको दावी गरेको छ ।

अख्तियारले विशेष अदालतमा पठाएको विवरणमा भनिएको छ, ‘प्रस्तुत मुद्दाका फरक–फरक प्रकृतिका र फरक–फरक समय अवधिका वारदात फरक–फरक निर्णयकर्ता भएको निम्नानुसारका विषयमा छुट्टै अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान गर्ने गरी आयोगबाट निर्णय भएको व्यहोरा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?