
भाग्य बदलिन बेर लाग्दैन भन्ने कहावत न्युजिल्याण्डमा एउटा माछाको हकमा ठ्याक्कै लागू भएको छ ।
ब्लब फिस नामक माछाको निकै अनाकर्षक शरीरका कारण यो संसारकै सबैभन्दा कुरुप जीवको रुपमा लिइन्थ्यो । तर, गत हप्ता यसको भाग्य एकाएक चम्कियो ।
न्युजिल्याण्डको एक वातावरण संस्थाले यो माछालाई वर्ष माछा (फिस अफ द इयर) को उपाधि प्रदान गरेको छ ।
न्युजिल्याण्डमा क्रियाशील द माउन्टेन टु सी कन्जरभेसन ट्रस्टले देशको सामुद्रिक तथा ताजा पानीको जैविक विविधता संरक्षणमा जनचेतना वृद्धि गर्न हरेक वर्ष वार्षिक प्रतियोगिताको आयोजना गर्ने गर्दछ । यो वर्षको प्रतियोगितामा सोही ब्लब माछाले बाजी मारेको छ ।
कूल पाँच हजार ५०० भोटमध्ये यो माछाले १३०० भोट प्राप्त गरी पहिलो स्थान प्राप्त गर्यो । यसले सुन्दरता भनेको हेर्नेको नजरमा हुन्छ भन्ने भनाइलाई पुष्टि मात्र गरेन संसारकै असाधारण तथा कुरुप जीवको पनि पारिस्थितिकीय महत्व हुन्छ भन्ने कुरा प्रमाणित गरेको छ ।
करिब ३० सेन्टिमिटर सम्म लामो हुने यो माछा मिस्टर ब्लब्बीको नामले पनि चिनिन्छ र यसलाई कुरुप जनावर संरक्षण समाजले आफ्नो आधिकारिक मस्कटमा समावेश गरेको छ ।
समुद्रको गहिराइमा बस्ने यो माछाको टाउको बल्ब जस्तै फुल्लिएको हुन्छ भने छाला खुकुलो र नरम हुन्छ । यो माछा अष्ट्रेलियाको दक्षिणपूर्वी तटीय क्षेत्र, तास्मानिया तथा न्युजिल्याण्डमा पाइन्छ ।
यो माछाको आयु १३० वर्षसम्म हुन्छ भने यसको वृद्धि निकै सुस्त हुनुका साथै निकै सुस्त गतिमा यो पौडिन्छ । यो माछा सन्तानप्रति निकै समर्पित मानिन्छ । पोथी माछाले एउटै गुँडमा एक लाखजति अण्डा पार्छ र ती अण्डाबाट भुरा निस्किने बेलासम्म त्यहीँ गुँडको सुरक्षा गरेर बस्दछ ।
करिब एक दशकअघि न्युजिल्याण्डको एक सामुद्रिक शोध जहाजका अनुसन्धानकर्ताले तस्वीर खिचेर सार्वजनकि गरेसँगै यो माछा पहिलोपटक चर्चामा आएको थियो ।
प्रतिक्रिया 4