
१८ वैशाख, काठमाडौं। जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले बुधबार गर्न लागेको एकता घोषणा सभा बिथोलिए पछि नयाँ मिति तोक्न सकेका छैनन् ।
दुई दलले एकताको लागि निरन्तर संवाद गरेर १७ वैशाखमा एकता गर्ने निश्चित गरेका थिए । हिजो एकता गरेर १९ बैशाखमा (शुक्रबार) निर्वाचन आयोगका दल दर्ता गर्ने तयारी गरिएको थियो ।
बिहीबार एकता घोषणा सभा हुनु अघि नाउपाका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेपछि एकीकरण हुन सकेन । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले लेखेको पत्रको आधारमा प्रहरीले बिहीबार चौधरीलाई प्रक्राउ गरेको थियो । विष्टले अनधिकृत पत्र लेखेको भन्दै सर्वोच्चको अर्को पत्रको आधारमा चौधरी हिजो नै रिहा भएका थिए ।
जनमत र नाउपाका नेताहरुका अनुसार चौधरी रिहा भएपछि हिजो नै एकता टुंग्याउने तयारी पनि भएको थियो । बिहीबार राति संयुक्त बैठक बस्ने भनिए पनि औपचारिक रुपमा बस्न नसकेको दुई दलका नेताहरुले जानकारी गराएका छन् ।
मध्य वानेश्वरस्थित एक पार्टी प्यालेसमा नाउपाका नेताहरुको छलफल भएको थियो । उक्त छलफलमा जनमतका उपाध्यक्ष अब्दुल खान र प्रवक्ता डा.शरदसिंह यादव पुगेका थिए । ‘हिजो रेशम जी रिहा भएपछि खुसायाली मनाउने कार्य भयो । एकता घोषणा गर्न माहोल नै भएन,’ जनमत उपाध्यक्ष खानले भने ।
बिहीबारको प्रकरणको समीक्षा गरिसके पछि मात्रै एकताको नयाँ मिति घोषणा हुने जनमतका उपाध्यक्ष खानले जानकारी गराए । ‘घटना घटिसके पछि समीक्षा गर्नुपर्ने आवश्यकता छ । सरकार र अदालत सबैको समीक्षा गर्छौं,’ खानले अनलाइनखबरसँग भने,‘फेरि पनि घटना हुने सम्भावना छ कि भनेर छलफल गर्छौं ।’
जनमत र नाउपामा एउटा कर्मचारीको भरमा मात्रै बिहीबारको घटना नभएको बुझाइ छ । अधिकृत तहको कर्मचारी विष्टले राज्य वा अदालतको उपल्लो तहबाट आड नभई प्रहरीलाई पत्र लेख्न आँट कसरी आयो भनि नाउपा महासचिव ठाकुरसिंह थारु आशंका व्यक्त गर्छन् ।
दुबै दलको केन्द्रीय समितिले एकीकरण गर्ने औपचारिक निर्णय गरिसकेको छ । बिहीबारको घटनाले थप छलफल गरेर अघि बढ्नुपर्ने अवस्था बनेको हुँदा एकीकरण घोषणा हुनका लागि केही समय लाग्ने जनमत उपाध्यक्ष खान बताउँछन् ।
हिजोको घटनालाई समीक्षा गर्न बिहीबार र बुधबार दुबै दलको आ आफ्नो तरिकाले अनौपचारिक बैठक बसेको छ । नाउपा महासचिव ठाकुर सिंह थारूका अनुसार सोमबारभित्र एकता घोषणा गर्ने गरी तयारी अघि बढेको छ । एकता घोषणा वृहत् नहुने थारुले जानकारी गराए ।
उनले भने,‘नाउपाबाट १२/१५ जना र जनमतबाट १२/१५ जना नेता सहभागी भएर एकता घोषणा हुन्छ,’ थारूले भने,‘ठूलो संख्यामा कार्यकर्ता बोलाएर एकता घोषणा सभा हुँदैन ।’ दुई दलको अनौपचारिक रुपमा संयुक्त बैठक बसेर नयाँ मिति तय गरिने उनले जानकारी गराए ।
दुई दलबीच पार्टी नाम, चुनाव चिन्ह, संरक्षक, अध्यक्ष, सह अध्यक्षको टुंगो लागिसकेको छ । एकीकृत दलको नाम नागरिक जनमत पार्टी हुने दुई दलमा सहमति बनेको छ । चुनाव चिन्ह ढकिया राखिएको छ ।
पार्टीमा पहिलो वरियतामा संरक्षक रेशम चौधरी, कार्यकारी अध्यक्षका रुपमा डा.सीके राउत र सह अध्यक्ष रञ्जिता श्रेष्ठ हुने सहमति बनेको छ । नेताहरुका अनुसार २५ जना पदाधिकारी रहनेछन् । पदाधिकारीमा जनमतबाट १२, नाउपाबाट १२ र संरक्षक गरेर २५ जना हुनेछन् ।
कार्यसम्पादन समिति ५१ जनाको बनाउन लागिएको छ । दुबै दलबाट २५/२५ जना हुने र संरक्षक गरी ५१ जनाको कार्यसम्पादन समिति गठन हुने नेताहरुले जानकारी गराएका छन् । केन्द्रीय समिति दुबै दलबाट १७५/१७५ गरी ३५० जनाको हुने जानकारी गराइएको छ ।
दुई दलको सांगठनिक अवस्था हेर्ने गरी भौगोलिकताको आधारमा छुट्याइएको छ । चितवन पूर्वको पार्टी संरचना राउत र त्यसभन्दा पश्चिमको चौधरीले हेर्ने गरी सहमति गरिएको छ । प्रतिनिधि सभा र प्रदेश सभामा संसदीय दलको नेता, सचेतक एकीकरण घोषणापछि निर्णयमा पुगिने नेताहरुले जानकारी गराएका छन् ।
प्रतिक्रिया 4