
News Summary
Generated by OK AI. Editorially reviewed.- मेयर हर्क साम्पाङले राजनीतिक दल खोल्न लागेको घोषणा गरेका छन् र संगठन निर्माणलाई प्राथमिकता दिएका छन्।
- उनी श्रम संस्कृति र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थालाई मुख्य एजेण्डा बनाउँदै छन् र पहिचान र प्रदेश नामको विषयमा असन्तुष्टि व्यक्त गरेका छन्।
- साम्पाङले दल खोल्न ढिलाइ भएकोमा चिन्ता व्यक्त गर्दै, आगामी चुनावमा प्रतिस्पर्धा गर्न संगठन निर्माण आवश्यक रहेको बताएका छन्।
२ जेठ, इलाम । धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले बिहीबार इलाम चोकमा झण्डै एक घण्टा सम्बोधन गरे । सम्बोधनको सार भने आफूले राजनीतिक दल खोल्न लागेको सूचना दिनु थियो ।
सम्बोधनभर साम्पाङले श्रम संस्कृति, मुलुकको शासकीय संरचना र पुराना दलहरुको कमजोरीबारे बोले । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्न संगठन निर्माण आवश्यक परेको उनको प्रष्टोक्ति थियो ।
गैरदलीय उम्मेदवार बनेर मेयर निर्वाचित भएपछि धरान उपमहानगरमा साम्पाङले श्रमदान अभियान चलाइरहेका छन् । बिहीबारको सम्बोधनमा उनले मूलतः तिनै श्रम संस्कृति र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थाको पक्षमा बोलेका थिए ।
‘देशलाई माया गर्ने र कर्ममा रमाउनेहरु भविष्यमा संगठित भएर जानुपर्छ’, उनको सार्वजनिक अपिल थियो । दल खोल्न ढिलाइ भइसकेको राजनीतिक विश्लेषण पनि साम्पाङले सुनाए । अहिले नै संगठन निर्माण नगरे आगामी चुनावमा प्रतिस्पर्धी शक्ति बन्न ढिलाइ हुने उनको बुझाइ थियो ।
तर काठमाडौं महानगरका मेयर बालेन र नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङसँग मिलेर पार्टी बनाउन खोज्दा आफ्नो अभियान ढिलो हुन पुगेको संकेत साम्पाङले दिए ।
‘बालेनजीलाई, कुलमानजीलाई मैले भनेको, एउटा संगठन निर्माण गर्नुपर्छ, राजनैतिक शक्ति बनाउनुपर्छ भनेर पब्लिकले भनिराछ, के छ विचार भनेर सोधेको, बोल्नै हुन्न वहाँहरु, बोल कि बोल भन्न पनि नमिल्ने’, मेयर साम्पाङले भने ।
बालेन र कुलमानले प्रष्ट जवाफ नदिएपनि सामाजिक सञ्जालमा देखिएका आफ्ना समर्थकहरुलाई निराश नबनाउन पनि दल खोल्न कस्सिएको उनको प्रष्टोक्ति थियो । अर्थात् मेयर साम्पाङ दल निर्माणको तयारी अन्तर्गत संगठन निर्माणका लागि इलाम पुगेका हुन् ।
सार्वजनिक सभापछि युवाहरुसँग क्लोज क्याम्पमा पनि उनी बसेका थिए । युवाहरुसँगको त्यो बसाइमा अहिले देखिएको स्वतन्त्रहरुको भीड व्यवस्थापन गर्न पनि संगठन निर्माणको आवश्यकता परेको मेयर साम्पाङले विश्लेषण गरे । उनले अब धेरै ढिलाइ नगरी संगठन निर्माणको काम अगाडि बढ्ने बताएका छन् । र अर्को कार्यक्रम इलामकै माङसेवुङमा हुने बताएका छन् ।
मेयर साम्पाङको इलाम अभियानलाई पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले साथ दिएका थिए । गत वर्ष इलाम–२ मा सम्पन्न प्रतिनिधि सभाको उपनिर्वाचनमा थेगिम उम्मेदवार थिए । जसलाई हर्क साम्पाङले खुलेर समर्थन जनाएका थिए ।
त्यही समर्थनको गुन तिर्न पनि थेगिमले साम्पाङकोे अभियानलाई साथ दिएको बुझ्न सकिन्छ । इलामचोंकको सभाबाटै पनि थेगिमले मेयर साम्पाङको श्रम संस्कृतिको प्रशंसा र राज्यको कार्यशैलीप्रति विरोध जनाएका थिए ।
यद्यपि पहिचानका पक्षमा बोल्न भने समय खर्चेनन् । जबकि उपनिर्वाचनमा उनी पहिचान पक्षधरहरुकै साझा उम्मेदवार बनेका थिए । तर मेयर साम्पाङको पार्टी निर्माण अभियानमा पहिचानवादीको ट्याग नलागोस् भन्नेमा थेगिम पनि सचेत देखिए । आयोजकले समेत सबै जात, धर्म र संस्कृतिका मानिसलाई श्रम संस्कृतिको अभियानमा जोड्न मेयर साम्पाङ इलाम आएको स्पष्टीकरण दिइरह्यो ।
जबकि मेयर साम्पाङले श्रमदान जत्तिकै महत्व पहिचानको एजेण्डालाई पनि दिइरहेका छन् । कतिसम्म भने राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर आफ्नो कार्यकक्षबाट हटाएर यलम्बरको तस्वीर झुण्ड्याएका छन् ।
प्रदेशकै नाम कोशी राखिएको पनि मेयर साम्पाङको असन्तुष्टि छ । प्रदेश नामाकरणको सन्दर्भमा आफ्नो असन्तुष्टि लुकाएका पनि छैनन् ।
तर राजनीतिक दल खोल्दा भने पहिचान भन्दा पनि श्रम संस्कृति र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेण्डालाई मुख्य मान्ने संकेत मेयर साम्पाङले दिएका छन् । मेयर साम्पाङले दल खोल्ने सन्देश राजधानी काठमाडौंलाई पनि दिइसकेका छन् । गत वर्ष काठमाडौं आउँदा उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको ब्यानर बोकेर एक्लै प्रदर्शनमा उत्रिएका थिए ।
गत मंसिरमा सम्पन्न स्थानीय तह उपनिर्वाचनमा पनि मेयर साम्पाङले आफू धरानमा नखुम्चिने प्रष्ट सन्देश दिएका थिए । कीर्तिपुर नगरपालिकाको मेयरमा साम्पाङले राजमान महर्जनलाई समर्थन गरेका थिए ।
प्रतिक्रिया 4