
News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङको जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ।
- अस्पतालले २०० बेडसहित २४ घण्टे सेवा र विभिन्न विशेषज्ञ सेवा दिने व्यवस्थापन पक्षले जानकारी दिएको छ।
- सामाजिक व्यवसायको अवधारणामा मुनाफा वितरण नगर्ने नीति रहेको अस्पतालका अध्यक्ष याेगेन्द्र मण्डलले बताए।
१९ जेठ, विराटनगर । नागरिकलाई सहज र सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २ अर्ब लागतमा २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल निर्माण भएकाे छ ।
जीवन विकास समाजको अगुवाइमा मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशन निर्माण भएकाे हाे । अस्पतालको औपचारिक उद्घाटन जेठ २४ गते (शनिबार) प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
सामाजिक व्यवसायको अवधारणामा मुनाफा वितरण नगर्ने नीतिअन्तर्गत एकै पटक २०० बेडसहित सेवा सुरु गर्ने जीवन विकास अस्पताल नेपालकै पहिलो अस्पताल भएकाे अस्पतालका अध्यक्ष तथा माेरङ क्षेत्र नम्बर ५ का सांसद याेगेन्द्र मण्डलले जानकारी दिए ।
स्वास्थ्य सेवामा सामाजिक न्याय र सबै नागरिकको समान पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित अस्पताल सञ्चालनमा आएको उनले बताए । २०५४ सालमा गरिबीरहित नेपालको परिकल्पनासहित स्थापना भएको जीवन विकास समाजले ग्रामीण क्षेत्र तथा विपन्न वर्गको जीवनस्तर उकास्नका लागि लघुवित्त सेवा, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी सृजनाकाे क्षेत्रमा काम गर्दै आएकाे छ ।
‘जीवन विकास समाजले २०५४ सालमा मोरङको अमाहीबरियातीमा २४ घण्टे क्लिनिक सञ्चालन गरेको थियो, मण्डलले भने,’क्लिनिकबाट जीवन विकास पब्लिक हेल्थ सेन्टर हुँदै आज अत्याधुनिक सुविधासम्पन्न अस्पतालको रूपमा विकसित भएको छ ।’ अस्पताललाई विस्तार गर्दै मेडिकल कलेज सञ्चालन गर्ने याेजना रहेकाे उनले बताए ।
‘जीवन विकास सामुदायिक अस्पताल एउटा उपचार केन्द्र मात्र नभएर सामाजिक न्याय र समानताको प्रतीक पनि हो,’ पत्रकार सम्मेलन गर्दै अध्यक्ष मण्डलले भने, ‘नेपालको पूर्वी क्षेत्रमा रहेका विपन्न वर्गलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले स्थापना भएको हो ।’
२० बिघा क्षेत्रफल निर्मित अस्पतालले २४ घण्टे आकस्मिक सेवा, विशेषज्ञ चिकित्सकहरूबाट दैनिक ओपीडी सेवा, सामान्य तथा पेनलेस डेलिभरी सेवा, सामान्य तथा लेप्रोस्कोपिक शल्यक्रिया, विशेषज्ञ बाल चिकित्सा सेवा, एक्स-रे अल्ट्रासाउन्डलगायत सबै प्रकारका सेवा प्रवाह गर्ने उनले बताए ।
सात तले आधुनिक भवनमा सञ्चालित अस्पतालकाे भुइँतलामा आकस्मिक सेवा, पहिलो तलामा ओपीडी,रेडियोलोजी र प्याथोलोजी, दोस्रो तलामा एनआईसियू, पीआईसीयु, पेडियाट्रिक र गाइनोकोलोजी वार्ड, तेस्रो जनरल वार्ड, चौथो तलामा २५ शैय्याकाे आईसीयू, १० शैय्याकाे सीसीयु र एचडियु, पाँचौं तलामा ओटी र पोस्ट–अप सेवा छन् ।
प्रतिक्रिया 4