+
+
Shares

पोर्चुगलमा रहेका नेपालीलाई पुलिस रिपोर्ट प्रमाणीकरण सहज

पोर्चुगिज सरकारले एउटा कार्यालयबाट मात्रै नियमित सेवा सञ्चालन गर्दा समस्यामा परेका नेपालीले अब दुई स्थानबाट सेवा पाउन थालेका छन् ।

कपिलदेव खनाल कपिलदेव खनाल
२०८२ जेठ २२ गते १५:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोर्चुगलमा नेपालीलाई प्रहरी रिपोर्ट प्रमाणीकरण सेवा दुई स्थानबाट प्रदान गर्न थालिएको छ।
  • नेपाली दूतावास र पोर्चुगिज परराष्ट्र मन्त्रालयबीच वार्तापछि सेवा सुचारु भएको राजदूत प्रकाशमणि पौडेलले जानकारी दिए।
  • पोर्चुगिज सरकारको परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभागबाट पुलिस रिपोर्ट प्रमाणीकरण गर्नुपर्ने हुन्छ।

२२ जेठ, पोर्चुगल । पोर्चुगलमा रहेका नेपालीलाई प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) प्रमाणीकरणमा सहज भएको छ । पोर्चुगिज सरकारले एउटा कार्यालयबाट मात्रै नियमित सेवा सञ्चालन गर्दा समस्यामा परेका नेपालीले अब दुई स्थानबाट सेवा पाउन थालेका छन् ।

लिस्बनस्थित नेपाली दूतावासका अनुसार अलकन्त्रामा रहेको कन्सुलर कार्यालयले समेत सोमबारबाट नेपालीलाई नियमित सेवा दिन थालेको छ । पोर्चुगिज सरकारको परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभागबाट पुलिस रिपोर्ट प्रमाणीकरण गर्नुपर्ने हुन्छ । त्यसका लागि अलकन्त्रा र पोर्तोमा कार्यालय रहेको छ ।

पोर्चुगलमा रहेको नेपाली दूतावास र पोर्चुगलको परराष्ट्र मन्त्रालयबीच वार्ता भएपछि सेवा सुचारु भएको पोर्चुगलका नेपाली राजदूत प्रकाशमणि पौडेलले जानकारी दिए ।

‘नेपालको पुलिस रिपोर्ट यहाँको कन्सुलर विभागको एउटा कार्यालयमा मात्रै प्रमाणीकरण भइरहेको र राजधानी लिस्बनमा रहेको कार्यालयबाट नभएको गुनासो आइरहेको थियो । अनलाइनखबरमा समाचार आएपछि हाम्रो ध्यानाकर्षण भयो र सरकारी संयन्त्रसँग कुराकानी गरेर यो समस्या सुल्झायौं,’ राजदूत पौडेलले अनलाइनखबरसँग भने, ‘अब नेपालीहरूले दुवै कार्यालयबाट प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न सक्छन् ।’

राजदूत पौडेलका अनुसार केही नेपालीकै कारण समस्या उत्पन्न भएको बुझिएको छ । ‘नेपालीहरूको अत्यधिक डकुमेन्ट प्रमाणीकरणका लागि जाने गरेको र एकैजनाले धेरै प्रहरी रिपोर्ट लगेको कारण समस्या उत्पन्न भएको रहेछ,’ उनले भने, ‘आफ्नो कागज आफैं बोकेर जाँदा वा हुलाकमार्फत प्रमाणीकरणको लागि पठाउँदा समस्या हुँदैन ।’

यसअघि लिस्बनस्थित अलकन्त्रा कन्सुलर कार्यालयले नेपाली नागरिकहरूको मात्रै प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) प्रमाणीकरण गर्न मानिरहेको थिएन । नेपालीको अन्य कागजात प्रमाणीकरण गरिरहेको भए पनि पुलिस रिपोर्ट प्रमाणीकरणमा उक्त कार्यालयले इन्कार गर्दै आएको थियो ।

नेपाली केही व्यक्तिले सञ्चालन गरेको किराना पसल तथा साइबर पसलबाट बढी पैसा लिएर कार्यालय समयभन्दा अगाडि र पछाडि कन्सुलर कार्यालयमा पहुँच राखी काम गराउने गरेको तथ्य सार्वजनिक भएको थियो । तिनै व्यक्तिहरू संलग्न भएको कतिपय पुलिस रिपोर्ट त नक्कली समेत फेला परेको थियो ।

पोर्चुगिज प्रहरीले लिस्बनमा रहेका केही पसल र व्यक्तिगत कार्यालयहरूमा छापा मार्दा त्यसरी बनाइने कागजमा प्रयोग हुने विभिन्न कार्यालय र दूतावासका निशान छाप समेत बरामद गरेको थियो । उक्त घटनापछि लिस्बनस्थित कन्सुलर विभागले नेपालीहरूको पुलिस रिपोर्ट प्रमाणीकरण अस्वीकार गर्दै आएको थियो ।

नागरिकताको लागि भारतमै कागज बनाउन आग्रह

पोर्चुगलको नागरिकता प्राप्तिका लागि दिइने आवेदनका लागि चाहिने कागजात भने भारतमै बनाउनु उपयुक्त हुने दूतावासका एक कर्मचारीले बताएका छन् ।

हालसम्म नेपालीहरूले नागरिकता लिनका लागि दिने आवेदनमा भारतमा रहेको पोर्चुगिज दूतावासको प्रमाणीकरण मात्रै पहिचान हुँदै आएकोले आजभोलि नै आवेदन दिनेहरूले भारतबाट कागजपत्र तयार गर्नु उपयुक्त हुने लिस्बनस्थित नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपालले बताए ।

नागरिकता लिनका लागि दिइने आवेदनमा भारतमा रहेको नेपाली दूतावास र भारतमा रहेको पोर्चुगिज दूतावासले प्रमाणीकरण गरेको कागजलाई यहाँ स्वीकार्दै आएको छ । पोर्चुगलमै नेपाली दूतावास स्थापना भइसकेकाले अब यहाँबाटै प्रमाणीकरण भएको कागजलाई मान्यता दिनका लागि परराष्ट्र विभागसँग नेपाली दूतावासले छलफल गरिसकेको छ ।

‘हामीले लिस्बनस्थित दूतावासले प्रमाणीकरण गरेको कागजलाई पनि नागरिकता प्राप्तिका लागि मान्यता दिन आग्रह गरेका छौं । माथिल्लो तहबाट हुन्छ भन्ने जवाफ आए पनि कार्यान्वयन हुने कार्यालयबाट जवाफ आएको छैन,’ दूतावासका द्वितीय सचिव नेपालले भने, ‘हालसालै पोर्चुगिज नागरिकताका लागि कागजपत्र पेस गर्ने नेपालीले भारतबाट तयार गरेर ल्याउनु ठिक हुन्छ ।’

लिस्बनस्थित दूतावासले प्रमाणीकरण गरेको काजग पनि छिट्टै मान्य हुने उनको भनाइ छ । उनी भन्छन्, ‘हामी एउटा इमेलको प्रतिउत्तर कुरिरहेका छौं । सायद केही दिनमा यहाँको आधिकारिक कार्यालयबाट उक्त इमेलको जवाफ आउनेछ । त्यसलगत्तै हाम्रो दूतावासले प्रमाणीकरण गरेको कागजले काम गर्न थाल्छ ।’

लेखक
कपिलदेव खनाल

कपिलदेव खनाल पोर्चुगलमा कार्यरत सञ्चारकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?