+
+
Shares

औपचारिक अर्थतन्त्र विस्तारमा नेपालको प्रगति सन्तोषजनक : अध्यक्ष ढकाल

रोजगारदाताका तर्फबाट सोमबार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानीका लागि भएका कानुनी सुधार र नेपालमा रहेका अवसरबारे विश्व समुदायलाई जानकारी गराए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते १९:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा सुधार भएको बताए।
  • उनले नेपालमा कृषिजन्य उत्पादन, जलविद्युत् र पर्यटन क्षेत्रमा लगानीका अवसर रहेको र विश्व समुदायलाई जानकारी गराए।
  • अध्यक्ष ढकालले महासंघ र सरकारले औपचारिक अर्थतन्त्रको विकासका लागि काम गरिरहेको र विश्वसंग साझेदारी गर्न तयार रहेको बताए।

२६ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताएका छन् ।

स्विट्जरल्यान्डको जेनेभामा आयोजित ११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालले गरेको पछिल्ला सुधार प्रस्तुत गरे ।

रोजगारदाताका तर्फबाट सोमबार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानीका लागि भएका कानुनी सुधार र नेपालमा रहेका अवसरबारे विश्व समुदायलाई जानकारी गराए ।

सम्मेलनमा विश्वका करिब १ सय ८७ देशका सरकार, रोजगारदाता एवं ट्रेड युनियनका प्रतिनिधि सहभागी छन् । नेपालमा रोजगारदाताको संस्थाका रूपमा रहेको महासंघका अध्यक्ष ढकालले नीतिगत सुधारसँगै नेपालको भौगर्भिक विविधता एवं भौगोलिक अवस्थितिले लगानीको पर्याप्त अवसर रहेको जानकारी गराए ।

महासंघ आग्रहमा करिब ३० वटा लगानी सम्बद्ध कानुन परिमार्जन गरिएको र द्विपक्षीय लगानी सम्झौताको खाका तयार भएको जानकारी गराउँदै अध्यक्ष ढकालले नेपालमा अवसर खोज्न सहभागीलाई आग्रह गरे ।

‘नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको छ,’ उनले भने, ‘तर, पनि भारत चीन लगायत मुलुकमा नेपाली उत्पादनको भन्साररहित सुविधा कायमै रहने हुँदा नेपालमा थप अवसर कायमै रहने छ ।’

उनले नेपालको भौगोलिक अवस्थितिका कारण कृषिजन्य उत्पादन, जलविद्युत्, पर्यटन क्षेत्रमा लगानीका प्रशस्त सम्भावना र अवसर रहेको बताए ।

अर्थतन्त्रको औपचारिकीकरणमा नेपालले गरिरहेको प्रयासको विश्वमञ्चमा प्रशंसा भएकोमा अध्यक्ष ढकालले खुसी व्यक्त गरे । औपचारिक अर्थतन्त्र विस्तारका लागि नवीन सोचसहित काम गरेकोमा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले नेपाल, जिम्बावे, कोट डे भाँ, उरुग्वे र नामिबियाको प्रशंसा गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ ।

नेपालको अर्थतन्त्रको औपचारिकीकरणका लागि महासंघ, ट्रेड युनियन र सरकारले समिति बनाएर काम गरिरहेको समेत अध्यक्ष ढकालले बताए ।

उनले प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र जलवायु वित्तमा अन्तर्राष्ट्रिय सहभागिताका लागि आग्रह गरे । हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नभए पनि नेपालका हिमाल पग्लिँदै गएको तथा हिमाल संरक्षणमा नेपालले खेलेको भूमिकाबारे विश्व समुदायको ध्यानाकर्षण गराउँदै उनले पहाडी र टापु राष्ट्रका लागि बजार पहुँच, वित्तीय सहायता र विकास सहयोगमा विशेष समर्थनको आवश्यकतामा जोड दिए ।

सम्मेलनमा अध्यक्ष ढकालले महासंघ सम्मानजनक रोजगारी सिर्जना र आर्थिक वृद्धिप्रति प्रतिबद्ध रहेको उल्लेख गरे । लगानीकर्तालाई सहयोग गर्न महासंघले एफडीआई सहायता डेस्क स्थापना गरेको समेत उनले जानकारी दिए ।

कामदारहरूसँग द्विपक्षीय सहकार्यलाई सुदृढ गर्न समझदारीपत्रमा हस्ताक्षर गरेको समेत उनले बताए । अध्यक्ष ढकालले महासंघ नेपाल र विश्वका लागि राम्रो आर्थिक भविष्य निर्माण गर्न विश्वव्यापी साझेदारसँग काम गर्न तयार रहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?