
News Summary
Generated by OK AI. Editorially reviewed.- लेखले नेपालको परम्परागत मेलाको गतिविधि र जीवनशैलीको वर्णन गर्दछ।
- समय फेरिएर परम्परागत मेलाहरू र कृषिकर्महरू समाप्त भएको उल्लेख छ।
- स्रोतले मेलाको महत्व र यसको समाप्तिको पीडालाई व्यक्त गर्दछ।
समय फेरियो । बाँझो भए बेस्रे, आखेत, बन्से, रातमटे कल्लाबोट र खोलाखेत । नारन छाडिए गोरु । खेर गयो अँधेरी खोलाको पानी । अब त केवल स्मृतिमा मात्र बाँकी रहे ।
बिहानैदेखि सिमसिमे पानी परेको छ । निगाँलो चोयाँले बुनेको र भोर्लाको पात राखेर बाले मिहिनेतले बुनेको स्याँखु ओडेर आँखा मिच्दै अँधेरी खोलातर्फ पाइला बढ्यो । हातको कोदालोले कुलोको मुहान थुनेर आँखेततर्फबाट पानी सोझाउँदै काम थालियो ।
मेलो आँखेतमा । रातोमाटो र टारी खेत । कुलोको ख्यायो लामो छ । पानी पुर्याउन आधा घण्टा लाग्ने । बाटोमा सालका पातले पानी थुन्ने भएकाले त्यसलाई पन्छाउँदै अघि बढ्नुपर्ने । बीच बीचमा रुखका जराका भित्रबाट मुहान बनाउँदै पानी लानुपर्ने ।
नयाँ पँधेराको लामो गर्हो पूरै भिजेर बान्नामुनिको बाँझो गरामा कुनाबाट कुलेसो काटेर कुलो ल्याउनुपर्ने । पोखरीमा कात्र्तिके खोलाले बगाएर ल्याएको गरगरे ढुङ्गा पन्छाएर पानी कटाउनु कम्ता महाभारत छैन । जमेका साना ढुङ्गामा खन्दा कोदालो पनि दोब्रिने । वर्षामा मौलाएको सिस्नो त्यसमा पनि पानीले भिजेको । बीचबीचमा पिँडुला च्वास्स च्वास पोल्ने ।
बिहानको एक घण्टाको मेहनतपछि पोखरीमा बल्ल अँधेरी खोलाको पानी मिसियो । गुँयालाको फेदको मूलसमेत मिसाउँदा कुलामा पानी भरियो । पानीको बहाव बढेन थाल्यो । अलि पर पुगेपछि गैराको मूल पनि थपियो । सबैतिरको पानी जम्मा गरेर साँझको बोट भएको सुर्कोबाट पानी खस्दा पनि राइनासमा रहेको निहुरेको छाँगाजस्तो बेगले पानी लामो गरामा खस्यो ।
मेलो पनि त्यहीँबाट सुरु हुने । मकै भाँचेर ढोड मात्रै बाँकी । भैसीका लागि ढोड काटियो भारी हालेर एक छेउमा राखियो । घाँस काटेर छाडिएका ढोडका टुक्रा । कुटे कोदालोको उत्काउन सजिलो । यति भएपछि गोरु ल्याएर नार्नका लागि गरो ठिक भयो । पानी पनि भिज्दै गयो ।
अधिल्लो दिनभरि जोतेर थोकेको तारे गोरु । अर्को कृष्ण दाजुको तिल्के । हलपाटे । बिहान गोरुका लागि बन्सो घाँस । कोदोको खोले र मिलमा कुटेको धानको ढुटो मोलेर खुवायो । टन्न अघाउने गरी स्याहार गर्यो ।
बिहानको खाना खाइयो । भैसीको छालाबाट बनेको हडम्लो । पानीबाट जोगाउन तोरीको तेल दलेर नरम बनाएको छ । एक हातमा लौरो र अर्को हातमा हडम्लो र जोतारो । गोरु धपाउँदै मेलामा लागियो ।
पानीले गरो सबै भिजेछ । तिल्के र तारे गोरु नारियो । हलोले मसिनोसँग हिल्याउँदै । छेऊमा कान्छा बा र कृष्ण दाइ आली लगाउने । रोपाहार बहिनी अमृता र मेनका । साँगा बलियो । दिउँसै हलको मेलो उतार्ने ।
बेस्रेतिर लोकबहादुर दाइको मेलो । टारीखेतमा देबेको मेलो । रातमाटेममा मसिनुको र कल्लाबोटेमा चित्रेको मेलो । नयाँघरको बैराको पुछारति मेलो । सबैतिर गोरुलाई हँ–हँ गरेर धपाएको आवाज सबैतिर गुञ्जिए ।
असार किसानको माँचो । सबैदिन रोपाइ गरिने । १५ गते मेलो भने विशेष । सबै उत्साही । बाउसे, रोपाहार अनि हली गोरुसमेत । एक साताअघि केरा काटेर पकाउन हालेको । ठिक्क खान मिल्ने भएछ । लैनो भैसीको दही । मोही नमोथि राखेको । सेल रोटी तयारी ।
हिल्याएर ठिक्क पारेको गरामा बिस्तारै दाँदेले हिलो माड्दै गयो । सम्याउने बेलामा गोरु कुँदाउनुको बेग्लै आनन्द छ । प्रतिस्पर्धा वारिपारी मेलामा । कसैको गोरुले आँठो समेत काट्ने ।
असार पन्ध्र खाजा पनि दुई पटक खाने । गोरुलाई ओभाने ठाउँ राख्यो । जुवामा मात्र । घाँस हाल्यो । अनि पालो हाम्रो । पहिले दही चिउरा केरा र रोटी ।
गराको आलिमा बस्यो खायो । वारिपारी हेर्यो । हरियाली कही रोपो हरियो भएको । खेतमा लगाएका पानी गराहरुको समाबाट खस्दा अत्यन्तै आकर्षक देखिने ।
खाजा र केहीबेरपछिको थकान मेटेपछि फेरि रोपाइँ शुरु ।
दोस्रो झमेटको खाजा भात तरकारी र गुन्द्रुक ।
पन्ध्र असारको मेलो । रमाइलो र उत्साह ।
तर, यी सबै विगत भए । समय फेरियो । बाँझो भए बेस्रे, आखेत, बन्से, रातमटे कल्लाबोट र खोलाखेत ।
नारन छाडिए गोरु । खेर गयो अँधेरी खोलाको पानी ।
अब त केवल स्मृतिमा मात्र बाँकी रहे ।
प्रतिक्रिया 4