
News Summary
Generated by OK AI. Editorially reviewed.- स्वास्थ्य बीमा बोर्डमा करार सेवाका लागि छनोट भएका १८० मध्ये करिब ११० जना मेडिकल अधिकृतले कार्य विवरणप्रति असन्तुष्टि जनाउँदै नियुक्ति पत्र लिन अस्वीकार गरेका छन्।
- मेडिकल अधिकृतहरूले दैनिक ४०० दाबी मूल्यांकन गर्ने लक्ष्य अव्यावहारिक र कार्यसमयमा थप ओभरटाइम गर्ने व्यवस्था श्रम अधिकार विपरीत भएको भन्दै असहमति जनाएका छन्।
- स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्ल ठकुरीले तोकिएको लक्ष्य ठूलो नभएको दाबी गर्दै अहिलेसम्म ७० जनाले मात्र नियुक्ति पत्र लिएको जानकारी दिए।
२६ असार, काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा करार सेवाका लागि छनोट भएका १८० मध्ये करिब ११० जना मेडिकल अधिकृतले कार्य विवरणप्रति असन्तुष्टि जनाउँदै नियुक्ति पत्र लिन अस्वीकार गरेका छन् ।
१८ जेठमा बोर्डले तीन महिनाका लागि १८० जना मेडिकल अधिकृत आवश्यक भएको सूचना जारी गरेको थियो । उक्त सूचनाअनुसार आवेदन दिई छनोटमा परेका तथा तालिमसमेत पूरा गरिसकेका अधिकृतहरूले कार्य विवरण र सम्झौतामा संशोधनको माग राख्दै नियुक्ति नलिने निर्णय गरेका हुन् ।
उनीहरूले कार्य विवरणको बुँदा नम्बर ११ मा उल्लेखित प्रत्येक कार्यदिन ४०० वटा दाबी मूल्यांकन गर्नुपर्ने वा २५ देखि ३० लाख रुपैयाँसम्मको मूल्यांकन पूरा गर्नुपर्ने लक्ष्यलाई अव्यावहारिक बताउँदै आपत्ति जनाएका छन् ।
त्यस्तै, बुँदा नम्बर १२ मा तोकिएको कार्यसमय (बिहान १० देखि साँझ ५ बजेसम्म) मा लक्ष्य पूरा गरेपछि थप ४ घण्टा ओभरटाइम गर्न सकिने व्यवस्था पनि आफूहरूको श्रम अधिकार विपरीत रहेको भन्दै असहमति जनाएका छन् ।
‘हामीले तीन दिनको तालिम सकेका छौं,’ एक असन्तुष्ट मेडिकल अधिकृतले भने,’ दैनिक ४०० दाबी समीक्षा भनेको लगभग एक मिनेटमा एउटा केस हेर्नुपर्ने हुन्छ । जुन असम्भव नै हो ।’
दैनिक सात घण्टाको दरले १५० वटा केसको मात्रै दाबी समीक्षा गर्न सकिने उनले बताए ।
ती मेडिकल अधिकृतले स्वास्थ्य मन्त्रालयमा समेत यस विषयमा जानकारी गराएको बताए ।
कार्य विवरणको बुँदा १८ मा उल्लेख भएअनुसार, तोकिएको समयमा तोकिएको कार्य सम्पन्न नभएमा थप अन्य दिन कार्य गरी उक्त तोकिएका कार्य सम्पन्न गर्ने जिम्मेवारी मेडिकल अधिकृतको हुनेछ । सो बापत कुनै पनि थप आकर्षक सुविधा उपलब्ध हुने छैन ।
यस्तै कार्य विवरण अनुसारको कार्य सम्पन्न भएको व्यहोरा सुपरभाइरजरबाट प्राप्त भएपछि मात्रै पारिश्रमिक भुक्तानी गरिने कार्यविवरणमा उल्लेख छ ।
स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्ल ठकुरीले भने तोकिएको लक्ष्य ठूलो नभएको दाबी गरे ।
‘अवैज्ञानिक लक्ष्य तोकिएको छैन । अहिलेको काम गरिराख्नुभएको जनशक्तिले दैनिक ६०० सम्मको समीक्षा हेरिराख्नु भएको छ,’ मल्लले अनलाइनखबरसँग भने, ‘आज अन्तिम समय हो । अहिलेसम्म ७० जनाले मात्रै नियुक्ति पत्र लिनुभएको छ ।’
उनले तोकिएको समयभित्र नियुक्ति पत्र नलिनेले अवसर गुमाउने र वैकल्पिकले सो अवसर पाउने बताए ।
प्रतिक्रिया 4