+
+
Shares

अपहरण गरी १० लाख फिरौती लिएका व्यक्तिबाटै बूढानीलकण्ठमा युवकको हत्या

बूढानीलकण्ठमा युवकको हत्यामा संलग्न बाबु लामा भनिने हिरालाल मोक्तान अपहरण तथा शरीर बन्धक कसुरमा १२ वर्ष कैद बसेर निस्केका व्यक्ति रहेको पाइएको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ साउन १ गते २१:२२

१ साउन, काठमाडौं । बूढानीलकण्ठमा भएको युवक हत्या प्रकरणका मुख्य योजनाकार बाबु लामा भनिने हिरालाल मोक्तान यसअघि पनि जघन्य अपराधको घटनामा जोडिएका व्यक्ति रहेको खुलेको छ ।

अपहरण तथा शरीर बन्धक घटनामा जोडिएका बाबुको योजनामा बुढानीलकण्ठ नगरपालिका-५ टुसालमा ३२ वर्षीय कृष्णकुमार लामाको हत्या भएको खुलेको हो ।

बाराको निजगढ नगरपालिका-८ घर भएका कृष्ण कुमार लामालाई जन्मदिन मनाउने भन्दै बोलाएर हत्या गरिएको थियो । कृष्णको हत्या यसअघि १२ वर्ष कैद बसेका बाबुको योजनामा भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

बाबुले कृष्णलाई भान्जीको जन्मदिन मनाउन भन्दै बोलाएर ६ असार राति हत्या गरेको एक अनुसन्धान अधिकृतले बताए । कृष्णको हत्या आरोपमा एक नाबालकसहित ५ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।

मकवानपुर घर भई बुढानीलकण्ठ नगरपालिका-५ टुसाल बस्ने विकास लामा लो, बारा निजगढ नगरपालिका-७ घर भएका २९ वर्षीय सुकान्त लामा, मकवानपुर बकैया गाउँपालिका-२ घर भएका २३ वर्षीय निसान जिम्बा र एक बालकलाई घटनाको प्रतिवादी बनाइएको छ ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १७७ मा उल्लेख भएअनुसार ज्यान मार्न नहुने कसुर गरेको आरोपमा उनीहरूविरुद्ध जन्मकैदको सजाय मागदाबी गरिएको छ । उनीहरूले योजना बनाएरै कृष्णको हत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

न्यायाधीश इश्वरीप्रसाद भण्डारीको बिहीबारको इजलासले योजनाकार बाबु लामा र विकास लामा लोलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश जारी गरेको छ । अन्य दुई जना सुकान्त लामा र निशान लामालाई भने जनही १ लाख धरौटीमा रिहा भएको एसपी बोहराले बताए ।

रकम विवादमा हत्या

कृष्णको हत्या हुनुमा रकम विवाद जोडिएको अनुसन्धान अधिकृतको भनाइ छ । बाबुमार्फत लिएको भनिएको रकम कृष्णले फिर्ता नगरेपछि सोही निहुँमा उनको हत्या गरेको पाइएको एक अनुसन्धान अधिकृतले बताए ।

‘पटक-पटक हिसाब मिलानका लागि यसअघि पनि उनीहरूबीच विवाद हुने गरेको देखिएको छ । सोही निहुँमा योजनाबद्ध तरिकाले हत्या गरेको देखिन्छ,’ एक अनुसन्धान अधिकृतले भने ।

यसका लागि बाबुले आफ्नी भान्जीको जन्मदिनको मनाउन भन्दै कृष्णलाई बोलाएर बुढानीलकण्ठ लगेको पाइएको छ । ६ असारमा बाबुको दिदी कान्छीमाया लोकी छोरी पुनमको जन्मदिन समेत रहेको थियो । बाबुले बोलाएपछि कृष्ण पनि कान्छीमायाको घर गएका थिए ।

जन्मदिनमा उनीहरूले मदिरा पनि पिएका थिए । त्यसपछि राति कृष्णमाथि कृटपिट भएको पाइएको छ । ७ असारको बिहानका राति १ बजेसम्म कुटपिट भएको प्रहरीको भनाइ छ ।

कुटपिटपछि मृत्यु भएका कृष्णको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको थियो । पोस्टमार्टम रिपोर्टमा समेत ब्लन्ड फोर्स इन्जुरी उल्लेख गरिएको छ ।

कृष्णको हत्या हुनुमा रकम विवाद जोडिएको अनुसन्धान अधिकृतको भनाइ छ । बाबुमार्फत लिएको भनिएको रकम कृष्णले फिर्ता नगरेपछि सोही निहुँमा उनको हत्या गरेको पाइएको एक अनुसन्धान अधिकृतले बताए ।

प्रतिवादी विकास लामा लोको मोबाइलमा कृष्णलाई रक्ताम्य हुनेगरी कुटपिट गरी नांगो पारेर भुइँमा लडाएको भिडिओमा देखिन्छ । जहाँ उनी छटपटाइरहेको देखिन्छ ।

कल डिटेल रिपोर्ट (सीडीआर)मा पनि उनीहरूबीच एकले अर्कोलाई पटक-पटक सम्पर्क गरेको भेटिएको छ । विवादमा परेका बालकले पनि कृष्णको मोबाइलमा पटक-पटक सम्पर्क गरेको भेटिएको छ ।

प्रतिवादीहरू सबै र मृतकको मोबाइल लोकसेन ६ गते दिउँसो धुम्बाराही र साँझदेखि ७ गते बिहानसम्म बुढानीलकण्ठमा देखिएको छ ।

प्रतिवादीहरूले भने कृष्णले आफूहरूको संवेदनशील अंकमा छुने र हिर्काउने गरेकाले सोही निहुँमा कुटपिट गर्दा हत्या भएको दाबी गरेका छन् ।

१२ वर्ष जेल बसेर छुटेका व्यक्ति नै योजनाकार

हत्याका मुख्य योजनाकार भनिएका बाबु, प्रतिवादी सुकान्त र मृतक कृष्ण समेत बारा लगायत तराईका जिल्लामा चोरी, लुटपाट तथा गुण्डागर्दीमा संलग्न व्यक्तिहरू रहेको प्रहरीको भनाइ छ ।

कतिसम्म भने, बाबु व्यक्ति अपहरण तथा शरीर बन्धकको कसुरमा १२ वर्ष कैद बसेर निस्केका व्यक्ति रहेको पाइएको छ ।

२४ भदौ २०६८ मा टेकनाथ पौडेललाई अपहरण गरेको प्रकरणमा बाबुलाई सर्वोच्च अदालतले १२ वर्ष कैद सजाय सुनाएको थियो । बाराको साविक सपही गाविस-२ स्थित तामागढीको जंगलमा पर्ने ग्राबेल सडकबाट राति पौडेलको अपहरण भएको थियो ।

पौडेललाई अपहरण गरेर १० लाख फिरौती समेत लिइएको थियो । पौडेल अपहरणमा अहिले पक्राउ परेका बाबुसहितका व्यक्तिले अपहरण गरेका थिए । कृष्ण हत्यामा अहिले हिरासतमा रहेका बाबु लामा हिरालाल बाबु, चोरबाबु, कालेबाबु उपनामले समेत चिनिन्थे ।

राति साढे ८ बजे अपहरणमा परेका पौडेल १० लाख रुपैयाँ फिरौती बुझाएपछि एक दिनपछि अपहरणमुक्त भएका थिए । दशैं आउन लाग्यो, खर्च जुटाउनु पर्‍यो भन्दै अपहरणकारीले हेटौंडाको होटल सेन्टर प्वाइन्टमा योजना बनाएर पौडेललाई अपहरण गरेका थिए ।

सुरुमा ३० लाख रुपैयाँबाट बार्गेनिङ सुरु गरेका उनीहरूले १० लाख फिरौतीमा सहमत भई पौडेललाई छोडेका थिए । यो अपहरणमा बाबुका साथै डुडे भनिने तिलक लामा, सन्दीप लामा, फुच्चे भन्ने एक व्यक्ति, अनिल लामालगायत संलग्न थिए ।

बारा जिल्ला अदालतले १४ वैशाख २०७१ मा बाबुसहित तीनजनालाई जनही १२ वर्ष कैद र जरिवाना सुनाएको थियो । बाँकी तीनजना फरार थिए । जिल्लाबाट पुनरावेदन (हाल उच्च) अदालत हुँदै यो मुद्दा सर्वोच्चसम्म आएको थियो ।

१५ साउन २०७५ मा सर्वोच्च अदालतका न्यायधीश चोलेन्द्र शमशेर जबरा र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले १२ वर्ष कैदलाई सदर गर्दै १० लाख रुपैयाँको जनही बिगो ३ लाख ३३ हजार ३३३ जरिवाना हुने फैसला गरेको थियो ।

यो अपहरणमा कारागार बसेर बाबु करिब डेढ वर्षअघि मात्रै छुटेका थिए । अपहरण तथा गुण्डागर्दीबाट आर्जन गरेको रकम विवादमा कृष्णको हत्या भएको देखिएको एक अनुसन्धान अधिकृतले अनलाइनखबरलाई बताए ।

‘मृतक र योजनाकार दुवैको पृष्ठभूमि विवादित देखिन्छ । आपराधिक गतिविधिबाट आर्जन गरेको रकममा विवाद हुँदा नै हत्या भएको अनुसन्धानले देखाएको छ,’ एक अनुसन्धान अधिकृतले भने ।

बाबु कारागारमा हुँदा समेत कृष्ण भेट्न जाने गरेको पनि अनुसन्धानबाट खुलेको छ । मृतकका आफन्तले दिएको जाहेरीमा समेत हिसाब मिलाउन भन्दै बाबुले बोलाउने गरेकाले कृष्ण पटकपटक कारागार गएर भेट्ने गरेको उल्लेख गरिएको छ ।

हिसाब नमिलाएपछि थुनामुक्त भएपछि ज्यान मार्नेसम्मको धम्की आएको र अहिले हत्या भएकाले योजनाबद्ध रूपमा कृष्णको हत्या भएको बताइएको छ ।

मृतक कृष्णले समेत बाबुबाहेक अरू प्रतिवादी समेत नचिनेको प्रहरी अधिकारीहरू बताउँछन् । जेल परेपछि पुरानो हिसाब चुक्ता हुन बाँकी रहेको भन्दै बाबुले ताकेता दिएको र रकम फिर्ता नदिएपछि हत्या गरेको पाइएको प्रहरीको भनाइ छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?