१० फागुन, काठमाडौं । कोटेश्वरबाट एकाबिहानै एक मेनपावर एजेन्ट अपहरणमा परेको खुलेको छ ।
१५ माघमा सामाखुसीस्थित मोबहिरा ओभरसिज मेनपावरमा एजेन्ट काम गर्ने नवीन दमाई अपहरणमा परेका हुन् ।
उनलाई अपहरण गरेको आरोपमा आठ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता भएको छ ।
मुद्दा दर्ता हुनेमा कञ्चनपुरको शुक्लाफाँट नगरपालिका–१२ का १९ वर्षीय सुरेश बोहरा भनिने सुरेशबहादुर बोहरा, दोलखाको शैलुङ गाउँपालिका–३ का २१ वर्षीय विजय बस्नेत, कीर्तिपुर नगरपालिका–१० का ४४ वर्षीय पदमकृष्ण महर्जन, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ का २१ वर्षीय कमल तामाङ छन् ।
त्यसैगरी शैलुङ–३ कै २१ वर्षीय सविन ठकुरी भनिने सविन सेन, बझाङको थलारा गाउँपालिका–७ का २२ वर्षीय सुनिकल रोकाया, भक्तपुर नगरपालिका–१० का ४४ वर्षीय शिवसुन्दर धौमटेल भनिने शिव सुन्दर धौमडेल र मकवानपुरको भीमफेदी नगरपालिका–४ का ३५ वर्षीय दिनेश महर्जन छन् ।
उनीहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरेको थियो । प्रहरीको यो अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अपहरणको कसुरमा मुद्दा दायर गरेको हो ।
रेस्टुरेन्टमा बन्धक बनाएर फिरौती असुली
१५ माघमा काम विशेषले नवीन कोटेश्वर पुगेका थिए । सामाखुसीबाट बा. प्र. ०२–०५८ प ८०५० नम्बरको स्कुटर चलाएर कोटेश्वर पुगेका उनको स्कुटर समूहले रोक्यो । नवीनको हेल्मेट निकालेर उनकै टाउकामा हानियो । उनलाई घाइते बनाएपछि ट्याक्सीमा राखेर गोकर्णेश्वरस्थित स्काई लाइन नामको रेस्टुरेन्टमा पुर्याइयो ।
तेस्रो तलाको एउटा कोठामा लगेर बन्धक बनाइयो । कुटपिट गरियो । अनि अपहरणमा परेको भन्दै फिरौती मागियो । फिरौती नदिए ज्यान लिने धम्की दिएपछि घटनाबारे नवीनले श्रीमतीलाई जानकारी गराए । श्रीमती सरिता परियारको खातामा रहेको ग्लोबल आईएमई बैंकको खाताबाट ५० हजार रुपैयाँ अपहरणकारीको खातामा ट्रान्सफर गरियो ।
उनै सरिताको ई–सेवाबाट ३० हजार रुपैयाँ ट्रान्सफर गरियो । आफ्नो खातामा रहेको ५ हजार ७४८ रुपैयाँ पनि उनले ट्रान्सफर गरे । थप रकम माग्दा म पैसा मगाउँछु भन्दै झुक्याएर फुत्केको पीडितले बताएका छन् ।
तीन वर्षदेखि मेनपावरमा एजेन्टको रूपमा काम गर्दै आएको र विदेश पठाउने काम गरेको उनले बताएका छन् । विजय बस्नेतलाई ग्रिस पठाउनेबारे मेनपावरले काम गरिरहेको थियो ।
तर काम नगरी पैसा खाएको आरोप लगाउँदै अपहरण गरी कुटपिट गर्ने र फिरौती लिएको आरोप पीडितको छ ।
प्रतिक्रिया 4