+
+
Shares

बुद्ध एयर दुर्घटना प्रारम्भिक प्रतिवेदन : जहाजमा गम्भीर क्षति-कारण खुलाइएन

दुर्घटनाको कारण विस्तृत विश्लेषण र सबै प्रमाण अध्ययन सकिएपछि सार्वजनिक हुने अन्तिम प्रतिवेदनमा आधिकारिक कारण सार्वजनिक गरिने समेत प्रारम्भिक प्रतिवेदनमा लेखिएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८२ फागुन १० गते २०:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले झापा भद्रपुरमा १८ पुस २०८२ मा दुर्घटनामा परेको बुद्ध एयरको जहाजको प्रारम्भिक प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको छ।
  • प्रतिवेदनमा दुर्घटनाको कारण नखोली ककपिट भ्वाइस रेकर्डर, फ्लाइट डाटा रेकर्डर र एटीसी रेकर्डिङ अध्ययन भइरहेको उल्लेख छ।
  • जहाजमा सवार सबै ५६ यात्रु र चालक दलका सदस्य सुरक्षित बाहिर निकालिएका थिए भने ५ यात्रु सामान्य घाइते भएका थिए।

१० फागुन, काठमाडौं । झापा भद्रपुरमा १८ पुस २०८२ मा दुर्घटनामा परेको बुद्ध एयरको जहाज दुर्घटनाको कारण नखोली सरकारले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

सरकारले वरिष्ठ क्याप्टेन विनोद पुरीलाई अनुसन्धानकर्ताका रूपमा तोक्दै छानबिन समिति बनाएको थियो । समितिको प्रारम्भिक प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ । प्रतिवेदनमा घटना विवरणमात्र प्रस्तुत गरिएको छ ।

दुर्घटनाको कारण विस्तृत विश्लेषण र सबै प्रमाण अध्ययन सकिएपछि सार्वजनिक हुने अन्तिम प्रतिवेदनमा आधिकारिक कारण सार्वजनिक गरिने समेत प्रारम्भिक प्रतिवेदनमा लेखिएको छ ।

अहिले ककपिट भ्वाइस रेकर्डर, फ्लाइट डाटा रेकर्डर र एटीसी रेकर्डिङ प्राप्त गरी त्यसको अध्ययन थालिएको छ । अन्तर्वार्तामा लिइएका बयान, प्रत्यक्षदर्शीका भनाइ र अन्य कागजात तथा तथ्यांक अनुसन्धान तथा अध्ययन क्रममा रहेको प्रतिवेदनमा उल्लेख छ । यसअघि हवाई दुर्घटना जाँचका प्रारम्भिक प्रतिवेदनमा सम्भावित कारण उल्लेख गर्ने प्रचलन थियो ।

सोही दिन ‘एटीआर ७२–५००’ (दर्ता नम्बर ९एन–एएमएफ) जहाज काठमाडौंबाट भद्रपुरस्थित चन्द्रगढी विमानस्थलका लागि उडेको थियो । सोही जहाज धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको थियो ।

जहाजमा चालक दलका सदस्यसहित ५६ यात्रु सवार थिए । जहाजको नाइट स्टप प्लान भद्रपुरमै थियो । प्रारम्भिक प्रतिवेदन अनुसार जहाजमा गम्भीर क्षति पुगेको छ । जहाजको मुख्य र अगाडिको ल्यान्डिङ गियर, प्रोपेलर र इन्जिनहरूमा गम्भीर क्षति पुगेको पाइएको छ ।

जहाजमा सवार सबै यात्रु र चालक दलका सदस्यलाई सुरक्षित बाहिर निकालिएको थियो । घटनामा ५ यात्रु सामान्य घाइते भएका थिए । जसमा एक चालक दलका सदस्य थिए ।

जहाज धावनमार्गबाट चिप्लिएर थ्रेसहोल्डबाट १ सय ८३ मिटर बाहिर पुगेको समेत देखिएको छ । धावनमार्गको १ हजार १ सय १२ मिटरदेखि टायर घिस्रिएको दाग (स्किड मार्क्स) देखिएको छ । यसबाट चालकदलले जहाज रोक्न ब्रेक लगाएको संकेत गर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार जहाजले रनवे वान जिरोतर्फबाट अवतरण गरेको थियो । जहाजले धावनमार्गको ४ सय २० मिटर दुरीमा पुगेपछि मात्र जमिन छोएको देखिएको छ । जहाज दुर्घटनामा गर्दा विमानस्थलको भित्री बारमा समेत क्षति पुगेको छ ।

अवतरणका बेला जहाज कोपाइलट (फस्ट अफिसर) ले उडाइरहेका (पाइलट फ्लाइङ) थिए । क्याप्टेन भने पाइलट मनिटरिङको भूमिकामा थिए । जहाजका क्याप्टेन अनुभवी पाइलट रहेको प्रतिवेदनमा देखिन्छ ।

उनको कुल उडान घण्टा ७ हजार १ सय ३३ रहेको छ ।

कोपाइलटको उडान घण्टा भने ४ सय ९८ घण्टामात्र रहेको देखिन्छ । सोही दिन उक्त उडान चालकदलका लागि पाँचांै र अन्तिम उडान रहेको समेत देखिएको छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?