+
+
Shares

सेयर बजार २९७८ अंकमा, साढे १९ अर्बको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ७ गते १५:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजारले लगातार वृद्धि देखाएको छ र नेप्से परिसूचक २९८० अंकमा पुगेको छ।
  • आज बजार २९५१ अंकबाट २९७८ अंकमा उक्लिएको छ र कारोबार रकम १९ अर्ब ५७ करोड रुपैयाँ रहेको छ।
  • फाइनान्स समूह सबैभन्दा धेरै ३.२३ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूह १.१० प्रतिशतले घटेको छ।

७ साउन, काठमाडौं । सेयर बजार लगातार बढेको छ । आज बुधबार बजार ५.१७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २९८० अंकमा पुगेको छ । आज दिनभर बजार बढी उतारचढावपूर्ण रह्यो ।

२ : १० बजे बजार २९५१ अंकमा झरेको थियो । त्यसपछि खरिद पक्ष बलियो बन्यो र बन्द हुँदा २९७८ अंकमा पुग्यो । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन २० अर्ब ८ करोडको कारोबार भएकोमा आज १९ अर्ब ५७ करोडको भयो । ९८ कम्पनीको मूल्य बढ्दा १५२ को घट्यो ।

आज फाइनान्स समूह सबैभन्दा धेरै ३.२३ प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर ०.८८, लगानी ०.९०, उत्पादन तथा प्रशोधन ०.४०, अन्य १.४४ र व्यापार ०.३१ प्रतिशत बढे ।

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१० प्रतिशत घट्यो । बैंकिङ ०.२५, विकास बैंक ०.९२, जीवन बीमा ०.५०, माइक्रोफाइनान्स ०.७२ तथा निर्जीवन बीमा ०.६१ प्रतिशत घटे ।

दुई नयाँ कम्पनी ट्रेड टावर र सान्भी इनर्जीको मूल्य १० प्रतिशत बढेको छ । ट्रेड टावरको मूल्य ५८९.३० तथा सान्भीको ५२५.४० रुपैयाँ पुगेको छ ।

त्यस्तै ग्रीन भेन्चर्सको मूल्य ९.४, लिबर्टी इनर्जीको ७.०८ तथा बेस्ट फाइनान्सको ५.९७ प्रतिशत मूल्य बढ्यो । भूगोल इनर्जीको ५.३२, ग्रिन डेभलपमेन्ट बैंकको ४.२६, अभियान लघुवित्तको ४.१३ तथा आरएसडीसी लघुवित्तको ४.१० प्रतिशत मूल्य घट्यो ।

धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, निफ्रा, बुटवल पावर र नेपाल पुनर्बीमा क्रमशः छन् । बजारको पूँजीकरणमा केही दिनदेखि नयाँ रेकर्ड बनिरहेको छ । पूँजीकरण रकम ४९ खर्ब ७० अर्ब पुगेको छ ।

अन्य समूह हालसम्मकै उच्च

बजारका १२ समूहमध्ये अन्य समूह हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार यो समूहको सूचक १.४४ प्रतिशत बढेर २७२७ अंकमा पुगेको छ । अन्य समूहमा जम्मा ९ वटा कम्पनी सूचीकृत छन् । तीमध्ये नेपाल पुनर्बीमा र हिमालयन रिको मूल्य छोटो समयमै उच्च दरले बढेको छ ।

विगत एक महिनामा हिमालयन रिको मूल्य २१।८ प्रतिशत बढेको छ । एक महिनामा यस कम्पनीको मूल्य प्रतिकित्ता ८८३ रुपैयाँबाट बढेर १०७६ रुपैयाँ पुगेको छ ।

त्यस्तै नेपाल पुनर्बीमाको मूल्य एक महिनामा ३० प्रतिशत बढेको छ । १२१२ बाट बढेर १५८६ रुपैयाँ पुगेको छ । नेपाल पुनर्बीमाले पूँजीकरणका आधारमा टेलिकमलाई पछाडि पारेको छ । बीबीसीपछि नेपाल पुनर्बीमा उच्च पूँजीकरणका आधारमा दोस्रो स्थानमा छ ।

हाई क्याप कम्पनी भएकाले यी दुईले अन्य समूहको उतारचढावमा बढी भूमिका खेल्छन् । त्यस्तै यहीं समूहको तेस्रो शक्तिशाली कम्पनी नेपाल टेलिकमको मूल्य वृद्धि भने सुस्त छ । सो एक महिनामा सो कम्पनीको मूल्य ९ प्रतिशत बढेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?