+
+
Shares

परोपकारी संस्था रेडक्रसमा समेत कांग्रेस-एमालेको भागबन्डा, तदर्थ समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ९ गते १९:५०

९ साउन, काठमाडौं । परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटीमा सत्ता साझेदार दुई दलले भागबन्डा गरेर नयाँ तदर्थ समिति गठन गरिएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेले भागबन्डा गरेर तदर्थ समिति बनाएका हुन् । कांग्रेस निकट बिनोद शर्माको नेतृत्वमा ९ सदस्यीय नयाँ तदर्थ समिति समेत बनाइएको छ । शर्माले विगतमा रेडक्रसको उपाध्यक्ष पदमा काम गरिसकेका छन् ।

सरकारले गठन गरेको तदर्थ समितिमा कांग्रेसबाट अध्यक्षसहित पाँच र एमालेबाट महामन्त्रीसहित चार जना हुनेगरी भागबन्डा गरिएको हो । महामन्त्रीको जिम्मेवारी पाएका मीनबहादुर मल्ल भने एमाले निकट हुन् ।

नवगठित तदर्थ समितिका अन्य सदस्यहरूमा हरि बराल, लोकदर्शन श्रेष्ठ, कान्तिराज भण्डारी, सूर्यकुमारी श्रेष्ठ, हरि दर्शन श्रेष्ठ, हेमराज ओझा, गंगाधर अधिकारी छन् । यीमध्ये एमालेबाट स्थान पाएकाहरूमा हरि बराल, मीनबहादुर मल्ल, कान्तिराज भण्डारी, सूर्यकुमारी श्रेष्ठ छन् । तदर्थ समितिलाई विधान संशोधन गरेर तीन महिनाभित्र चुनाव गर्न कार्यादेश दिइएको छ ।

नेपाल रेडक्रस सोसाइटी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय मातहत सञ्चालित संस्था हो । हालको तदर्थ समिति विघटन गरेर नयाँ बनाउन उक्त मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लगेको थियो ।

संस्थाभित्रको आन्तरिक विवादले निर्वाचित कार्यसमिति आउन सकेको छैन । रेडक्रसको मुख्यालय आइएफआरसीले संस्थाको दलगत भागबन्डाका आधारमा तदर्थ समितिमा उपल्लो तहमा रहेका पाँच जनालाई निलम्बन गरेको थियो । अध्यक्ष सुर्दशन नेपाल सहित भूपतिलाल श्रेष्ठ, बिनोद बस्नेत, मनोज थापा र नारायण तिमिल्सिना निलम्बनमा परेका थिए ।

सुदर्शन नेपालको नेतृत्व पनि तदर्थ समितिको रूपमै थियो । अघिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओली रहेको बेला तदर्थ समितिको अध्यक्ष नेत्र तिम्सिनालाई बनाइएको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नेपालको अध्यक्षतामा तदर्थ समिति बनाएर तिम्सिनालाई संस्थाको नेतृत्व दिइएको थियो । तिम्सिना र नेपाल दुवैले निर्वाचित समिति भने ल्याउन सकेनन् ।

संस्थामा सञ्जीव थापा अध्यक्ष बनेयता निर्वाचित समिति आउन सकेको छैन । थापालाई आर्थिक अनियमिततामा मुछिएको आरोप लागेपछि प्रधानमन्त्री ओली नेतृत्वको सरकारले हटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?