
News Summary
Generated by OK AI. Editorially reviewed.- मेटाले आफ्नो नयाँ सुपर इन्टेलिजेन्स ल्याबमा च्याट जिपिटी निर्माता शेङ्गजिया झाओलाई मुख्य वैज्ञानिक नियुक्त गरेको छ।
- मेटाले आगामी अक्टोबरदेखि युरोपेली युनियनका सबै देशमा राजनीतिक विज्ञापन बन्द गर्ने निर्णय गरेको छ।
- युरोपेली युनियनको नयाँ नियम अनुसार राजनीतिक विज्ञापनमा लेबल अनिवार्य हुनेछ र उल्लंघनमा वार्षिक आयको ६ प्रतिशत जरिवाना लाग्नसक्छ।
सोसल मिडिया प्लाटफर्म फेसबुक तथा इन्स्टाग्रामको मातृ कम्पनी मेटाले शेङ्गजिया झाओले आफ्नो नयाँ सुपर इन्टेलिजेन्स ल्याबमा नयाँ मुख्य वैज्ञानिक नियुक्त गरेका छन् ।
महत्वपूर्ण त के भने झाओ च्याट जिपिटी तथा त्यसको नयाँ संस्करण जिपिटी ४ का निर्माता मध्येका एक हुन् । उनले अब मेटाको उन्नत आर्टिफिसियल इन्टेलिजेन्स मिसनलाई नेतृत्व प्रदान गर्नेछन् ।
मेटाका सीईओ मार्क जुकरबर्गले शुक्रबार थ्रेड्स पोस्टमा झाओको नियुक्तिको घोषणा गरेका हुन् । उनले लेखेका छन् – यस भूमिकामा शेङ्गजियाले हाम्रो नयाँ प्रयोगशालाका लागि अनुसन्धान एजेण्डा तथा वैज्ञानिक दिशा तय गर्नेछन् र मेरो तथा एलेक्स (मेटाका प्रमुख एआई अधिकृत अलेक्जेन्डर वांग) सँग प्रत्यक्ष रुपमा काम गर्नेछन् ।
को हुन् शेङ्गजिया झाओ ?
झाओ यसअघि ओपन एआई कम्पनीमा अनुसन्धान वैज्ञानिक रहिसकेका छन् । उनले च्याट जिपिटी, जिपिटी ४ तथा ओपन एआईका कैयन् अन्य मोडेलहरु, जस्तै जिपिटी ४.१ तथा ०३ को विकासमा महतवपूर्ण भूमिका निर्वाह गरे ।
स्मरण रहोस् यसअघि अन्य ओपन एआई शोधकर्ताहरु समेत मेटामा प्रवेश गरिसकेका छन् । यसले एआई क्षेत्रका प्रतिभाशाली जनशक्तिका लागि कम्पनीहरुबीच होडबाजी तिव्र भएको देखाउँछ ।
मेटाको सुपर इन्टेलिजेन्स ल्याब के हो ?
हालै मेटाले आफ्नो सुपर इन्टेलिजेन्स ल्याबको स्थापना गरेको हो । यसको उद्देश्य मेटाको एआई मोडेल Llama तथा भविष्यका आर्टिफिसियल जनरल इन्टेलिजेन्स प्रविधिमा केन्द्रित अनुसन्धान गर्नु हो । यो प्रयोगशालाले एआई अनुसन्धान इकाई FAIR (फेसबुक एआई रिसर्च) भन्दा भिन्न रहेर काम गर्दछ । झाओ उक्त सुपर इन्टेलिजेन्सका सह सस्थापक पनि हुन् ।
मेटाको रणनीति र आगामी दिशा
हाल Llama 4 को सुस्त प्रदर्शनसँग जुधिरहेको मेटाले हाल अन्य प्रतिस्पर्धी कम्पनीहरुबाट शीर्ष वैज्ञानिकहरु आकर्षित गर्नमा लागिरहेको छ ।
मेटाले सिलिकन भ्यालीमा सबैभन्दा धेरै तलब प्याकेज तथा स्टार्टअप सम्झौताका माध्यमबाट प्रतिभाहरुलाई आकर्षित गर्ने रणनीति अख्तियार गरेको छ ।
जुकरबर्गले यसअघि पनि भनिसकेका छन् कि मेटाको लक्ष्य पूर्ण आम बुद्धिमत्ता (फूल जनरल इन्टेलिजेन्स) तयार गर्नु र त्यसलाई ओपन सोर्सको रुपमा जारी गर्नु हो ।
युरोपमा राजनीतिक विज्ञापन बन्द गर्दै मेटा
यसैबीच मेटाले आगामी अक्टोबरदेखि युरोपेली युनियन सम्बद्ध सबै देशहरुमा राजनीतिक विज्ञापनहरु बन्द गर्ने घोषणा गरेको छ ।
युरोपेली युनियनको चुनावी अभियानमा पारदर्शिता कायम गर्ने उद्देश्यसाथ लागू भएको नयाँ नियमका कारण यस्तो निर्णय गरिएको मेटाको भनाइ छ ।
मेटाले आफ्नो ब्लग पोस्टमा उल्लेख गरे अनुसार ऊ राजनीतिक, चुनावी तथा सामाजिक मुद्दाहरुसँग सम्बन्धित विज्ञापनलाई फेसबुक, इन्स्टाग्राम तथा थ्रेड्स जस्ता प्लाटफर्ममा अक्टोबरको सुरुवातदेखि नै बन्द गर्नेछ ।
युरोपेली युनियनको Transparency and Targeting of Political Advertising सम्बन्धी नियमहरुले व्यापक कानूनी अस्पष्टता तथा कार्यसञ्चालनगत चुनौतीहरु उत्पन्न गरेको र त्यसलाई पालना गर्न असम्भव रहेको मेटाले जनाएको छ । उसले भनेको छ : यी नियमहरुले हाम्रा प्रक्रियाहरु त्था प्रणालीहरुमा यतिधेरै अतिरिक्त दायित्व थोपर्दछन् कि विज्ञापनदाताहरु त्था प्लाटफर्महरुका लागि ईयूमा काम गर्नु कानूनी रुपबाट निकै जटिल तथा अनिश्चित भएको छ ।
यद्यपि यस्तो निर्णय गर्ने मेटा पहिलो प्रविधि कम्पनी होइन । गुगलले गत वर्ष नै युरोपेली युनियनका देशहरूमा राजनीतिक विज्ञापन बन्द गर्ने घोषणा गरेको थियो ।
युरोपेली युनियनको उक्त नयाँ नियम आगामी अक्टोबर १० देखि लागू हुनेछ । उक्त नियम अनुसार राजनीतिक विज्ञापनहरुमा त्यस्तो पहिचान दिने संकेत अर्थात् लेबल लगाउनु अनिवार्य हुन्छ । जसअनुसार विज्ञापन कसले दिएको हो र कुन अभियान वा प्रक्रियासँग सम्बन्धित छ भन्ने कुरा उल्लेख गर्नुपर्नेछ ।
साथै सबै विज्ञापनहरुलाई एउटा डेटाबेसमा सुरक्षित राख्नुपर्नेछ । त्यसैगरी विज्ञापनहरुलाई टार्गेट गर्नका लागि कडा नियम लागु हुनेछन् । नियम उल्लंघन गर्ने कम्पनीहरुलाई विश्वव्यापी वार्षिक आयको ६ प्रतिशत सम्म जरिवाना लाग्नसक्ने प्रावधान उक्त नियममा उल्लेख छ ।
प्रतिक्रिया 4